अमेरिकाको राष्ट्रपतिमा आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेका डेमोक्र्याटिक पार्टीका पिट् बटजज । तस्बिर : डरोन कमिन्स/एपी
‘ट्रम्प भन्दा ठ्याक्कै विपरीत’

भीड र परम्पराबाट पृथक ह्वाइट हाउसका यी दाबेदार

काठमाडौँ – उनको पूरा नाम सही उच्चारण गर्न त्यति सजिलो छैन, र विश्वका प्रख्यात सञ्चारमाध्यमका वरिष्ठ सञ्चारकर्मीहरु नै उनको नाम सही उच्चारणका लागि प्रयासरत छन् ।

नाम हो, पिट् बुटजज, अमेरिकामा आउँदो वर्ष अर्थात सन् २०२० मा हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्ने आकांक्षा बोकेका डेमोक्र्याटिक पार्टीका एक नेता । स्पेलिङ्ग र उच्चारणबिचको फरकले उनको नाम अप्ठ्यारो बनेको हो । तर उनको चुनावी अभियानले नामलाई सजिलो बनाउने उपाय निकालेको छ ।

सही तरिकाले उच्चारण सहज बनाउन टिर्सट नै बनाएका छन् । बुट् र त्यसपछिको एज–एजलाई छिटो उच्चारण गरे हुन्छ ‘पिट् बुटजज’ । उनको सही नाम ।
जसरी नामको लय पकड्न तीव्र उच्चारण गर्नु पर्छ, त्यसरी नै युवा नेताको चर्चा तीव्र गतिमा फैलिएको छ । पिट्ले राष्ट्रिय–अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आफ्नो स्थान बनाएका छन् र राष्ट्रपतिय चुनावमा सम्भावित उम्मेदवारको रुपमा हेरिन थालेका छन् ।

को हुन् पिट् बुटजज ?


अमेरिकाको इन्डियाना राज्यको सानो शहर साउथ बेन्डका मेयर हुन् पिट् । उनलाई मेयर पिट् भन्ने गरेका छन् अधिकांशले । ३७ वर्षका पिट् पछिल्लो ८ वर्षदेखि यो हैसियतमा छन् ।

हावर्ड र अक्सफोड विश्वविद्यालयमा अध्ययन गरेका पिट् रोड स्कलर हुन् । सात भाषा बोल्ने पिट् अमेरिकी नेभीका वार भेट्रान हुन् । उनी अफगानिस्तानमा अमेरिकी नेभीबाट तैनाथ भएका थिए । अफगानिस्तानबाट फर्किएलगत्तै स्थानीय चुनावमा उम्मेदवार बनेका पिट् २९ वर्षको उमेरमा झण्डै एक लाख जनसंख्या रहेको साउथ बेन्ड शहरको मेयर बने ।

औद्योगिक इतिहास बोकेको साउथ बेन्डलाई बिलय हुँदै गरेका अमेरिकाका १० शहरको रुपमा सूचिकृत गरिएको थियो । तर मेयर पिट्ले आफ्नो कार्यकालमा शहरको रुप फेर्न सफल भएका छन् । अहिले साउथ बेन्ड बिलय हुँदै गरेको होइन उदाउँदै गरेको अमेरिकी शहरका रुपमा लिइन्छ ।

साउथ बेन्डले उनलाई विश्वास ग¥यो र उनले साउथ बेन्डका बासिन्दाको विश्वासमा प्राण भरे । उनको परिचयमा जोडिएर आउने अर्को कुरा उनको ‘सेक्सुआलिटी’ अर्थात यौनिकता हो । ३७ वर्षका मेयर पिट् र अमेरिकाको राष्ट्रपति बन्ने आँट लिएर अघि बढेका मेयर पिट् समलिङ्गी अर्थात होमोसेक्सुअल या ‘गे’ हुन् ।

३७ वर्षको युवा, जेनरेसन एक्स भनिने मिलेनियल अर्थात सन् १९८० को दशकपछि जन्मिएको पुस्ताका सदस्य, समलिंगी र माथिल्लो स्तरको राजनीतिक अनुभव बोकी नसकेका पिट् अहिले अमेरिकी राजनीतिमा सबैभन्दा बढि चर्चा र चासोको विषय बनेका छन् ।

‘ट्रम्प भन्दा ठ्याक्कै विपरीत’


गएको जनवरीसम्म मेयर पिट् साउथ बेन्डमा मात्रै सीमित थिए । उनलाई राष्ट्रिय स्तरमा चिन्ने शायदै थिए । तर सन् २०१६ मै तत्कालीन राष्ट्रपति बाराक ओबामाले पिट् ‘गिफ्टेड’ राजनीतिज्ञ रहेको र उनी कमला ह्यारिससहित डेमोक्र्याटिक पार्टीको आश रहेको बताएका थिए ।

अमेरिकी संविधानमा राष्ट्रपतिको उम्मेदवार बन्नका लागि कम्तिमा ३५ वर्षको हुनु पर्छ, जुन सीमा मेयर पिट्ले दुई वर्ष अघि पार गरे । नर्वेजियन उपन्यासकार एर्लेन्द लाएको पुस्तक पढ्नका लागि मेयर पिट् बुटजजले नर्वेजियन भाषा नै सिकेका छन् ।

यस्तै उनी फ्रेन्च, स्पेनिससहितका सात भाषा बोल्छन् र उनलाई अमेरिकी सञ्चार माध्यमले अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अपोजिट’ का रुपमा चित्रित गरेका छन् ।

आइतबार राष्ट्रपति उम्मेदवारीका लागि आफ्नो औपचारिक घोषणा सभालाई सम्बोधन गरिसकेपछि श्रीमान चेस्टनलाई अंगालो हाल्दै पिट् बुटजज । तस्बिर : चेस्टनको ट्वीटर ह्याण्डल

स्पेलिङ्ग नमिलेका र डिक्सनेरीमा नभएका शब्दसहित ट्वीट गर्ने ट्रम्प र सात भाषामा पोख्त बुटजजबिच तुलना गर्दा केही कुरा मिलेको नभेटिने अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनको ‘द डेली सो विथ ट्रभा नोहा’ मा नोहाले बताएका थिए ।

राजनीतिक विषयमा प्रायः व्यंग्यात्मक प्रस्तुति हुने कार्यक्रममा उनले मेयर पिट् बारे व्यंग्य गर्न पाएनन् र त्यसको कारण ‘उनका बारेमा कमजोर पक्ष नै भेट्टाउन नसकेको बताए ।’

‘रिलेटेबल’ नेता


अधिकांशले पिट् बुटजजलाई पूर्व राष्ट्रपति बाराक ओबामा र जोन एफ केनेडी जस्तै भन्न थालेका छन् । ओबामा र केनेडी दुवैको वाक कौशल राम्रो मानिन्छ । उनीहरु जस्तै बुटजजसँग आफ्नो भिजन राम्रोसँग र सबैले बुुझ्ने गरि प्रस्तुत गर्ने कला रहेको बताइन्छ ।

कन्जरभेटिभ अर्थात रिपब्लिकन विचारको पक्षपाति अमेरिकी मिडिया फक्स न्युजमा बुटजजको पहिलो राष्ट्रिय स्तरको अन्तर्वार्ता लिइएको थियो । उनले राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्ने चाह देखाएपछि ।

मध्य मार्चमा फक्स न्युज सनडेमा क्रिस वालेससँगको पहिलो राष्ट्रिय स्तरको अन्तर्वार्तामा बुट्जज उत्कृष्ट रुपमा प्रस्तुत भए । क्रिसले आफूले सन् २०२० का लागि राष्ट्रपति उम्मेदवार प्रत्यासीसँग गरेका अन्तर्वार्ता मध्ये बुटजजको अन्तर्वार्तामा सबैभन्दा राम्रो र धेरै प्रतिक्रिया आएको बताए ।

उनको ‘राइज’ तीव्र रुपमा भने सिएनएनको विशेष कार्यक्रम ‘सिएनएन टाउन हल’ मा सहभागी भएपछि भयो । टाउन हलमा उनको प्रस्तुति सम्हालिएको र एक पोख्त राजनीतिज्ञको भन्दा कम थिएन । प्रजातन्त्र, विकास र समानताको वकालत गर्ने उनले डेमोक्र्याटिक पार्टीमा ‘भ्यालु’ अर्थात आस्था वा धार्मिक मूल्यबारे आँट बहस गरे ।

उनले टाउन हलमा प्रजातन्त्र, मूल्य मान्यता या समानताको ब्याख्या गर्ने अधिकार कुनै एक पार्टी वा व्यक्तिमा मात्रै सीमित नरहने बताउँदै आएका छन् । टाउन हलमा उनले अहिलेका उपराष्ट्रपति माइक पेन्सको ‘क्रिष्टियन फेथ’ माथि नै प्रश्न गरेका थिए । यो प्रस्तुतीले उनलाई राष्ट्रिय राजनीतिमा कडा बहसको सिर्जना गर्न सक्ने नेताका रुपमा चिनायो ।

माइक पेन्ससँगको टकराव


सिएनएन टाउन हलबाट सुरु भएको माइक पेन्ससँगको बुटजजको फेथको राजनीतिक बहसले त्यसपछि बिस्तारित रुप लिएको छ । बुटजजले माइक पेन्सको मातहतमा रहेर काम गरेका छन्, किनकी पेन्स उपराष्ट्रपति बन्नु पूर्व इन्डियानाको गभर्नर थिए ।

उपराष्ट्रपति पेन्स समलिङ्गी विवाहको विक्षपमा रहँदै आएका छन् र त्यसको कारण आफ्नो ‘क्रिष्टियन फेथ’ रहेको पेन्सले बताउने गरेका छन् । अर्थात क्रिष्चियानिटीमा समलिङ्गी सम्बन्ध स्वीकार्य नरहेको उनको मान्यता रही आएको छ ।

तर मेयर पिट् पनि क्रिष्चियानिटी फलो गर्छन् । उनले टाउन हल र त्यसपछिका लगातार यो विषयमा पेन्समाथि सरल रुपमा तर आक्रमक प्रहार गर्ने गरेका छन् । उनले भन्दै आएका छन्, ‘धर्मको रखवाला कुनै एक पार्टी वा व्यक्ति मात्रै हुन सक्दैन ।

अमेरिकी नेभीबाट अफगानिस्तानमा खटिएका बेला पिट् ।

धर्मले सेवा र स्वतन्त्रताको वकालत गर्छ र त्यस्तो धर्मको पक्षपाती म पनि हुँ । यदि मलाई स्वीकार गर्न तपाईँलाई (पेन्स) तपाईँको आस्थाले दिँदैन भने टकराव मसँग होइन हामीसँगको सर्जक (ईश्वर) सँग हो ।’

मेयर पिट् बुटजजले स्थानीय समय अनुसार आइतबार अपराहन्न आफ्नो होम टाउन साउथ बेन्डमा विशेष कार्यक्रम गरि राष्ट्रपति उम्मेदवारीको औपचारिक घोषणा गरेका छन् । त्यसपछि अमेरिकी टेलिभिजन नेटवर्क एमएसएनबिसीमा द रिचेल म्याडाव सो मा दिएको अन्तर्वार्तामा पिट् बुटजजले ‘भ्याल्यू’ को राजनीतिक बहस डेमोक्र्याटिक पार्टी भित्र पनि हुनु पर्नेमा जोड दिएका छन् ।

बुटजजका चुनौतिहरु


सन् २०२० को राष्ट्रिपतिय चुनावमा उम्मेदवार आकांक्षीहरुको सूचि डेमोक्र्याटिक पार्टी भित्र ठूलो छ । उम्मेदवारीका लागि डेमोक्र्याटिक पार्टी भित्र १८ जनाले औपचारिक घोषणा गरिसकेका छन् ।

बर्नी सान्डर, कमला ह्यारिस, एलिजाबेथ वारेन, स्टेसी अब्राम्ससहितका चर्चित नाम छन् । पूर्व उपराष्ट्रपति जो बाइडेन सबैभन्दा प्रभावशाली मानिएका छन्, यद्यपि बाइडेनले अहिलेसम्म औपचारिक घोषणा गरेका छैनन् ।

निरन्तर प्रगति गरिरहेका पिट् बुटजज पनि शीर्ष दाबेदारमा देखिएका छन् । उनले दुई राज्यमा भएका प्रारम्भीक छनौटमा तेस्रो स्थानमा आफूलाई उभ्याएका छन् ।
उम्मेदवारीको होडमा रहेका उनी बाहेकका अरु सबै राजनीतिक रुपमा राष्ट्रिय स्तरमा पहिचान बनाएकाहरु छन् ।

यस्तै उमेरका हिसाबले पनि अलि परिपक्व छन् । तर परिपक्कता व्यक्तिमा उमेरले भन्दा पनि उसले गरेका कामले र त्यसमा रहेको परिपक्कताले निर्धारित हुने कुरामा बुटजजले जोड दिँदै आएका छन् ।

पिट् र उनका श्रीमान चेस्टन बुटजज घरमा एडप्डेट कुकुरसँग खेल्दै । तस्बिर : द वासिङ्गटन पोस्ट

चुनौति उनको कलिलो उमेर र त्यसकै पर्याय मानिने राजनीतिक अनुभव हो । अमेरिकाको इतिहासमा अहिलेसम्म ४० वर्षभन्दा कम उमेरमा कुनै पनि व्यक्ति राष्ट्रपति बनेको छैन र मेयरबाट सीधै ह्वाइट हाउसमा पनि पुगेका छैनन् ।

तर नयाँ पुस्ताको खाँचो अमेरिकालाई रहेको बताउँदै उम्मेदवारीको होडमा आएका बुटजजमाथिको सबैभन्दा ठूलो चुनौति झण्डै चार वर्षअघि ‘पहिलो महिला राष्ट्रपतिका लागि तयार नभएको अमेरिका कम उमेरको र त्यसमा पनि समलिङ्गी (गे) राष्ट्रपतिका लागि तयार होला त ?’ भन्ने हो ।

बुटजजले राजनीतिक मूल्य मान्यता, धर्म, सामाजिक व्यवस्था सबैले व्यक्तिलाई उसको कामले मुल्यांकन गर्ने भएकाले आशावादी रहेको र आफ्नो यौनिकता नितान्त व्यक्तिगत कुरा रहेको उनको भनाई छ ।

सन् २०१५ मा साउथ बेन्डको मेयरका लागि दोस्रो कार्यकालको चुनावी अभियानको मध्य कालमा बुटजजले स्थानीय पत्रिका द साउथ बेन्ड ट्रिब्युनमा एक लेख प्रकाशित गरेर समलिङ्गी पहिचान खुलाएका थिए । त्यसपछिको चुनावमा उनले ८७ प्रतिशत मत ल्याएर जिते ।

मेयरमै रहेका बेला गएको वर्ष २९ वर्षका चेस्टन ग्ल्याजमनसँग विवाह गरे । चेस्टन अहिले बुटजजको चुनावी अभियानका बलियो सहयोगी बेनका छन् । उनले पिटकै थर अपनाएका पनि छन् । बुटजजले आफूलाई श्रीमान चेस्टनले राम्रो मानव बनाउन सहयोग गरेको र त्यसले गर्दा राम्रो उम्मेदवार बनेको बताउने गरेका छन् ।

तर अमेरिका युवावयका दुई समलिङ्गी जोडीलाई आफ्नो पहिलो कमाण्डर इन चिफ र पहिलो जेन्टल म्यान स्वीकार गर्न तयार होला भन्नेमा संका छन् । साउथ बेन्डका बासिन्दामा भने उनीप्रति विश्वास छ ।

वासिङ्गटन पोस्टले गरेको अध्ययनमा रिपब्लिकन पार्टीका समर्थक पनि साउथ बेन्डमा बुटजजले गरेको कामको प्रशसंक छन् र उनीहरु बुटजजलाई उपयुक्त उम्मेदवार मान्ने बताउँछन् ।

(यो सामग्री तयार पार्ने क्रममा विभिन्न अमेरिक सञ्चारमाध्यममा पिट् बुटजजले दिएका अन्तर्वार्ता तथा उनका बारेमा लेखिएका लेखहरु सन्दर्भ सामग्रीको रुपमा प्रयोग गरिएको हो । द न्युयोर्कर म्यागजिनसहित लेखमा उल्लेख भएका सञ्चारमाध्यमका सामग्रीलाई सहयोगीका रुपमा लिइएको हो ।)