दुर्भाग्य कसको ? रोनाल्डो की युभेन्टस्

आयाक्सले दोस्रो गोल गरेपछि निराश रोनाल्डो ।

रोम- पछिल्ला लगातार सात घरेलु लिग जितेको युभेन्टस्‌माथी एउटै टिप्पणी हुने गरेको छ- उसले इटालीबाहिर उपाधि जित्न सक्दैन। युरोपियन च्याम्पियन्स लिगका पछिल्ला चारमध्ये दुई संस्करणमा फाइनल पुगेपनि उसले उपाधि जित्न सकेको थिएन।

युरोपको सबैभन्दा ठुलो यस क्लब प्रतियोगितामा यो सिजन  क्वाटरफाइनलमै सिमित भएपछि युभेन्टस्‌माथीको उक्त टिप्पणी थप पेचिलो बन्दै छ । यो असफलताको चर्चा निकै बढि नै भएको छ। किनभने, युरोपियन च्याम्पियन्स लिग जित्नैका लागि युभेन्टस्‌ले स्पेनिस क्लब  रियल म्याड्रिडबाट यसै सिजन क्रिस्टियानो रोनाल्डोलाई भित्र्याएको थियो।

रोनाल्डो पछिल्ला लगातार तीन सिजन रियल म्याड्रिडलाई युरोपियन च्याम्पियन बनाएर इटालियन क्लब भित्रिएका हुन्। गत सिजन रियल म्याड्रिडसँग क्वाटरफाइनलमा समग्रमा ४-३ गोलले पराजित भएर युभेन्टस्‌ बाहिरिएको थियो। त्यतिबेला पहिलो लेग ३-० गोलले हारेको युभेन्ट्सले दोस्रो लेग ३-१ गोलले जितेपनि अगाडि बढ्न सकेन।

दोस्रो हाफको इन्जुरी समय सकिँन लाग्दा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेल्न दिएनन्। युभेन्टस्‌ पुन एकपटक निराश बन्यो। रोनाल्डोले पहिलो लेगमा दुई गोल गरेका थिए।

खेललाई बराबरीमा ल्याएपछि आयाक्सका खेलाडी डन भान डे बिक

रोनाल्डोप्रेरित रियलसँग युभेन्टस्‌ निराश भएको त्यो पहिलो घटना थिएन। सन् २०१६/१७ सिजनमा रियलले फाइनलमा युभेन्टस्‌लाई नै हराएको थियो। उपाधि भिडन्तमा ४-१ गोलले पराजित हुनु उसका लागि निकै निराश बनाउने अतिरिक्त कारण थियो। त्यतिबेला पनि रोनाल्डोले दुई गोल गरेका थिए।

युरोपियन च्याम्पियन्स लिगमा लगातारको असफलता विर्सन रोनाल्डोलाई नै भित्र्याउनुका थुप्रै कारण थिए। यी पोर्चुगिज खेलाडी इटालियन सिरि ए क्लबमा आबद्ध हुनुअघिका चार सिजनमध्ये तीन वटामा फिफा वर्ष खेलाडी घोषित भएका थिए।

अनि रियल म्याड्रिड छाड्नुअघि उनका नाममा कीर्तिमानी एक सय २० युरोपियन च्याम्पियन्स लिग गोल थिए अर्थात निकटतम प्रतिद्धन्द्धी लियोनल मेस्सीभन्दा २० गोलले अघि। रोनाल्डोले पाँचपटक युरोपियन च्याम्पियन्स लिग जितेका थिए जसमध्ये चारवटा रियल म्याड्रिडबाट थियो।

रियलबाटै अधिकतम सफलता हात पारिरहेका बेला रोनाल्डोले गत सिजनको अन्त्यमा स्पेनिस क्लब छाड्ने निर्णय गरे। घरेलु लिगमा लगातार हावी भईरहेको तथा युरोपियन च्याम्पियन्स लिगमा पछिल्ला सिजन लगातार उपाधि दावेदार देखिएको युभेन्टस्‌ र रोनाल्डोको ‘कम्बिनेसन’ले विश्व क्लब फुटबलमा नयाँ बलियो शक्ति जन्मने आम अपेक्षा थियो।

प्रिक्वाटरफाइनलको दोस्रो लेगमा एट्लेटिको म्याड्रिडलाई ३-० गोलले पराजित गर्दै युभेन्ट्सले अनुमानविपरितको यात्रा तय गरेपछि रोनाल्डोले भनेका थिए- युभेन्टस्‌ले मलाई यसैका लागि ल्याएको थियो। पहिलो लेगमा २-० गोलले पराजित भएको युभेन्टस्‌लाई प्रतियोगितामा फर्काउन रोनाल्डोले ह्याट्रिक गरेका थिए।

खेल जितेपछि आयाक्सका खेलाडी।

क्वाटरफाइनलमा युभेन्टस्‌को प्रतिस्पर्धी थियो डच क्लब आयाक्स जसले प्रिक्वाटरफाइनलमा सनसनीपुर्ण प्रदर्शन गर्दै पछिल्ला तीन संस्करणको विजेता रियल म्याड्रिडलाई हराएको थियो। आयाक्सको मैदानमा भएको पहिलो लेग १-१ गोलको बराबरीमा सकिँदा रोनाल्डोले पनि गोल गरेका थिए। युभेन्टस्‌लाई घरेलु मैदानमा सहज हुने अनुमान थियो।

रोनाल्डोले सुरुवातमा अग्रता दिलाए। तर आयाक्सले दुई गोल गर्दै ६७ औँ मिनेटमा २-१ गोलले अगाडि बढ्यो। यो स्थितीमा युभेन्ट्समाथी दबाब थियो- आयाक्सले गोल नथपेपनि अगाडि बढ्न अनिवार्य दुई गोल गर्नुपर्ने। दुवै भएन, आयाक्स सेमिफाइनल पुग्यो। युरोपियन च्याम्पियन्स लिगमा आयाक्स सन् १९९६/९७ पछि पहिलोपटक सेमिफाइनलमा पुगेको हो।

त्यतिबेला आयाक्स अन्तिम चारमा युभेन्टस्‌सँग  नै पराजित भएको थियो। त्यसभन्दा अघिल्लो सिजन यो प्रतियोगिताको उपाधि भिडन्तमा युभेन्ट्स र आयाक्स नै भिडेका थिए जसमा युभेन्टस्‌ले बाजी मारेको थियो। त्यसयता युभेन्टस्‌ युरोपियन च्याम्पियन बन्न सकेको छैन। त्यो आयाक्सको त्यस्तो समय जुन च्याम्पियन्स लिगमा पुन देखिएको छैन।

लगातार तीन संस्करणमध्ये सुरुका दुई संस्करणमा फाइनल पुगेको आयाक्स त्यसपछि युभेन्टस्‌सँग पराजित भएर सेमिफाइनलबाटै बाहिरिएको थियो। अघिल्ला दुवै फाइनल भिडन्तमा पनि इटालियन क्लबसँग नै पराजित भएको थियो।

आयाक्सले पहिलोपटक युरोपियन च्याम्पियन बन्न बाटोमा देखिएको छ। यता च्याम्पियन्स लिगमा पछिल्लो समय महारथी छबि बनाएका रोनाल्डो र रियल म्याड्रिड भने ‘ओरालो’तर्फ देखिएका छन्। युभेन्टस्‌मा घरेलु लिग जित्ने लगभग पक्कापक्की हुनुबाहेक उनीसँग सम्झनलायक केही छैन।

घरेलु लिगमा सर्वाधिक गोलकर्ता बन्न पनि सजिलो देखिँदैन। उता च्याम्पियन्स लिगमा विगतको छवी दोहोरिन सकेन। पछिल्लो नतिजाले रोनाल्डो अब पुन फिफा वर्ष खेलाडी बन्न सक्ने सम्भावना कम्तिमा यो सिजनका लागि समाप्तजस्तै बनेको छ।३४ वर्षीय यी स्ट्राइकरको यो खराब समयले उनका समकालिन प्रतिद्धन्द्धी मेस्सी सर्वोत्कृष्टताको बहसमा केही अगाडि बढाउने निश्चित छ।

बैशाख ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्