सुर्खेत– कर्णाली प्रिमियर लिगको दोस्रो संस्करण (केपीएल–२) को पुरस्कार राशी सार्वजनिक गरिएको छ। यहि वैशाख १२ गतेदेखि वीरेन्द्रनगरको कालुङ्ग चौंक रंगशालामा हुने प्रतियोगिताको पुरस्कार राशी बुधबार सार्वजनिक गरिएको हो।

कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा हुने प्रतियोगितामा सहभागि समुहमध्ये विजेतालाई पाँच लाख रुपैयाँको नगद पुरस्कार राशी प्रदान गरिने छ। प्रतियोगितामा दोस्रो टिमलाई दुई लाख रुपैयाँ, म्यान अफ द सिरिजलाई ५० हजार रुपैयाँ, उत्कृष्ट व्याट्समेन र बलरलाई २०/२० हजार रुपैयाँ नगद प्रदान गरिने छ। यस्तै प्रत्येक खेलहरुमा म्यान अफ द म्याच हुने खेलाडीले तीन हजार पाँच सय रुपैयाँ पुरस्कार पाउने छन्।

प्रतियोगितामा तीन वटा विभागीय टिमसहित आठ टिम सहभागि हुँदैछन्। प्रतियोगितामा सहभागी टिमहरुका क्याप्टेनहरुका नाम पनि आयोजकले सार्वजनिक गरेको छ। वसन्त रेग्मीको कप्तानीमा सशस्त्र प्रहरीको एपीएफ क्लब, विनोद भण्डारीको कप्तानीमा त्रिभुवन आर्मी क्लब र मञ्जीत श्रेष्ठको कप्तानीमा नेपाल पुलिसको टिमले प्रतियोगितामा सहभागी हुनेछन्।

यस्तै, कर्णाली क्रिक्रेट एकेडेमीमा रविन्द्रजंग शाही, महेन्द्रनगर क्रिकेट एकेडेमी (कञ्चनपुर) बाट सुशिल खड्काले टिमको नेतृत्व गर्नेछन्। मेहबुब आलमले लालिगुराँस क्रिकेट एकेडमी (झापा) र अजय साहनीले मध्यपश्चिम क्रिकेट (बाँके) र सुरेन्द्र चन्दले हिमालयन क्रिकेट एकेडमी (काठमाडौं) को टिमको नेतृत्व गर्नेछन्। प्रतियोगिता अवधिभर १५ वटा खेल हुने आयोजकले जनाएको छ। पहिलो र अन्तिम दिन १/१ वटा खेल हुनेछन् भने अन्य दिन दुई/दुई वटा खेल हुनेछन्।

‘मैदान सम्याउने, पिच र बाउन्ड्रीको लेभल मिलाउने लगायतको काम लगभग सकिएको छ’ कर्णाली प्रिमियर लिग दोस्रो संस्करणका संयोजक रेशम शाहीले भने,‘यस पटक दर्शकका लागि न्यूनतम मूल्यमा टिकट शुल्क लगाएका छौँ। ३० रुपैयाँ, एक सय र तीन सय रुपैयाँको टिकट शुल्क तोकेका छौँ।’

खेल हेर्न आउने दर्शकहरुलाई टिकटमा ‘लक्की ड्र’ मार्फत टिभी, मोवाइलदेखि मोटरसाईकलसमेत प्रदान गरिने छ। सेमिफाइनल खेल अवलोकन गर्ने दर्शकले टिभी पाउने छन् भने फाइनल खेल हेर्न आउने दशर्कले मोटरसाइकल उपहार पाउने छन्। प्रतियोगिता सञ्चालनका लागि ६० लाख खर्च लाग्ने अनुमान गरिएको थियो। तर, अनुमान भन्दा बढि रकम क्रिकेट मैदान निर्माणमा खर्च भएकाले लागत बढ्ने संयोजक शाहीले बताए। मैदान निर्माणका लागि एक लाख अनुमान गरिएकोमा पाँच लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए।

उनले स्थानीय तह र प्रदेश सरकारबाट आवश्यक सहयोग गर्ने बचन दिइएको बताए। ‘मैदान निर्माणदेखि प्रतियाेगिता सञ्चालनका लागि सरकारी निकायसँग सहयोग माग गरिएको हो’ उनले भने,‘सहयोग गर्दैनौँ भन्ने अभिव्यक्ति आएको त छैन तर, यति सहयोग गर्छाैँ भनेर पनि प्रतिवद्धता गरिएको छैन्। मात्रै आश्वासन पाइएको छ।’

क्रिकेटको विकासका लागि सरकारको उदासिनताका कारण कर्णालीमा प्रयाप्त संरचना निर्माण हुन सकेका छैनन्। संरचना अभावका कारण कर्णालीमा क्रिकेट प्रतियोगिता गर्न निकै चुनौतीपूर्ण बनेको छ। सरकारले लगानीको वातावरण बनाउन नसक्दा प्रयोजनका भरमा प्रतियोगिता गर्नुपर्ने अवस्था आएको छ। प्रतियोगितालाई सीजी फुट्स नेपाल प्रालीको वाईवाई चाउचाउले मुख्य प्रयोजन गरेको छ।

‘राज्यले खेल र खेलाडीका लागि प्रयाप्त लगानी नै गर्न सकेको छैन्’ कर्णाली प्रिमियर लिगको दोस्रो संस्करणका इभेन्ट म्यानेजर केशव शाहीले भने,‘राज्यबाटै उपेक्षित गरिएको कर्णालीमा खेलका गतिविधि गर्न निकै समस्या छ। खेलाडीहरुमा मनोबल बढ्ने काम हुन सकेका छैनन्।’ उनका अनुसार कर्णाली प्रिमियर लिगको दोस्रो संस्करण वैशाख २१ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका लागि समय तालिका भने केहि दिनमा सार्वजनिक हुने आयोजकले जानकारी गराएका छन्।

बैशाख ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्