नास्टका प्रविधि विभागका प्रमुख प्रा. डा.रविन्द्र ढकालसँग कुराकानी

‘नेपाल अन्तरिक्ष युगमा प्रवेश गर्‍यो, अब स्याटालाइटले विपद्‌मा सघाउँछ’

स्‍याटालाइट टेक्नोलोजीमा विश्‍वका शक्ति राष्ट्रहरुले ६० वर्षसम्म आफ्नो फक्कड जमाइरहँदा नेपाल भने यो प्रविधिले भर्खरै पाइला चाल्दैछ। यसैको उदाहरण हो बिहीबार अर्थात वैशाख ५ गते बिहान २: ३१ बजे चन्द्रसूर्य झण्डा अंकित नेपाली राष्ट्रिय नेपालको पहिलो भू-उपग्रह ‘नेपाली स्याट-१’ अन्तरीक्षमा पहिलो पटक प्रक्षेपण हुँदैछ।

अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट नेपालको स्याटेलाइट प्रक्षेपण गरिने यो स्याटालाइटलाई जापानको क्युटेकको बर्डस परियोजना अन्तर्गतको छात्रवृत्तिमा नेपालबाट इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जियिरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्केले तयार पारेको उक्त नानो स्याटालाइट निर्माण गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले यो भू-उपग्रह निर्माण गरेको हो। योसँगै नेपाल अन्तरिक्ष युगमा प्रवेश गर्नेछ। यही विषयमा रहेर देश सञ्‍चारका वरिष्ठ उप-सम्पादक सहदेव चौधरीले विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्रविधि विभागका प्रमुख प्रा. डा.रविन्द्र ढकालसँग कुरा गरेका छन्।

विज्ञापन

विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्रविधि विभागका प्रमुख प्रा. डा.रविन्द्र ढकाल।

१. नेपालले  पहिलो पटक अन्तरिक्षमा भू-उपग्रह  ‘नेपाली स्याट-१’ पठाउँदैछ, कुन उद्देश्‍यले पठाउन लाग्नु भएको हो ?

हो, नेपालले पहिलो पटक वैशाख वैशाख ५ गते आफ्नै भू-उपग्रह प्रक्षेपण गर्दै छ। यसले विश्‍वमा नेपालमा आफ्‍नै स्‍याटालाइट छ भन्‍ने सन्देश दिन र नेपाली युवाहरुमा उत्प्रेरणा जगाउन नास्टले अप्रिल १७मा अमेरिकाबाट आफ्‍नै स्याटालाइट अन्तरिक्षमा पठाउन लागेका छौ।

२. यस्तो अवसर नेपाललाई कसरी जुर्‍यो नि ?

खासमा सन् २०१६ तिरको कुरा हो। जापानस्थित क्यूसु इन्स्टि्च्यूट अफ टेक्नोलोजी (क्यूटेक)का प्रतिनिधिहरु नेपाल आउँदा उहाँहरुले अन्तरिक्षमा पठाउने अवसरको बारेमा हामीसँग कुरा गर्नुभयो।  उहाहरुले हामीलाई जुन-जुन देशको स्याटालाइट छैन, त्‍यो देशको लागि हामीले बर्डस् नामक कार्यक्रम यूएनको सहयोगमा लिएर आएको जानकारी गराउनुभयो। हामी यसमा सहयोग गर्न सक्छौ। तर त्‍यसमा लाग्‍ने केही लागत नेपाल सरकारले सहयोग गर्नुपर्छ। त्‍यसपछि हामीले राष्ट्रिय योजना आयोग, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छलफल गर्‍यौ र नास्टकै नेतृत्वमा हामीले काम थाल्‍यौ। एक वर्ष त्यसै झुलायो, त्‍यतिबेला अर्थमन्त्रालयले रकमको विषयलाई लिएर। धेरै छलफल र विश्वास दिलाएपछि सन् २०१७ मा पूर्व उपकुलपछि जीवराज पोखरेल क्यूटेक विश्‍वविद्यालयसँग सम्झौता गर्न जापान जानुभयो। अनि बल्ल ‘नेपाली स्याट-१’ बनाउने औपचारिक रुपमा सहमति भयो।

३. अब नेपालले स्याटालाइटबाट के- के कुरा सिक्ने मौका पाउँछ ? यसको उद्देश्‍य के हुन्छ ?

पहिलो कुरा त अन्तरिक्षको क्षेत्रमा नेपाली स्याटालाइटमा अध्‍ययन/अनुसन्धान गरिरहेका वैज्ञानिकहरुले क्षमतामा दक्षता ल्‍याउनुहुन्छ। दोस्रो कुरा नेपालले अब अन्तरिक्षको अनुभव आफ्नै ग्राउण्ड स्टेशनमा गर्न पाउने भयो। हामीले नास्टको कार्यालयमा ग्राउण्ड स्टेशन बनाउने तयारी गरिरहेका छौ । यसले नेपाल अब अन्तरिक्ष युगमा प्रवेश गर्‍यो भन्‍ने संकेत हो भन्दा हुन्छ।

४. स्‍याटालाइट ग्राउण्ट स्टेशनको काम कहाँ पुग्‍यो ? यसले के काम गर्छ ?

हामीले गोरखा पत्रमा टेन्डर निकालेर स्याटालाइट ग्राउण्ट स्टेशनको लागि आह्वान गरिसकेका छौ। यसको जिम्‍मेवारी पनि चाडैं नै हस्तान्तरण गर्नेछौ। ग्राउण्ड स्टेशन तयार भएपछि नेपालमै बसी बसी अन्तरिक्षमा भएका गतिविधिहरु नजिकबाट नियाल्‍न सक्छौ। अन्तरिक्षमा पठाउने यानहरुको बारेमा जानकारी लिन सक्छौ। कुन पेलोड कुन मितिमा कसरी जाँदैछ? कुन देशले कहिले कुन प्रकारको स्याटालाइट कहाँ प्रक्षेपण गर्दैछ भन्‍ने जानकारी सजिलै एकै समयमा पाउन सक्छौ।

५. त्‍यसो भए के नेपालले  प्राविधिमा फड्को मारेकै हो ? नास्टले अब  जनशक्ति उत्पादनमा कसरी सहकार्य गर्छ ? 

६० वर्षपछि नेपालले स्याटालाइट प्रविधिमा फड्को मारेको छ। किनकी यसअघि कुनै पन उपकरण बोकेर स्पेश(अन्तरिक्ष)मा लगेका छैनौ, तर विश्‍वका धेरै देशहरु स्पेशमा आफ्नो सामग्रीहरु बोकेर लगिरहँदा नेपालले पनि यो अवसर पाएको छ, नेपालको राष्ट्रिय झण्डा र नास्टको लोगो राखिएको १० सेन्टीमिटरको घनाकार बस्तुको रुपमा।  तर यसले दिने सुविधा विश्‍वमा जुन प्रकारको छ,  त्‍यो बराबरको नदिए पनि जापान टेक्नोलोजी ल्‍याउन सह-भूमिका खेल्छ।

यता, जापान-अमेरिकादेखि जो स्पेसमा प्राविधिक रुपमा काम गरिरहेका छन्। उनीहरुसँगको सहकार्य जोड्ने र स्याटालाइट टेक्नोलोजीमा थप सहकार्य जुट्‍ने सम्भावना बढी देखिरहेको छु। अहिले हामीले दुइ जना प्राविधिक व्‍यक्ति जसले सजिलै स्याटालाइट बनाउन सक्‍ने हैसियतमा पुगिसक्‍नु भएको छ। यस्तै एक जना जापानबाट ग्राउण्ड स्टेशनको तालिम लिएर नेपाल आइसक्‍नु भएको छ। यस्तै नास्ट वा त्‍यो भन्दा बाहिर रहेका धेरै नेपाली युवा साथीहरु जसले नानो स्याटालाइट बनाइरहनु भएको छ। उहाँहरुको सहकार्यमा नेपाललाई दक्ष जनशक्ति उत्पादनमा उपर्युक्त वातावरण प्रदान गर्नेछौ।

६. लगानीको हिसाबले स्याटालाइट प्रविधि कतिको  खर्चिलो हुन्छ र यसले दिने सूचना कस्तो प्रकारको हुन्छ ?

वास्तवमा हामीलाई ननस्याटालाइटी कन्ट्री( जुनदेशमा स्याटालाइटको प्रविधि छैन) भनेर व्‍याख्या गरिएको छ। त्‍यसलाई संयुक्त राष्ट्रसंघले साथ र सहयोग गरेको हो। र त्यसलाई जापानको शिक्षा तथा संस्कृति मन्त्रालयले फण्डिङ गरेको छ। त्‍यो फण्डिङ स्याटालाइट नभएका देशका विद्यार्थीहरुलाई प्रदान गरिन्छ। त्यसैको आधारमा हाम्रा दुइ जना विद्यार्थीहरु हरिराम श्रेष्ठ  (इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर )  र  आभाष मास्के (स्पेस टेक्नोलोजी इन्जियिरिङमा विद्यावारिधि) गरिरहनु भएको छ। तर त्‍यहाँको विश्वविद्यालयले केही रकम नतिर्दा त्‍यसको मूल्‍य र माया कम हुने हुँदा सरकारले लजिस्टिक खर्च वापत डेढ करोड रुपैयाँ पठाएको थियो। तर हाम्रा विद्यार्थीहरुले जापानमा सिकेका ज्ञान र सीप पाइसकेका छन्। अब यसले दिने सूचना विपद्‌को बेलामा नै हो। बाढी,पहिरो, हिमनदीहरुको अवस्थाको बारेमा जानकारी दिन सक्छ।

७. अनि स्याटालाइटले दिने सूचनको गोप्‍यता कति सुरक्षित रहन्छ ? यसको आयू/अवधि कति रहन्छ ?

हो ठीक भन्‍नुभयो, स्‍याटालाइटको पनि आयू हुन्छ। यसको आयू सदासर्वदा आकाशमा रहँदैन। यसले ९० मिनेटमा पृथ्वीको एक पटक परिक्रमा गर्ने भएकाले जून समयमा हाम्रो आकाशमा आउँछ, त्‍यो बेलामा मात्रै यसले हामीलाई सेवा उपलब्ध गराउँछ। किनकी यो आकाशमा घुमिरहने भएकाले जुन देशको आकाशमा पुग्छ। त्‍यस देशको फोटो खिच्न सक्छ। तर त्‍यो फुट प्रिन्छ वा डेटा हाम्रो नेटवरर्किङले डिकोट गर्दा मात्र सम्भव हुन्छ।

८.यस्तो प्रकारको स्याटालाइट प्रविधि नास्टले निर्माण गर्न थाल्‍यौ भने बजेटको कस्तो अवस्था रहन्छ ? सरकार  रकम छुट्याउन सक्छ की सक्दैन? यसबारेमा नेपाल परिपक्व बन्‍न सक्छ ?

अहिले तत्काल त नेपाल सरकारसँग नानो स्याटालाइटको लागि डेढ, तीन र पाँच करोड रुपैया छुट्ट्याउन केही समस्या छैन जस्तो लाग्छ। तर अझै पनि हामीलाई स्याटालाइट निर्माणपछिको परीक्षण गर्नु पर्ने हुन्छ। भाइब्रेसन परीक्षण गर्नु पर्ने हुन्छ। क्रायोजनिक इन्भाइरोन्मेन्ट( चिसो तापक्रम) मा स्याटालाइट काम गर्न सक्छ की सक्दैन, तातोमा सक्छ की सक्दैन भन्‍ने जस्ता पर्यावरणीय परिक्षणहरु पार गर्नु पर्नेहुन्छ। तर त्‍यसको लागि हामी अहिले परिपक्व भइसकेका छैनौ। स्याटालाइट पठाउने संसारभरी जम्‍मा १२ वटा स्टेशन छ। हामी आफैले स्टेशन बनाउन नसके पनि चीन, जापान, भारत, जर्मनी, अमेरिका लगायतका देशसँग सहकार्य गर्दै त्‍यसबारेमा थप दक्षता हासिल गर्न र उनीहरुसँगको ज्ञान-सीप लिएर परिपक्व बन्‍न सक्छौ।

९. नेपाल सरकारले अहिले  विज्ञान प्रविधिको क्षेत्रमा बजेट कति छुट्ट्याएको छ ? 

अहिले विज्ञान प्रविधि क्षेत्रमा सरकारको बजेट दयनीय अवस्थामा छ। मुखले स्मार्ट सिटी र स्मार्ट गाउँ बनाउने, डिजिटल युग भनेर भाषण दिए पनि व्‍यवहारत: त्‍यो लागू भएको छैन। सरकारले आफ्नो कुल बजेटको ०.३८५ प्रतिशत मात्रै छ। त्‍यति थोरै खर्चले कुनै पनि देश विज्ञान प्रविधिको क्षेत्रमा उकालो लाग्न सक्दैन।

१०. सरकारसँग तपाइको आग्रह/अपेक्षा के छ ?

अब सरकारले बजेट वा नीति तथा कार्यक्रम बनाउँदा कुल जिडिपीको २ प्रतिशत नसके पनि १ प्रतिशत त लगानी गरिदिनुसे। किनकी १० वर्षपछि यसको रिटर्न धेरै पाउनुहुन्छ। विज्ञान प्रविधिलाई पन्छाएर कुनै पनि मुलुक विकासको गतिमा लम्कन सकेका छैनन्। बजेटमा प्रविधिलाई प्राथमिकतामा राख्‍नुस्। देश एक दिन समृद्ध बन्छ।

 

बैशाख ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्