आठौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन आज हुने

नेपालगञ्ज – आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन बिहीबार हुँदैछ । प्रतियोगिताको सबै तयारी पूरा भएको राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले जानकारी दिएका छन् ।

प्रतियोगिताका केही खेल गत चैत २७ गतेदेखि सञ्चालन भएका छन् । औपचारिक रुपमा प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बेलुका ६ बजे नेपालगञ्जस्थित महेन्द्र रङ्गशालामा गर्ने कार्यक्रम छ ।

सदस्यसचिव विष्टले प्रत्येक दुई–दुई वर्षमा हुने प्रतियोगिता पहिलो पटक निरन्तर सञ्चालन भएको बताए । सातौँ प्रतियोगिता २०७३ सालमा प्रदेश १ मा भएको थियो ।

सदस्यसचिव विष्टका अनुसार करिब रु एक अर्ब लगानीमा भौतिक पूर्वाधार निर्माण गरिएको छ । करिब रु ११ करोड अझै पनि उपलब्ध नभएको उनले बताए ।

प्रतियोगितामा पुरुषतर्फ दुई हजार ८२५ तथा महिलातर्फ दुई हजार ३८६ खेलाडी सहभागी हुँदैछन् । प्रतियोगितामा पहिलो पटक गैरनेपाली आवासीय सङ्घ (एनआरएन) को समेत सहभागिता छ ।

सदस्यसचिव विष्टले प्रतियोगितामा व्यक्तिगत स्वर्ण पदक प्राप्त गर्ने खेलाडीलाई जनही रु १५ हजार पुरस्कार र विगतको रेकर्ड तोड्ने खेलाडीलाई जनही रु २५ हजार पुरस्कार प्रदान गर्ने जानकारी दिए । यसैगरि परिषदले आगामी बजेटमा सबै खेलाडीको स्वास्थ्य र दुर्घटना बीमा गर्नका लागि सरकारसँग माग गरिएको बताए ।

नेपालगञ्ज रङ्गशालाका लागि रु २४ करोड बजेट उपलब्ध गराएको छ । रु ६ करोडको लागतमा फुटबल मैदान तथा रु १८ करोडमा भिआइपी प्याराफिट निर्माण गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ र लायन्स क्लबले आठौँ राष्ट्रिय खेलकुदलाई गौरवको महोत्सवका रुपमा लिएर शहरलाई झकिझकाउ बनाएका खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम वलीले बताए ।

बैशाख ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्