लगानी सम्मेलनको समीक्षा गर्न दुई सातापछि बोर्डको बैठक

काठमाडौँ–लगानी सम्मेलन भएको झण्डै दुई साता पछि लगानी बोर्डको बैठक सुरु हुँदैछ। बिहीबार तीन बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री एवम् बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु हुने बैठकमा लगानी सम्मेलनकै समीक्षा गरिने भएको छ।

चैत १४ र १५ गते राजधानीमा आयोजित सम्मेलनमा भएका लगानी सम्बन्धि सम्झौता, प्रतिवद्धता र प्रस्ताािवत निवेदनमाथि बिहीबारको बैठकमा छलफल हुने बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले जानकारी दिए।

उनका अनुसार सरकारले सम्मेलनमा लगानीका लागि ‘शो केस’मा राखेका ५० वटा ठूला आयोजनामा लगानीका लागि पेश भएका निवेदनमाथि पनि छलफल हुनेछ।

सम्मेलनका बेला सरकारी प्रस्तावका ठूला आयोजनामा लागानीका कुनै पनि सम्झौता र प्रतिवद्धता आएको थिएन। तर ११ वटा आयोजनाका लागि १७ वटा निवेदन दर्ता भएका थिए र त्यसको लागि सरकारले वैशाख ७ गते (अप्रिल २०) सम्मको समय तोकेको थियो। निवेदन दर्ताका लागि दुई दिन बाँकी छँदा सरकारले त्यसबारे समीक्षा गर्न लागेको हो।

दुईवटा लगानी सम्मेलनबाट खासै उपलब्धि हासिल नभएको पृष्ठभूमिमा सरकारले तेश्रो लगानी सम्मेलनको आयोजना गरेको थियो।

बैशाख ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्