सडक सुरक्षाका लागि सडकमा ट्राफिक प्रहरीको आकृति

मोरङ-निर्माणाधीन ६ लेनको व्यस्त सडक। सडकको बीचमा डिभाइडर। डिभाइडरको बीचमा ठिङ्ग उभिएको ट्राफिक प्रहरीको नमूना आकृतिको बोर्ड। चर्को घामका बीच झट्ट हेर्दा ट्राफिक प्रहरी आफ्नो दैनिक काममा व्यस्त देखिने।

सन्दर्भ विराटनगरको बरगाछी चोकदेखि उत्तरतर्फ खारजी चोकसम्मको हो। गएको पाँच महिनाअघि सम्म सो सडक खण्डमा महिनामा तीन चारवटा सडक दुर्घटना हुने भनाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको तथ्याङ्क बताउँछ। जसका कारण हाल सो क्षेत्रमा प्रहरी कै आकृतिमा बोर्ड राखिएको छ। जसका कारण दुर्घटना न्युनीकरणमा सहयोग पुगेको कार्यालयका प्रहरी निरीक्षक शिव पोखरेलको बुझाइ छ।

सो क्षेत्रमा डिभाइडरमा ठोक्किँदा गत पुस ५ गते पथरी शनिश्चरे निवासी हेमा कार्कीको मृत्यु भएको थियो। साँझ श्रीमान् मनोज कार्कीसंग मोटरसाइकलमा सवार कार्कीको घटनास्थलमै मृत्यु हुन पुग्यो। यो जोडीले करिब एक महिना पनि संगै बिताउन पाएको थिएन। सोही समय यो दुखद घटनापछि समाजिक सञ्जालमा सम्बन्धित निकायलाई लक्षित गर्दै चर्को आलोचना भयो।

त्यसयता, सम्बन्धित निकायले सो क्षेत्रमा दुर्घटना न्युनीकरणका लागि प्रहरीकै नमुना बोर्ड लगाएको छ। जसले केही हदसम्म दुर्घटना न्युनीकरणमा बल पुराएको छ। हाल सो बोर्डका लागि ट्राफिकका जवान उमेश राउत र मातृका बास्तोलाको तस्बिर राखिएको छ।

कञ्चनवाडी चोकमा ड्यूटीमा खटिएका राउत आफ्नै तस्बिर हेर्दै भन्छन, ‘यसले समेत सर्वसाधारणमाझ चर्चा पाएको छ। तर त्यसभन्दा पहिले तस्बिरले मादकपदार्थ सेवन र तीब्र गतिमा सवारी साधन चलाउनेलाई भने सतर्क बनाएको छ।’

विरानगर महेन्द्र मोरङ क्याम्पसमा आमसञ्चार विषयका उपप्राध्यापक कमल पौडेल पनि ट्राफिकको नमुना बोर्ड राखिसकेपछि अप्रिय घटना नभएको बताउँछन्। उनी भन्छन, ‘बोर्ड राखिसकेपछि अधिकांश टिपर चालक, मोटरसाइकल चालकहरुमा सतर्कता देखिएको छ। रातीको समय टाढैबाट बोर्ड टल्कने भएकाले सवारीको तीव्रतामा कमी देखिएको छ।
बरगाछीदेखि खारजीसम्मको करिब ५ किलोमिटरको दूरीमा ६ वटा नमुना बोर्ड राखिएको छ। मुख्यतः यस बोर्डले रातीको समय काम गर्ने गरेको ट्राफिक प्रहरी पोष्ट नेमुवाका प्रहरी सहायक निरीक्षक तुलामणि आचार्यले बताए।

‘बोर्ड राख्दैमा दुर्घटना नहुने त होइन तर, पनि यसले गर्दा मादकपदार्थ सेवनकर्ता, तिब्र सवारी कुदाउने चालक, कागजपत्र नबोकि हिड्ने सवारी धनीहरु भने सतर्क हुने गरेको पाएका छौँ।’ सोही सडकखण्डको जिम्मेवारी सम्हाल्दै आएका प्रहरी सहायक निरीक्षक आचार्यको भनाइ छ।

प्रहरी सहायक निरीक्षक आचार्यले भने, ‘राती टाढैबाट आकृति देखिएपछि सवारी चालक अलि सतर्क भएर सवारी कुदाउने गर्छन्। मादकपदार्थ सेवनकर्ता पक्राउ गर्ने क्रम त छँदैछ तथापि बोर्ड राखिसकेपछि निकै सजगकताका साथ चालकहरु प्रस्तुत हुने गरेकाछन्।’

गएको पाँचमहिनादेखि नेमुवा चौकीको जिम्मेवारी सम्हालेका आचार्य त्यसयता सो क्षेत्रमा सवारी दुर्घटना कम भएको दाबी गर्छन्। उनका अनुसार बोर्ड राख्नुअघि सो क्षेत्रमा महिनामा करिब दर्जन बढि सवारी दुर्घटना हुने गरेका थिए।

तथापि सो बोर्ड राख्नका लागि व्यापारी, समाजिक संस्थाले सहयोग गरेकोे बताएका जिल्ला ट्राफिक प्रहरी मोरङका प्रहरी निरीक्षक पोखरेलले केही उच्छृङ्श्रखल गतिविधि गर्नेहरुले भने बोर्डहरुमा हिलो दल्ने, च्यात्ने, गुट्खा खाएर फोहर गर्ने गुनासो गरे।

रातीको समय सो सडक खण्डमा विजुलीको खम्बामा बत्तीको वयवस्था नहुँदा समेत सवारी चालक, प्रहरीलाई समेत गाह्रो हुने गरेको छ।

बैशाख ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्