८ सचिव तथा सहसचिवको जिम्मेवारी हेरफेर, को कहाँ पुगे?

काठमाडौँ–सरकारले सचिव तथा सहसचिव गरी ८ जनाको जिम्मेवारी हेरफेर गरेको छ। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट उनीहरुलाई नयाँ कार्यालयमा पदस्थापन गरेको हो ।

सञ्चार प्रविधि तथा सूचना मन्त्री गोकुल बास्कोटाका अनुसार सहसचिव हरिप्रसाद बस्याललाई बढुवा गरी पोखरास्थित प्रदेश नं ४ को मूख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवमा पदस्थापना गरेको छ।

केवल भण्डारीलाई कर्णाली प्रदेशको मूख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवमा र स्वास्थ्य मन्त्रालयका सचिव चन्द्र घिमिरेलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सचिवमा पदस्थापन गरेको छ।

यस्तै कर्णाली प्रदेशका मूख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रामप्रसाद थपलियालाई स्वास्थ्य मन्त्रालयकाे सचिवमा र प्रदेश नं १ को मूख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव केदार न्यौपानेलाई काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापन गरेको छ।

काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा पदस्थापन गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारीलाई कायम मुकायम गरी प्रदेश नं १ मूख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवमा पदस्थापन गरिएको सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले जानकारी दिए। राष्ट्रिय महिला आयोगका सचिव अनिल कुमार ठाकुरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवमा पदस्थापन गरिएको छ।

बैशाख ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्