सगरमाथा यात्राको मज्जा शब्दमा ओकल्नै सक्दिनँ

सगरमाथा यात्राको मज्जा शब्दमा ओकल्नै सक्दिनँ

मनीषा कोइराला राजधानीमा आफ्नो किताब 'हिल्ड' सार्वजनिक गर्ने क्रममा। तस्बिरहरु: बर्षा शाह

‘मनिषा, लेट्स गो टु एभरेष्ट बेस क्याम्प’, स्कूलका साथीहरुले जब मलाई भने, अनि यो सम्भव भयो। यदि उनीहरुले नभनेको भए? मलाई थाहा छैन के हुन्थ्यो।

सगरमाथाको देशमा जन्मिएकी छोरी म तर सगरमाथाको काखमा पाइला टेक्न पाएकी थिइनँ। नेपालमा जन्मिएको भनेपछि सगरमाथा गएको छैनौ, देखेकी छैनौँ? भन्‍ने प्रश्नको साक्षात्कार हुनु नौलो कुरा होइन। साथीभाइ जमघट हुँदा नेपालको कुन-कुन ठाउँमा हिडेको, हिमाल पुगेको अनुभव सुनाउँथे। टाउको हल्लाएर सुन्थेँ। मनमनै गुन्थेँ, ‘म त गएकै छैन, हेर्न पाएकै छैन।’

साथीहरुबाट जब प्रपोजल आयो, मन बाँडियो। म सक्छु कि सक्दिन। मन त बलियो छ तर मेडिकल हिस्ट्री अनि मेरो उमेरले मनलाई चिसो बनायो। तर मेरो मनको चिसोलाई बेस क्याम्प पुग्ने रहरको तापले कति छिटो पगालेछ मैले नै पत्तो पाइनँ। त्यसैले त कामको बेलामा पनि अभ्यासको लागि मैले समय निकालेँ।

काममा सक्रिय हुँदा सम्भव हुने कुरा नै भएन। अथवा मेरो प्राथमिकतामा त्यतिबेला सगरमाथाको बेसक्याम्प परेन। केटाकेटीदेखि नै मैले कहिले हेर्न पाउँला भन्ने थियो। जीवनको धेरै ओटा उद्देश्य मध्ये यो पनि मेरो एक उद्देश्य थियो।

हरेक कामको लागि एउटा सही समय आउँछ। त आँट म पुर्‍याउँछु भनेजस्तै भयो। केही प्रोजेक्टहरुमा म संलग्न छु। त्यसैले हामी आ-आफ्नै तरिकाले तयारीमा लाग्यौँ।

मैले जनवरीदेखि तयारी गरेँ, बिचबिचमा कामसँगै शरीरको फिट्नेस लेभल बढाउदै लगेँ।

अनि त्यो दिन साँच्चै नै आयो, अप्रिल ६ मा हामी सोलुखुम्बु यात्राको लागि हिड्यौँ। सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरेको छ। यसलाई सघाउने एक अंश हुन पाउनु मेरो लागि ठूलो कुरा हो।

त्यो भन्दा पनि सगरमाथाको आधारशिविर पुग्नु भनेको मेरो लागि आध्यात्मिक यात्रा हो। केही कुरा निको पार्ने प्रक्रिया। प्रकृतिमा हिँड्नु नै आध्यात्मिक अभ्यास हो। हामी समूहमा थियौँ तर एक्लो थियौँ। यो बेला नै अमूर्त अनुभूति हुन्छ, जसलाई शब्दमा बयान गर्न सकिदैँन।

मलाई खुसी छ, ममा नेपालको जीन छ। प्राय कमै अभ्यास हुने चिसो उकालीमा मलाई हाइ अल्टिच्यूटको समस्या भएन। मैले मेरो लागि त्यो कुराले पीर गर्नु परेन। तर कोही थिए, जो मेरो स्वास्थ्यको बारेमा धेरै नै चिन्तित थिए।

मेरो आमाबुवाले कहिले पनि मलाई यो काम गर अथवा नगर भन्नु भएन। खाली भन्नुभयो ‘बि सेफ’ । मलाई थाहा छ, उहाँले मलाई नभनेपछि उहाँको चिन्ता मेरो लागि कति छ। त्यसैले सम्भव हुने ठाउँमा मसँग नै पुग्नुहुन्छ। मलाई पनि उहाँहरुको ख्याल छ, जहाँ जहाँ पुग्थेँ, फोन गर्थेँ। उहाँहरुले सधैँ साहस नै दिनुभयो।

मैले त्यहाँ शेर्पाहरुको शक्ति देखेँ, वरिपरि सहयोगी राखेर हिँड्दा त पाइला पाइलामा मैले शक्ति अड्याउनु पर्यो। गरुङ्गो पाइला उचाल्नु पर्यो। बिरामी हुँला जस्तो भयो। ती भारी बोक्ने शेर्पा एक दिन बिरामी परे उसको परिवारको के होला?

एक पल्टमा एक पाइला मात्रै त्यहाँ अक्सिजन कम हुन्छ। एक-एक पाइला हिड्नलाई गाह्राे हुन्थ्यो। म एक पाइला अनि बिस्तारै अर्को पाइला चाल्दै थिएँ। म सम्पूर्ण ध्यान मेरो कदममा लगाइरहेको थिएँ। एक मात्र सोच भनेको मैले मेरो लक्ष्य पूरा गर्नु थियो।

बाटोमा एक विदेशी पर्यटक भेटिए। उनले फेरि सम्झाए हामीलाई ‘इट्स नट अबाउट द डेस्टिनेसन, इट्स अबाउट द जर्नी।’ त्यसैले मलाई मैले चालेको हरेक कदमलाई रोमाञ्चित महसुस गर्नु थियो।

कुनै कुरा भित्रैबाट अनुभूत भयो। एक्लै हिँड्दा मैले धेरै कुरा सिक्न पाएँ, जुन कुरा मेरो लागि नौलो थियो। जीवनलाई फरक तरिकाले हेर्न थालिने रहेछ।

अनि, मेरो दिमागमा सेन्स अफ प्राइड थियो। केही पाएको अनुभूति गर्नुपर्छ भन्ने आँट। सधैँ फोटो र भिडियोमा हेरेको एभरेष्ट हेर्न पाएँ।

हुन त अक्सिजन कम भएको ठाउँमा दिमागमा धेरै कुरा चल्दैन। दिमाग शान्त हुन्छ। शारीरिक शक्ति धेरै खर्च भइरहेको हुन्छ। लाग्यो त्यो बरदान हो। मान्छेलाई धैर्य सिकाउँछ, थाक्दा पनि म हार मान्दिँन भन्ने कुरा सिकाउँछ। जतिसुकै गाह्राे भएपनि उसले सकिरहेको छ म पनि सक्छु की भन्ने आश देखाउँछ। यसले नजानेर शक्ति दिन्छ, पछाडिबाट अगाडि धकेल्छ। इन्छाशक्ति। आफूले आफ्नो दिमागी अवस्था बुझ्ने समय दिन्छ। यी मेरा मन भीत्रका भावना हुन्।

मेरा आँखाले जे देख्यो, त्यो फरक भयो।

आहा,

जति भनेपनि कम हुन्छ। त्यस्तो अद्‌भूत प्राकृतिक रुप देखेँ। गाई हिडेका, गुराँसका रुखहरु त्यहाँका सुसाउने खोलाहरु, सेता पानीहरु, सबैजसाे बाटोमा खोला बगेको आवाज कानमा गुञ्जिन्थे।

मलाई सालको पात भएको जंगलमा हिड्न सारै मन पर्ने। मलाई निलो आकाशमा गुजुक्क थुप्रिएका बादलहरु हेर्दै हिडन् मन लाग्थ्यो।

मन्त्रमुग्ध….

एउटा ठाउँ आउँछ, जहाँ सगरमाथाको पहिलोपल्ट देखिन्छ। त्यो दुई रुखको बिचमा सेतो हिमाल देखिन्छ। कहिले पुगिन्छ जस्तो हुन्थ्यो। हामी पुगेको दिन त्यहाँको तापक्रम माइनस २५ डिग्री थियो। धेरै टेन्टहरु त्यहाँ थिए। जब त्यो रात पछिको बिहान मैले देखेँ…

विभिन्न रंगका टेन्टहरु बिचमा थिए। हामी धेरै नै सेता, अनि चम्किला हिमालको बिचमा थियौँ। अति सुन्दर, अति उज्यालो। जति हेरेपनि आँखा नभरिने। त्यो असाध्यै अद्भूत थियो। त्यतिबेला मेरा भावनाहरु एकाएक आँशुको रुप लिएर बाहिर आए र त्यो हिउँलाई स्पर्श गरे। मैले म धन्य भएको महशुस गरेँ।

त्यहाँ नाम्चेले मलाई अचम्मित बनायो। त्यहाँ सबथोक छ। खाना पनि मिठो। त्यति परको ठाउँ, पुग्न अलि कष्ट नै गर्नु परेपनि त्यहाँ गएपछि सबथोक भुलिन्छ।

म भुल्दै भुल्दै अगाडि बढ्न थालेँ।

लोबुचे अलि फरक देखियो। जम्मा ६,७ ओटा घर। हरेक ठाउँको भूगोग फरक थियो । बस्ने तरिका फरक थियो। त्यो ठाउँ उत्कृष्ट थियो। असाध्यै राम्रो थियो। खान पान व्यवहारको शैली पनि।

छुटेको भए?

अहँ, म के गुमाउँथे त्यो सोच्न पनि सक्दिँन। किनभने म एउटा काम गर्छु भनेर निर्णय लिएपछि त्यसलाई गरेर नै छोड्ने अठोट लिन्छु। त्यसलाई अन्त्यसम्म लिएर नै जानुपर्छ जस्तो लाग्छ। जे परिस्थिती होस् दुख गरेर भएपनि त्यसलाई पार लगाएर नै छोड्नुपर्छ। सायद म नगएको भए, मेरो मुटु टुक्रिन्थ्यो।

फेरि जाउँ-जाउँ लागेको छ, अन्नपूर्ण बेस क्याम्प, मनास्लु। सगरमाथा आधारशिविरको यात्राले मेरो खुशी बढेको छ। म अझै खुशी थप्न चाहन्छु।

(१० दिने सगरमाथा आधारशिविर यात्रा सकेर फर्किएकी अभिनेत्री मनिषा कोइरालासँग  सुजाता खत्रीले गरेको कुराकानीमा आधारित)

बैशाख ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्