राष्ट्रपतिद्वारा आठौं राष्ट्रिय खेलकुदको औपचारिक रुपमा उद्‌घाटन

उद्‌घाटन अगाडि नै १५ खेल सकिए

नेपालगञ्ज-आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बिहीबार औपचारिक रुपमा उद्घाटन भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्ज रंगशालामा आठौंको उद्घाटन गरिन्।

राष्ट्रपति भण्डारीले खेलकुदको विकासका लागि विद्यालयस्तरदेखि नै ध्यान दिनु पर्नेमा जोड दिइन्।उनले स्थानीय तहले खेलकुदको विकासका लागि ध्यान दिनु, सुखी नेपाली, समृद्ध नेपालको अभियानमा खेलकुदले अहम भूमिका खेल्ने बताउदै राष्ट्रपति भण्डारीले खेलाडीको बृत्ति विकासमा ध्यान दिनु पर्ने बताइन्। ‘विद्यालय स्तरदेखि नै खेलकुदलाई प्राथमकिता दिनु पर्छ, राष्ट्रपति भण्डारीले भनिन्, पूर्वाधार विकासमा पनि जोड दिन आवश्यक छ।’

खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले विभिन्न चुनौती र प्रतिकूलताका बाबजुद आठौंलाई निर्धारित समयमा गर्न सकिएको बताए। उनले खेलकुदको विकास नभई समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताए। ‘पेशा, व्यवसाय, उद्योगको रुपमा खेललाई विकास गर्नुपर्छ। खेल पर्यटनको माध्यमबाट अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहन्छ, खेलकुदमन्त्री विश्वकर्माले भने, खेलकुदमा लगानी बढाउन आवश्यक छ।’

५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले खेलले सामुहिकता, मेलजोलको संस्कृति र राष्ट्रिय भावनाको जगाउने भएकाले प्राथमिकता दिनु पर्ने बताए। उनले प्रदेशका एक सय नौ वटै पालिकामा खेल मैदानको अवधारणा लिएर अघि बढेको जानकारी दिए।

राखेपका सदस्य सचिव केशवकुमार विष्टले आठौंका लागि बनेका अन्तर्राष्ट्रिय स्तरका पूर्वाधारले प्रतिभा जन्माउन मद्दत पुर्‍याउने विश्वास गरे।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरु भने चैत्र २७ गतेदेखि नै चलिरहेका छन्।

बिहीबार उद्घाटन हुँदासम्ममा १५ वटा खेल सकिएको छ। आठौंमा ३५ वटा खेल रहेका छन्। नेपालगञ्जलाई केन्द्रविन्दुमा राखेर बाँके, बर्दिया, दाङ, रुपन्देही र कपिलबस्तुमा आठौंका खेलहरु भइरहेका छन्।

नेपालगञ्जमा रंगशालामा भनेको भीआइपी प्यारापिट र बर्मुडा घाँस रोपिएको मैदानमा विभिन्न झाँकी, जातजातीका सांस्कृतिक पहिचान झल्किने पहिरन, नाच, खेलाडी र टीमहरुको मार्चपास, कोमल वलीको टाइटल गीत, खेलाडीको तर्फबाट जुडोकी युथ ओलम्पियन सोनु भट्ट र निर्णायकको तर्फबाट भारोत्तोलनका पूर्व अन्तर्राष्ट्रिय खेलाडी समसुद्दिन सिद्धिकीले शपथ खाएका थिए।

सांगीतिक कार्यक्रम र आतिसबाजीका साथै ओलम्पियन सुरेन्द्र हमालले ओलम्पिक टर्च बाले। वि.सं. २०३८ सालदेखि नेपालमा राष्ट्रिय खेलकुद शुरु भएको थियो। २०४० र २०४२ सालमा मात्रै दुई/दुई वर्षमा राष्ट्रिय खेलकुद गर्ने रणनीति पूरा भएको थियो।

त्यसपछि कहिल्यै दुई/दुई वर्षमा राष्ट्रिय खेलकुद भएन। २०७३ मा पूर्वाञ्चालमा सातौं भएपछि २०७५÷०७६ मा आठौं भएर निर्धारित समयमा राष्ट्रिय खेलकुद भएको छ।

बैशाख ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्