पुरुष फुटबलमा ५ नम्बरको दोस्रो जीत, एपीएफ पराजित

नेपालगञ्ज – खजुरामा भइरहेको पुरुष फुटबलमा ५ नम्बर प्रदेशले दोस्रो जीत निकालेको छ । समूह ‘क’ को बलियो टोली मानिएको एपीएफलाई ५ नम्बर प्रदेशले ३–२ गोलले पराजित गरेको हो । ५ नम्बर प्रदेशले यसअघि गण्डकी प्रदेशलाई २–१ गोलले पराजित गरेको थियो ।

दुई गोलले पछि परेपनि ५ नम्बर प्रदेश खेलमा फर्किएको थियो । एपीएफका आशिष लामाले १८ मिनेटमा गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । २६ मिनेटमा प्रदीप लामाले अर्को गोल थपेपछि ५ नम्बर प्रदेश २–० गोलले पछि परेको थियो ।

मध्यान्तरको अतिरिक्त समयमा ४०+२ मिनेटमा ५ नम्बर प्रदेशका पूर्णबहादुर गुरुङले गोल गरेर टीमको आशा जगाएका थिए । मध्यान्तरपछिको तेस्रो मिनेट अर्थात ४३ मिनेटमै विवेक पुनले गोल गरेपछि ५ नम्बर प्रदेश खेलमा फर्किएको थियो । दुई/दुई गोलको बराबरी भइरहदा दुवै पक्षले राम्रो अवसरहरु सिर्जना गरेपनि लामो समय गोल हुन सकेन ।

खेल सकिन चार मिनेट बाँकी रहदा ७६ मिनेटमा ५ नम्बर प्रदेशका सन्जु सेनले गरेको गोल निर्णायक भयो ।

खजुराको डीगाउँस्थित आदर्श आधारभूत विद्यालयको मैदानमा भइरहेको समूह ‘क’ को खेलमा ५ नम्बर प्रदेशले दोस्रो जीत निकालेर समूहबाट सेमिफाइनलमा पुग्ने बाटोमा अघि बढेको छ । एपीएफले पहिलो खेलमा १ नम्बर प्रदेशलाई पराजित गरेको थियो ।

बैशाख ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्