धर्म निरपेक्षताको ब्यानर जलाउँदा राप्रपा कार्यकर्ता र प्रहरीबीच धकेलाधकेल

नेपालगञ्‍ज-राप्रपाले धर्म निरपेक्षताको ब्यानर र प्लेकार्ड जलाउने क्रममा प्रहरीसँग धकेलाधकेल भएको छ।

राप्रपाको पार्टी कार्यालयबाट निस्केको जुलुसले गणेशमान चोकमा पुगेर धर्म निरपेक्षताको ब्यानर र प्लेकार्ड जलाएपछि त्यसलाई निभाउन पुगेका प्रहरीसँग धकेलाधकेल भएको हो।

राप्रपा नेता तथा कार्यकर्ताले आगो बाल्ने र प्रहरीले त्यसलाई निभाउने क्रम चल्दा केहीबेर धकेलाधकेल भएको थियो। प्रहरीले हस्तक्षेप गरेर आगो निभाएपछि राप्रपाका नेता तथा कार्यकर्ताहरु आक्रोशित हुँदै नाराबाजी गरेका थिए।

राप्रपाका केन्द्रीय उपाध्यक्ष प्रेम भण्डारी, महामन्त्री धवलशमशेर राणा, सहायक महामन्त्री राजेन्द्रवीर राय, केन्द्रीय सदस्यहरु ओमप्रकाश आजाद, ऋषि देवकोटा, पवित्रा सुब्बा, खेमराज गौतम, हिक्मत ढकाल, सलाउद्दिन जसगढ लगायतका नेताहरु धर्म निरपेक्षताको ब्यानर, प्लेकार्ड जलाउन पुगेका थिए।

धर्म निरपेक्षताको ब्यानर र प्लेकार्ड जलाएपछि नेता तथा कार्यकर्ताहरु पुनः पार्टी कार्यालय पुगेका थिए। केन्द्रीय सदस्य ऋषिराज देवकोटाले देश टुक्राउने भाषण गर्दै हिड्नेलाई राज्यले वेवास्ता गरेर ९४ प्रतिशत हिन्दु भएको देशलाई हिन्दु राष्ट्र कायम गराऊ भन्दा प्रहरीले हस्तक्षेप गरेर निन्दनिय कार्य गरेको बताए। उनले भोट जहाँ सुकै हाले पनि देशलाई हिन्दु राष्ट्र बनाउने महान अभियानमा सबै सामेल हुनुपर्ने बताए।

सरकारलाई २२ बुँदे माग बुुझाएको राप्रपाले त्यही अन्तर्गत यस्ता कार्यक्रम गरिरहेको छ। ८ गते राजमार्गमा दुई घण्टा सत्यग्रह गर्ने कार्यक्रम रहेको छ।

तस्बिर: कुमार श्रेष्ठ/देश सञ्चार

बैशाख ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्