भौतिक संरचना भत्काउँदा जनप्रतिनीधि र कर्मचारीलाई थुनेर तालाबन्दी

काठमाडौं-विकास निर्माणका क्रममा विराटनगर महानगरपालिका वडा नम्बर-६ स्थित धुधुवा पैनीमा रहेका घर टहरा भत्काउदाँ तनाव उत्पन्न भएको छ।

महानगरपालिकाको नगर रक्षकको टोलीले शुक्रबार पैनी अतिक्रमण गरी बनेका भौतिक संरचना भत्काउँदा स्थानीयले विरोध गरेका छन्।

सो क्रममा स्थानीयले महानगरपालिका वडा नम्बर-६ को कार्यालयमा जनप्रतिनीधि र कर्मचारीलाई थुनेर तालाबन्दी समेत गरेका छन्। विहान गरिएको तालाबन्दी नखुल्दा सेवा लिन पुगेका सयौं सेवाग्राही मार्कामा परेका थिए।

बिहीबार एस्काभेटरसहित महानगरपालिकाको नगर रक्षकको टोलीले धुधुवा पैनी अतिक्रमण गरेर बनाइएका टहराहरु भत्काएको थियो।

वडा निवासी दिनेशकुमार कामतले बिना जानकारी घरटहरा भत्काइएपछि वडा कार्यालयमा तालाबन्दी गरिएको जानकारी दिए।तालाबन्दीका क्रममा स्थानीयले यस समस्याको हलका लागि महानगरका मेयर भीम पराजुलीले आवश्यक पहल गर्नुपर्नेमा जोड दिएका छन्।

अर्कोतर्फ पैनी क्षेत्रमा निर्माण गरिएको घर टहरा सार्वजनिक जग्गामा भएका कारण भत्काइएको महानगरले जनाएको छ।

प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले जग्गा सार्वजनिक भएको पुष्टि भएपछि टहरा निर्माण गर्न लागेका व्यक्तिहरुलाई टहरा हटाउन २४ घण्टे सूचना दिइएको तर सूचनाको अटेर गरेका कारण भत्काइएको जानकारी दिए।

महानगरले नगररक्षक र प्रहरीको उपस्थितिमा नारायण भट्राई, शंकर कामत, सुष्मा साह, ललित कामत र विरु सहनीको घरटहरा भत्किएको बताइएको छ।

बैशाख ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्