वर्षौँसम्म बन्धक बनाएर यातना दिने अभिभावकलाई सन्तानले माफ गरे

वर्षौँसम्म सन्तानलाई भोकमरीको अवस्थामा राखेको तथा शारीरिक एवम् मानसिक यातना दिएका अमेरिकाको क्यालिफोर्नियाका दुई अभिभावकलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

उनीहरुलाई छोराछोरीले भने माफी दिएका छन् । डेविड र लुइज टर्पिनका छोराछोरीले अदालतमा आफूहरुले अझै पनि आमा र बुवालाई माया गर्ने बताएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन्।

डेविड र लुइजलाई सन् २०१८ को जनवरीमा पक्राउ परेका थिए । १७ वर्षकी छोरी क्यालिफोर्नियाको पेरिसमा रहेको घरबाट भाग्न सफल भएपछि दम्पती पक्राउ परेका हुन् । उनीहरुले पछिल्लो ९ वर्षदेखि आफ्ना १३ सन्तानलाई यातना दिँदै आएका थिए । शुक्रबारको सुनुवाईको क्रममा चार सन्तानको बयान सुनाइएको थियो ।

उनीहरुका एक सन्तानले भनेका थिए, ‘म मेरा दुवै अभिभावकलाई अति माया गर्छु । हुन सक्छ उहाँहरुले हामीलाई गरेको व्यवहार सन्तान हुर्काउने राम्रो उपाय थिएन, तर मलाई गर्व छ कि उहाँहरुले गर्नु भयो, किनकी त्यसैले आजको मानिस बन्न सकेको छु ।’ उनको यो बयान उनकी एक दिदीले अदालतमा पढेर सुनाएकी थिइन् ।

अर्का एकले भनेका छन्, ‘हामी हुर्किने क्रममा कसरी के भोगेर हुर्कियौँ त्यो शब्दमा बयान गर्द सक्दिन । भयानक सपनाहरु देख्थेँ । त्यो विगत हो र यो वर्तमान । म उहाँहरुलाई माया गर्छु र उहाँहरुले हाम्रा लागि गरेका धेरै चिजहरुका लागि माफी दिन्छु ।’

तर सबैले माफी दिएका भने छैनन् । उनीहरुकी एक छोरीले अदालतमा काम्दै भनेकी थिइन्, ‘उहाँहरुले मबाट मेरो पूरै जीवन लैजानु भयो, तर अहिले पुनः म जीवन खोज्दै छु ।’

५७ वर्षका डेविड र लुइज अदालतमा रोए, उनीहरुले सन्तानसँग गरेको व्यवहारका लागि माफी मागे । आफूहरुले राम्रो नियत राखेर होमस्कुलिङ्ग र अनुशासन सिकाएको उनीहरुको भनाई छ । डेविडले आफूले कहिले पनि सन्तानलाई नोक्सानी गर्न नचाहेको र उनीहरुलाई माया गर्ने बताए ।

बैशाख ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्