‘सन्तुष्टि’ को खोजीमा समर्पित एउटा जीवन

यी हुन् सारेगमपमा तहल्का मच्चाइरहेका प्रितम र आयुषका गुरु

‘बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो’

बिहान १० बजे गोपाल योञ्जनको यो अमर सिर्जनाले आवाज पाइरहेको सुनियो ललितपुर झम्सिखेलको एउटा घरमा । अरुण थापा चोक नजिकै गल्लीबाट केही घर छिचोलेपछि आउँछ, सुरशाला म्यूजिक एकेडेमी। यही एकेडेमीको दोस्रो तलामा जोशिलो आवाज भित्ता छेडेर गेट बाहिरको बाटोसम्मको यात्रामा थियो।

ढोकाको छेवैको र्‍याक भरीभराउ। नअटेका भुईमै लडेका थिए जुत्ता चप्पल। हतारमा खोलिएका जस्ता केही जोर जुत्ताहरु, मोजा लत्रिएर भुँईमा पुगेका।

वरिपरी विद्यार्थी राखेर गीत गाउँदै, सिकाउँदै थिए गायक अमृत क्षेत्री।

‘पखेराेमा जन्मे टाकुरामा खेल्ने म झुक्दै नझुक्ने नेपालको छोरो , म झुक्दै नझुक्ने नेपालको छोरो’

संगीतमा एउटा नशा हुन्छ। त्यसैले त रोएको बालक धुन सुनेर शान्त हुन्छ। संगीतको रागले नजानिँदो गरी आफूतिर आकर्षित गर्छ, लठ्ठ पार्छ, फूलमा माहुरी, भमरा लठ्ठिएझै। यही मोहनीले घण्टौँ यसैमा झुम्न मानिस तयार हुन्छ, आत्तुरी हुँदैन कत्ति पनि । त्यसैले होला जुत्ता फुकाल्नेलाई अलि हतार थियो।

गायक अमृत क्षेत्री गीतको सुरसँग हारमोनियमको आवाज मिसाउँदै छन्। जेरीलाई मिठो स्वाद दिने चास्नी बनाएजस्तै। सुर र तालको मात्रालाई हारमोनियमको आवाजसँग मिसाएर घोल्दैछन्। मात्रा मिलेको चास्नी जस्तै स्वर पनि मिठो सुनिएको छ।

बैशाखको दिन, घाम छिप्पिँदै चर्को भएजस्तै गीतको गुञ्जन पनि तिखिँदै थियो,

‘रातो र चन्द्र सूर्य, जंगी निशान हाम्रो,
जीउँदो रगत सरी यो, बढ्दो यो शान हाम्रो।’

हरेक बिहानी घामले फूल पातहरुमा लालि छर्दै गर्दा, रातभरि चिसो हुने गरी झारेको शित सुकाउने सुर कस्दाकस्दै उनको घरबाट हारमोनियमले आवाज निकाल्छ,

‘ऊँ’,

त्यसपछि शुद्ध सात स्वर,

‘सा,रे,ग,म,प,ध,नि,सा
सा,नि,ध,प,म,ग,रे,सा’

अनि बिस्तारै अलंकार।

घरी जोसिँदै, हौसिँदै त घरी शान्त गम्भीर हुँदै संगीतको रसरागमा लपक्क डुबाएको २० वर्ष हुन लागेछ। ३५ वर्ष अगाडि जन्मिएको पर्वते ठिटो अमृत क्षेत्री संगीतमा सुनौलो सपना देखेर राजधानी आएका थिए अब अरुलाई देखाउँदैछन्।

सांगीतिक यात्रा


संगीतसँग उनको लगाव कहिलेदेखि बस्यो ठ्याक्कै ख्याल छैन। जब स्मरण भयो त्यतिबेला नारायण गोपालका गीत रेडियो नेपालमा खुब बज्थे। रामकृष्ण ढकाल त्यतिबेला व्यस्त गायक थिए। अमृतले भेउ पाउँदादेखि नै रामकृष्ण ढकाललाई भेट्ने चाह मनमा गडेर बस्यो।र समयले त्यो पूरा गर्‍यो पनि।

अहिले उनले संगीत सिकाउने कोठामा नायारण गोपाल, भक्तराज आचार्य, तारादेवीका तस्बिर सजाएका छन्। पाकिस्तानी कलाकार राहत पतहे अलि खान, भारतका सुप्रशिद्ध संगीतकर्मीहरु शंकर महादेवन, ए.आर रेहेमान, लता मंगेशंकरको आकृति पनि भित्तामा छन्। यी तस्बिरले उनलाई उत्प्रेरणा दिन्छन्।

एसएलसी परीक्षा सकिएपछि उनले पर्वतबाट काठमाडौँको यात्रा सुरु गरे। व्यवस्थापन पढ्दा पढ्दै संगीत तर्फ बाटो मोडियो। स्नातकपछि सम्पूर्ण समय संगीतमा नै दिने निर्णय घरमा सुनाए। सजिलै पचेन उनको कुरा घरमा। अमृत घरका कान्छा छोरा, दुई दाइ अनि तीन दिदीहरु। सबैको प्यारो अनि अलि अलि पुलपुलिएको पनि। चाहेको गरेरै छोड्ने बानीसँग परिवार अपरिचित थिएन। उनको हठका अगाडि आर्मी बाबुको पनि केही लागेन। अमृतका बुवा पूर्व सेना हुन्।

अनि,

२०५७ सालमा प्रकाश गुरुङ, ईश्वर अमात्य अनि अरु गुरुहरुसँग संगीत सिक्न थाले।

२०५९ सालमा अझ धेरै सिक्ने चाहसहित मुम्बई हानिए।

२०६१ उनको सपनाले पूर्णता पायो र बजारमा ‘अराइभल’ एल्बम सार्वजनिक भयो। मैले हेर्ने एउटा तारा, त्यो दिन आएन जोगी’ लगायतका गीत सुपर हिट भए। १२ वटा गीत भिडियोसहित गर्नलाई झण्डै ७ लाख खर्च भयो त्यो बेला।
२०६२, ६३ मा दोस्रो एल्बम सार्वजनिक भयो।

त्यसपछि उनी नेपालमा नै बस्ने भए। आफूले सिकेको कुरा अरुलाई सिकाउने भए। ‘बागबजारमा एउटा कोठा थियो, त्यहाँ साथी-साथी संगीत सिक्थ्यौ अनि कोठा खाली भएको बेलामा सिकाउने गर्थौँ पनि’, अमृत भन्छन्, ‘पछि म अनामनगर सरेँ, त्यही प्राइभेट कक्षा राखेँ। संगीतको कक्षा दिने काम यसरी नै सुरु भयो।’

अनौपचारिक त्यो कक्षालाई औपचारिकता दिन उनलाई केही वर्ष लाग्यो। प्राइभेट कक्षा, विद्यालयमा बालबालिकालाई संगीत सिकाउँदा सिकाउँदै उनले औपचारिक संस्था नै खोल्ने सपना देखे। सपनाको त्यो संस्था संगीत सिक्न चाहने सबैका लागि खुल्ला राख्ने चाहना थियो उनको। विद्यालय अथवा अन्य संस्थामा व्यवहारिक संगीतको करिकुलम छैन। आफ्नो भोगाई अनि यहाँको व्यवस्था बुझेपछि म यसमा काम गर्न सक्छु भन्ने आँट आयो। र २०६७ सालमा उनले सुरशाला म्यूजिक एकेडेमी कुपनडोलमा खोले। अहिले झम्सिखेलमा सरेको संस्था नौ वर्षको भयो।

उनले नियालेको नयाँ युवाको संगीत सँस्कृति


संगीत भनेपछि मज्जाले गीत गाउँन आउनु मात्रै हो भन्ने सोचाई छ यहाँ। त्यो पनि एक साता, महिना दिन भित्रमा। तर संगीतमा डुबेर महशुस गरेर यसलाई बुझ्नलाई लाग्ने समय अहिलेको युवा पुस्ताले दिन नसकेको उनको अनुभव छ। पैसा लगानी गर्न सक्छन् तर समय छैन।

त्यसैले जति चाख र जोश सहित यो क्षेत्रमा हामफाल्छन्, त्यति नै चाँडै निराश हुन्छन्। यो भित्रको विभिन्न आयामहरुलाई युवापुस्ताले बुझ्न चाहेको छैनन्, तर बुझ्नै पर्छ।

अमृत भन्छन्, ‘यहाँ धैर्यता सबैभन्दा महत्वपूर्ण कुरा हो। क्षणभरको वाहवाहीका लागि पछि लाग्दा पेट पाल्ने शक्ति पनि गुमेर जान्छ। त्यसैले महशुस गर्न सक्नु पर्छ।’ हुन त उनी पनि उमेरले पाको भएका त होइनन्, युवा भनेर उनले आफू पछिको पुस्तालाई भन्दै थिए ।

दुःखका केही मीठा सम्झना ‘बगलीमा पैसा थियो तर बस्ने बास पाइएन।’

घमण्ड र जिद्दीपनले आफूसँगै नाफा अनि घाटा बोेकेर ल्याएका हुन्छन्। परिवारमा सांगीतिक क्षेत्रमा कोही थिएनन्। आफैले बाटो छिचोल्न उनलाई सहज हुने कुरा नै थिएन। ‘बा आमालाई संगीत क्षेत्रमा लाग्यो भने जोगी हुन्छ र पागल हुन्छ भन्ने थियो’, अमृतलाई एक एक किस्साहरु याद छन्, ‘बुवाआमासँग टाढा भए अनि पैसा कमाउन सकिन। हाम्रो छिट्टै आउटपुट खोज्ने बानी छ, त्यसैले अब विदेश जाउ भन्न थाले। भाइ भतिजले पैसा कमाएको प्रसंग बारबार उठ्न थाले। ‘जग्गा किनेनौ, तिम्रो घर खोइ!’ लगायतका समस्यासँग म अहिलेसम्म पनि जुधिनै रहेको छु। सम्पत्ति भन्दा सन्तुष्टि खोजिरहेको थिए म।’

उनी सानोमा बाँसुरी बनाउँथे, सारंगी पनि बनाउन खोजेको हो । सातओटामा तेस्रो पटक बनाएको सारंगी बज्दा उनलाई धेरै खुशी लागेको थियो। मादल, तबला, गितार अनि हारमोनियमसँग उनको साइनो पहिलादेखि नै छ। एकदमै गाढा थिए। घरमा बासुरी बजाउन नदिने, बाहिर गएर बजाउँदा आमा रोएकी थिइन् अब छोरा बासुरी बजाउने हुने भयो। आमाले टुक्का गाउने गर्थिन् तर छोराले यो पेशा नै बनाउला भन्ने कसैले पनि सोचेनन्।

२०५९ मा जब उनी भारतमा संगीत पढ्नको लागि गए तब जीवनको अनेक ज्ञान सिक्न पाए। ‘मुम्बईमा संगीत सिक्न जाँदा परिवारलाई मनाउन ट्रिक लगाएँ’, उनलाई थाहा थियो, ‘काठमाडौँमा संगीत सिक्न नदिने मलाई भारतमा पठाउछन् त !’ गाउँमा भिनाजु पर्ने थिए, उनको आड लगाएर उनी मुम्बई हानिए।

मुम्बईमा बस्नलाई समस्या थियो। साथ लगाएर हिँडेका भिनाजुले एक छाक खान खानदिए, त्यसपछि अफिसमा बस्न मिल्ने व्यवस्था थिएन। ‘अब कहाँ जाने?’ अमृत गोजी देखाउँदै भन्छन्, ‘एकापट्टी आइसी पैसा थियो, अर्कोपट्टी नेपाली तर बास पाइएन।’

‘एक जना धोबिनी दिदीलाई मेरो माया लागेछ। समोसा खाँदै गर्दा भेटिएकी थिइन्, उनले आफ्नो घर लैजान्छु भनिन्। सानो छाप्रो रहेछ, ठूलो परिवार। उनको घरको छतमा पिपलको बोट थियो, त्यसको रुख मुनि कपडा बिच्छाएर यहाँ सुत् भनिन्। म झसङ्ग भएँ, अरु उपाए केही थिएन। १४ दिन यसै गरि बित्यो।’

रोटी राम्रोसँग खुवाएकी धोबिनीप्रति उनी कृतज्ञ छन्। पहिला ‘मै लेके जाएगी’ अनि ‘बेटा यही सो जानेका’ भन्नु उनको लागि त्यो बिरानो शहरमा आत्मिय लवज थियो। ठाउँ रुखको फेद भए पनि त्यो उनको घर थियो।

रुखमुनि सुतेको १५ दिनमा उनको बाबाले थाहा पाए, त्यसपछि अवस्था फेरियो। तीन महिनासम्म घरी मन्दिर घरी साथीकोमा सुत्ने बानी फेरियो। दिनभरि जोगर्सपार्क, ह्याङगिङग गार्डेन।’ समोसा खाने, बाहिर हिँड्ने। त्यसपछि कुनै नेपाली परिवार बसेको कोठा छोडेर जाँदै थिए, तर कन्ट्याक्ट सक्किएको थिएन। अमृतको लागि त्यो उपहार जस्तो भयो।

आफ्नो सिकाईको समयलाई उनले धेरै असजिलो छिचोलेर पूरा गरेका हुन्। राजा पृथ्वीनायाण शाहको भनाई ‘मेरो सानो दुःखले आज्र्याको मुलुक होइन’ जस्तै छ उनको संगीतसँगको सम्बन्ध। उनले यसैलाई आफ्नो सम्पत्ति मानेका छन्।

अहिले,


केही समय अगाडि अमृतले सिंगल ट्रयाक निकाले ‘मगमग’ । अहिले नयाँ गीतको तयारीमा छन्। बिहान ६ बजे उठेर उनी केही समय रियाज गर्छन्, त्यसपछि संगीत सिक्न आएका विद्यार्थीहरुलाई सिकाउन थाल्छन्।

बिहान १० बजे सुरशाला म्यूजिक एकेडेमीको भवन भरिभराउ छ। बालबालिकाहरु खानाको प्लेट समाएर बसिरहेका छन्। मुख्य ढोकाको आडैमा भएको रिसेप्सन, दायाँपट्टीको पियानो कोठा अनि गितारको कक्षा अनि बाँया पट्टीको नृत्य गर्ने कोठा सबैमा ८ देखि १३ वर्षका बालबालिका छन्। अनि उनीहरुलाई सिकाउने गुरु पनि। यो संगीतको पाठशालामा लय, एउटा सुर, एउटा ताल अथवा एउटा कर्डबाट ट्वाङ आवाज निकाल्न सिक्नु छ उनीहरुलाई। अमृत भने स्वरको ज्ञानमात्र सिकाउँछन्। कोठामा बिचमा बसेर हारमोनियमसँगै बेसुरमा सुर मिलाउने अभ्यास गराउँछन्।

उनले समर म्यूजिक क्याम्प खोलेका छन्, जसमा ६५ बालबालिका हरेक दिन संगीत सिक्न आउँछन्। उनीहरुलाई सम्हाल्ने १२ जना छन्।

‘बालबालिकाको दिमाग सादा कागज हो, सानो प्रयत्नमा पनि लपक्क आकृति बस्छ। सानैमा संगीत सिकाउन सक्यो भने पछि राम्रो संगीतको ज्ञान हुन्छ। जो सँग ज्ञान हुन्छ, उसले जे पनि गर्न सक्छ।’

उनको यही अभियान चलिरहेको छ।

प्रेम परियार, आयुष केसी र प्रितम आचार्य


सुरशाला म्यूजिक एकेडेमीले स्थापना भएदेखि धेरै जना विद्यार्थीलाई संगीत सम्बन्धी ज्ञान दिएको छ । बाल गायक प्रेम परियारका गुरु अमृत क्षेत्री हुन्। यस्तै भारतमा अहिले भइरहेको सारेगमप लिटल न्याम्प्समा नेपालबाट दुई बालक सहभागी छन्। आयुष केसी र प्रितम आचार्य सुरशाला म्यूजिक एकेडेमीले आयोजना गरेको रियालिटि शो, पतञ्जली सुरशाला जुनियर आइडलका विजेता हुन्। २०७२ सालमा कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको सुरशाला जुनियर आइडलमा देशभरका १५ सय बालबालिकाबाट आयुष प्रथम अनि प्रितम द्वितीय भएका थिए। अहिले सारेगमपमा टप १३ सम्म पुगिसकेका छन्।

‘यो प्रतियोगितामा छानिएका बालबालिकामा संगीतको चाह एकदमै थियो। तर विजेता त एउटा मात्र हुन्छन्’, अमृत भन्छन्, ‘यी बालकहरुले सानैबाट सिके तब संगीतलाई बुझे। अब अगाडि जीवनमा उनीहरुले यही क्षेत्रमा आफूलाई भिजाउन सक्छन्।’

आफ्नो छत्रछायाबाट अगाडि बढेकाहरुलाई देखेर उनी दंग छन्। अझ धेरैलाई अगाडि बढेको हेर्नुछ।

हुन त यात्रा जीवन हो र त्यो सास रहन्जेल सम्म हुन्छ। बिहानैबाट साँझसम्म संगीतलाई सिक्न खोज्नेलाई सिकाउनु, बैठक कार्यक्रममा सहभागी हुन्नु उनको दैनिकी हो। यसले छोरी पढाउन, खुवाउन अनि श्रीमान् श्रीमती पालिन पुगेको छ। नाम पनि छ।

उनलाई यत्तिले पुगेको चाँही छैन, महिलाका लागि नयाँ सांगीतिक प्रोजेक्ट सुरु गर्न चाहन्छन्। अरु अरु कुरा पनि दिमागमा खेलिरहन्छ।
संगीतको क्षेत्रमा धेरै काम गर्ने लोभ पलाउँछ।

उनी भन्छन्, ‘म सँग भएको संगीत नै मेरो सम्पत्ति हो। सम्पत्ति हुनु भनेको खुशी हुनु हो र खुशी जति बाड्यो त्यति बढ्छ।’

तस्बिर : सुलभ श्रेष्ठ

बैशाख ७, २०७६ मा प्रकाशित