बुटवल– तत्कालीन अंग्रेजलाई दुईसय वर्षअघि पराजित गरेको खुशीयालीमा बुटवलमा जितगढी विजय उत्सव दिवस मनाइएको छ। सम्पदा स्थल किल्ला परिसरमा दिवसको विशेष कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो।

वि.सं. १८७२ वैशाख ७ गते कर्णेल उजिरसिंह थापाको नेतृत्वको नेपाली सेनाले तत्कालिन अंग्रेज सेनालाई पराजित गरेको खुशीयालीमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल, प्रदेश ५ प्रमुख उमाकान्त झा, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, नेकपा महासचिव विष्णु पौडेल, कांग्रेस सचेतक बालकृष्ण खाँणको उपस्थितिमा दिवस मनाइयो ।

सोही अवसरमा जितगढी किल्ला परिसरमा निर्माण गरिएको कर्णेल उजिरसिंह थापाको पूर्णकदको शालिक प्रधानमन्त्री ओलीले अनावरण गरे भने शालिकको छेउमा रहेको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरे। सोही अवसरमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो।

बुटवल उपमहानगरपालिका वडा नं. १ तिनाउ नदी किनारमा रहेको किल्ला परिसरमा नेपाली सेनाकै परिकल्पनामा आधारित जितगढी सराय नाँच पनि देखाइएको थियो। कार्यक्रमअघि बुटवल उपमहानगरपालिका परिसरबाट विभिन्न झाँकीसहितको र्‍याली बुटवल बजार परिक्रमा गरी जितगढी किल्ला परिसरमा पुगेको थियो।

बुटवलगढी कब्जा गरी पाल्पा हान्ने र तिव्बतसम्म पुग्ने उद्देश्यकासाथ अंग्रेज गर्भनर लर्ड हेस्टिङको निर्देशनमा, मेजर जर्नल सुलीभान उड र कमाण्डर क्रोकरको नेतृत्वको आधुनिक हतियारले सुसज्जित अंग्रेज फौजसँगको युद्धमा कर्णेल उजिरसिंह थापाको नेतृत्व रहेकाले किल्लालाई पर्यटकीय स्थलको रुपमा संरक्षण र विकास गर्ने उद्देश्य लिएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए।

जितगढी उत्सवका अवसरका झलकहरु:

 

तस्बिरहरु: सी.पी. खनाल/देश सञ्चार। 

 

बैशाख ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्