क्रिकेट खेलाडीलाई मायाको चिनो ‘कप्तान १९९८’

नेपालगञ्ज– कोहलपुरमा क्रिकेट खेल्न आएका खेलाडीलाई नेपाली क्रिकेट टीमका पूर्वकप्तान एलबी क्षेत्रीको आत्मकथा ‘कप्तान १९९८’ मायाको चिनो स्वरुप प्रदान गरिएकाे छ।

क्रिकेट खेलाडीको बारेमा पहिलो पटक प्रकाशित भएको क्षेत्रीको आत्मकथालाई कोहलपुर नगरपालिकाले खेलाडी समक्ष पुर्‍याएको हो। कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले मैदानमै पुगेर खेलाडीलाई मायाको चिनो स्वरुप क्षेत्रीको आत्मकथा ‘कप्तान १९९८’ दिएका हुन्।

नेपाली क्रिकेट टीमका पहिलो पुस्ताका खेलाडी एवं दोस्रो कप्तान क्षेत्री कोहलपुर निवासी हुन्। कोहलपुरमै भइरहेकाे आठौँ राष्ट्रिय खेलकुद प्रतियाेगिता अन्तर्गत  पुरुष क्रिकेट प्रतियाेगितामा कोहलपुर नगरपालिकाले किताबको स्वामित्व लिदै खेलाडीलाई उपहार दिएको हो। अहिले आठौँ राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता भइरहेको कोहलपुरको अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गरेको जस पनि पूर्वकप्तान क्षेत्रीलाई नै जान्छ।

क्षेत्री क्यानको केन्द्रीय सदस्य एवं क्षेत्र नं. ५ को अध्यक्ष हुँदा कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि पहल गर्दै चार विगाह १८ कठ्ठा १८ धुर जग्गा छुट्याउन लगाएका थिए। नगर विकास समितिको त्यही जग्गामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनेको छ। यतिमात्रै होइन, महिला क्रिकेटको सुरुवातको श्रेय पनि क्षेत्रीलाई नै जान्छ। उनी नेतृत्वमा रहँदा बाँकेबाट महिला क्रिकेटको सुरुवात भएको थियो। त्यही पहिलो पुस्ताका नेरी थापा र सीता रानामगरले अहिले पनि राष्ट्रिय टोलीमा प्रतिनिधित्व गरिरहेका छन्। अहिले सीता नेपाली महिला क्रिकेट टीमकी उपकप्तान छन्। क्षेत्रीले भारतमा क्रिकेट सिकेर ए डिभिजनसम्म खेलेका थिए।

भारतमा क्रिकेट खेल्दादेखि नेपाली क्रिकेट, कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदान, महिला क्रिकेट, क्यानको राजनीति र क्रिकेट कुटनीतिलगायतका विषयलाई क्षेत्रीले पुस्तकमा समेटेका छन्। क्यानको विवाद मिलाउन आईसीसीले गठन गरेको पाँच सदस्यीय स्वतन्त्र समूहमा नेपाल सरकारको प्रतिनिधि रहेका क्षेत्रीको आत्मकथा ‘कप्तान १९९८’ ले कोहलपुरलाई चिनाउन महत्वपूर्ण योगदान गरेको भन्दै मेयर रावतले शनिबार अपरान्हको खेलमा सहभागी भएका २ र ३ नम्बर प्रदेशका खेलाडीलाई मायाको चिनोको रुपमा पुस्तक दिएका हुन्।

कोहलपुरमा पुरुष क्रिकेटको फाइनल खेल हुनेछ। दुईवटा पुलमध्ये अहिले एउटा पुलको मात्रै कोहलपुरमा प्रतिस्पर्धा भइरहेको छ। सेमिफाइनल र फाइनल कोहलपुरमा हुनेछ। मेयर रावतले कोहलपुरमा आउने सबै खेलाडीलाई कप्तान १९९८ मायाको चिनोको रुपमा दिइने बताए।

बैशाख ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्