वसन्तका अगाडि छोरी मेघाको अठोट, ‘नर्भिकको दाएरा बढाउनु छ’

काठमाडौँ– ‘२६ वर्ष पहिले मेरा पिता वशन्त चौधरीले उत्कृष्ट अभिलासा लिएर सुरु गरेको एउटा सानो नर्सिङ होम आज स्वास्थ्य क्षेत्रकै उत्कृष्ट अस्पतालमा पर्न थालेको छ।’ काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालले शनिबार २६ औं वार्षिकोत्सव मनायो। त्यो क्षण नर्भिककी प्रवन्ध निर्देशक मेधा चौधरीले स्थापनाका दिन सम्झिन्।

मेघालाई राम्रोसँग थाहा छ अस्पतालमा अझै गर्नु धेरै छ। नयाँ प्रविधीलाई अँगाल्दै, चिकित्सा क्षेत्रका पूर्वाधारहरु थप्दै अस्पतालले सेवाका दाएराहरु बढाउनु पर्ने छ । मेघाले अस्पतालका नयाँ योजना सुनाई रहँदा नजिकै रहेका बुवा वशन्त ताली बजाइरहेका थिए।

अस्पतालका अध्यक्ष समेत रहेका वशन्त चौधरीले पहिले छोरीले भनेका कुरा सुनिरहे, अनि पछि त्यसैमा थपे, ‘मैले अस्पताल सुरु गर्दा २५ शैयाबाट सुरु गरेको थिएँ, अहिले १ सय ५० शैया उपलब्ध छन्। जम्मा ५० जना कर्मचारीहरुले काम गर्दै गरेको क्षण कति छिटो परिवर्तन भएछ। अहिले ९०० कर्मचारी पुगिसके छन्। तर शैया, कर्मचारी परिवर्तन भए पनि हाम्रो सेवा भने कहिल्यै पनि परिवर्तन भएको छैन्।’

अस्पतालको सेवा झनझनै राम्रो बन्दै गएको उनको दाबी थियो। ‘अहिले विरामीको चाप धेरै भएर केही असजिलो भएता पनि बन्दै गरेको नयाँ भवनको काम सकिने बित्तिकै २ सय शैया थपिने छन्, जसले यो समस्या समाधान गर्ने छ’, चौधरीले भने।

वार्षिकोत्सवमा बोल्दै गर्दा उनले आफ्नो विगतलाई भुलेनन् । आफ्ना बुवा–आमालाई सम्झे। बुवा–माले दिएको संस्कार र हिम्मतका कारण आफूले स्वास्थ्य सेवामा अगाडि बढ्न सकेको उनको भनाई थियो।

उनको भाषामा वार्षिकोत्सव भनेको आफूले गरेका राम्रा अनि नराम्रा दुबै कुरा सम्झिनु पर्ने दिन हो। यहि अवसरमा आफूलाई लामो समयदेखि साथ दिने चिकित्सकहरुलाई धन्यवाद दिँदै भने, ‘आज हामी जहाँ छौं, तपाईहरुका कारण छौँ । नर्भीकमा विरामीको भीड बढेको कारण तपाईहरुको सेवा नै हो।’

अब बिरामी हुने बित्तिकै उपचारका लागि विदेश जानु पर्ने अवस्था नभएको बताउँदै चौधरीले अत्याधुनीक सेवा नर्भिकमै रहेको दाबी गरे।

२६ औँ वार्षिकोत्सवको अवसरमा अस्पतालले ब्लड बैंकको स्थापना समेत गरेको छ। अस्पतालमा ब्लड बैंकको स्थापना भएसँगै अब बिरामीका लागि रगत खोज्न बाहिर जानु पर्ने वाध्यताको अन्त्य हुने अस्पतालको विश्वास छ।

बैशाख ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्