आउँदो वर्ष सांसदलाई पैसा बाड्ने तयारी, प्रतिपक्षको ग्रीन सिग्‍नल

पोखरा- आगामी आर्थिक वर्षको बजेटमा गण्डकी प्रदेश सरकारले सांसदहरुका लागि छुटै बजेट व्यवस्था गर्ने तयारी गरिएको छ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार प्रदेश सभामा सम्बोधन गर्ने क्रममा सांसदहरुको निर्वाचन क्षेत्रका लागि रकम विनियोजन गरिने बताएका हुन्।

कति रकम छुट्याइने यकिन नगरिएको भएपनि संघीय सांसदहरुको भन्दा ५० प्रतिशत कम भन्ने धारणाले कम्तिमा २ करोड रुपैयाँ विनियोजन गर्ने खाका कोरिएको हुनसक्ने अनुमान छ।

चालु आर्थिक वर्षको बजेट कार्यक्रम आउनु अगावै सत्ता एवं प्रतिपक्षका सांसदहरुले निर्वाचन क्षेत्र पूर्वाधार विकासका लागि भन्दै रकम माग गरेको भएपनि सम्बोधन भएको थिएन।

आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सांसदहरुको काम नीति बनाउने भन्दै जवाफ फर्काएपछि सांसद निरास थिए।

रकम नदिएपनि ‘एक निर्वाचन क्षेत्र, एक सडक’ योजना अन्तर्गत ३६ वटा सडकलाई प्रति सडक २ करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

‘सांसदहरुको पहिल्यैदेखिको माग पनि हो,’ मुख्यमन्त्री गुरुङले भने, ‘सबै प्रदेशले दिने हामीले नदिँदा सांसदहरुको गुनासो थियो।सांसदसँग जनताको गुनासो पनि धेरै हुन्छ। सानातिना समस्या टार्न भएपनि बजेट दिनुपर्ने अवस्था छ।’

अन्य प्रदेशको भन्दा सेवासुविधामा सांसदहरुलाई थोरै नै भएकोले पनि असन्तुष्टि बढेको भन्दै मुख्यमन्त्रीले गुनासो सम्बोधन गर्न यस्तो कार्यक्रम ल्याउन लागिएको बताए। सही किसिमले प्रभावकारी ढंगले खर्च गरे सांसदहरु आलोचित हुन नपर्ने समेत उनले सुनाए।

रकम खर्च गर्नेबारे कुनै कानुन भने प्रदेशले बनाइसकेको छैन्।मुख्यमन्त्री गुरुङले कार्यविधि बनाएर प्रत्यक्ष र समानुपातिक सांसदलाई रकम दिने गरी कार्यक्रम ल्याइने जनाए। निर्वाचन पूर्वाधार विकास कोष मार्फत सो रकम सांसदले खर्च गर्न पाउने उनले स्पष्ट पारे।

सरकारको सो योजनालाई प्रतिपक्षले समेत स्वागत गरेको छ। प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले संघ र अन्य प्रदेशले निर्वाचन पूर्वाधार विकास रकम दिइरहेको सन्दर्भमा गण्डकीमा पनि सो योजना आउनु सुखद् भएको प्रतिक्रिया दिए। ‘हामीले त पोहोरदेखि नै माग गरेका थियौं,’ उनले भने।

बैशाख ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्