म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ । अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनबाट चार गोल खायो तर एक गोल पनि फर्काउन सकेन ।

एभर्टनको जितमा रिचार्लिसन, गुल्फी सिगुडर्सन, लुकास डिग्न र थियो वालकोटले गोल गरे । पहिलो हाफमा दुई गोल खाएको म्यानचेस्टर युनाइटेडले दोस्रो हाफमा थप दुई गोल खायो ।

उसका लागि १३ औँ मिनेटमा रिचार्लिसन र २८ औँ मिनेटमा सिगुडर्सनले गोल गरे । यस्तै ५६ औँ मिनेटमा डिग्न र ६४ औँ मिनेटमा वालकोटले गोल गरेका हुन् ।

हारपछि म्यानचेस्टर युनाइटेडको शीर्ष चारमा पर्ने सम्भावना कम भएको छ, यसको अर्थ आउँदो सिजन च्याम्पियन्स लिग फुटबलका लागि छनौट हुने सम्भावना कम भएको छ ।

हार बेहोरेको युनाइटेड छैटौँ स्थानमा छ र उसको ३४ खेलबाट ६४ अंक छ । सातौँ स्थानको एभर्टनको ३५ खेलबाट ४९ अंक भएको छ ।

आइतबार राति नै भएको खेलमा क्रिष्टल प्यालेससँग ३–२ ले पराजित भएको आर्सनल ३४ खेलबाट ६६ अंकसहित चौथो स्थानमा छ ।

बैशाख ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्