नरेन्द्र मोदी विरुद्ध वाराणसीबाट चुनाव लड्न प्रियंका गान्धी तयार

भारतमा अहिले चुनावी माहोल छ । लोकसभा चुनावको दुई चरणको मतदान भइसकेको छ । सात चरणमा सम्पन्न हुने चुनाव अन्तर्गत अहिले तेस्रो चरणका लागि प्रचारप्रशासर तीव्र छ ।

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदी वाराणसीबाट उम्मेदवार बनेका छन् । यो सिटमा कांग्रेसबाट को उम्मेदवार बन्ने छ भन्ने तय भएको छैन ।

तर कांग्रेस महासचिव प्रियंका गान्धीले आफूलाई वाराणसीबाट चुनाव लड्न कुनै समस्या नरहेको बताएकी छन् ।

केरलाको वायनाडमा पार्टी अध्यक्ष तथा आफ्ना दाइ राहुल गान्धीका लागि चुनाव प्रचारमा रहेकी प्रियंका गान्धीले भनेकी छन्, ‘यदी कांग्रेस अध्यक्ष राहुल गान्धीले मसँग वाराणसीबाट चुनाव लड्न भन्नुहुन्छ भने म खुशीसाथ त्यहाँबाट चुनावी मैदानमा उत्रिने छु ।’

उनले अघि भनेकी छन्, ‘चुनाव निकै महत्वपूर्ण हुन्छ किनकी यसले देशको भाग्यको फैसला गर्छ । देशको लोकतन्त्र बलियो बनाउँदै नयाँ भारतका लागि मतदाताले आफ्नो मत दिनु पर्छ ।’

बैशाख ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्