श्रीलंकामा शृङ्खलाबद्ध आक्रमण

ज्यान गुमाउनेको संख्या २९० पुग्यो, २४ जना पक्राउ

श्रीलंकाको राजधानी कोलम्बिोसहितका क्षेत्रमा रहेका चर्च तथा होटललाई लक्षित गरिए भएका शृङ्खलाबद्ध बिस्फोटमा परि ज्यान गुमाउनेको संख्या २९० पुगेको छ । घटनामा ५०० सय जनाभन्दा बढि घाइते छन् । ज्यान गुमाउनेको संख्या बढ्न सक्ने जनाइएको छ ।

अहिलेसम्म प्रहरीले कोलम्बो र देशका विभिन्न क्षेत्रबाट घटनामा संलग्न भएको आशंकामा २४ जनालाई पक्राउ गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । अहिलेसम्म आक्रमणको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन ।

आइतबार इस्टरको मौका थियो, त्यहि दिन पारेर आक्रमणकारीले चर्च तथा सुविधा सम्पन्न होटलहरुमा आक्रमण गरेका हुन् । १० वर्षअघि गृहयुद्ध अन्त्य भएको श्रीलंकामा त्यसयता भएको यो सबैभन्दा गम्भीर र भयानक आक्रमण हो ।

घटनामा ज्यान गुमाउने अधिकांश श्रीलंकाका नागरिक छन् । यस्तै झण्डै ३० जना विदेशी रहेको पनि सरकारी अधिकारीले बताएका छन् ।

आक्रमणपछि सरकारले कोलम्बोसहित देशभर कर्फ्यु लगाएको छ । यस्तै फेसबुकसहितका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ । यस्तै म्यासेन्जर तथा ह्वाट्सएपसहितका म्यासेजिङ्ग साइटमा पनि प्रतिबन्ध लागेको छ ।

२२ मिलियन जनसंख्या रहेको श्रीलंकामा ७० प्रतिशत भन्दा बढि बुद्धिस्ट छन् । १२.६ प्रतिशत हिन्दु तथा ९.७ प्रतिशत मुस्लिम र ७.६ प्रतिशत जनसंख्या इसाइ धर्म मान्ने छन् श्रीलंकामा सन् २०१२ को जनगणना अनुसार ।

आक्रमणमा संलग्न भएको आरोपमा अहिलेसम्म कम्तिमा ८ जना पक्राउ परेका छन् । घटनाको विश्वव्यापी रुपमा निन्दा भएको छ ।

तस्बिरहरु : एएफी तथा गेट्टी इमेज

बैशाख ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्