बारा र पर्सामा भएको आगलागीबाट १६ लाखको क्षति

वीरगञ्ज- बाराको निजगढ नगरपालिकामा आइतबार राति भएको आगलागीमा १५ लाख बराबरको क्षति भएको छ। निजगढ नगरपालिका–१० मा घरगोठमा भएको आगलागीबाट उक्त मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो।

आगलागीमा परी कालु मोक्तानको घरगोठ र नगद गरगहना लगायत खाद्यान्न जलेर नष्ट भएको छ। यस्तै सोही ठाउँका श्यामलाल बम्जनको गोठमा आगलागी हुँदा तीनवटा भैसी र १५ वटा बाख्रा जलेर मरेका छन्। यस्तै आगलागीबाट कृष्णबहादुर बम्जनका २५ वटा बाख्रा मरेका छन्।

आईतबार राति १० बजे भएकाे आगलागी चार वटा दमकल सहित सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

यसैगरी आईतबार राती नै वीरगञ्जमा भएको आगलागिमा परि एकजना घाइते भएका छन् भने, १ लाख २५ हजार बराबरको क्षति भएको छ। वीरगञ्ज महानगरपालिका–१५ ब्रम्हचोकमा दिपेन्द्र साहले भाडामा लिई सञ्चालन गर्दै आएको मोटरसाईकल वर्कसपमा आगलागि भएको प्रहरीले जनाएको छ।

खाना पकाउने क्रममा सिलिन्डरबाट ग्यास लिक भई आगो लाग्दा वर्कसपमा राखिएको ना १० प २१९० नम्बरको मोटरसाईकल समेत जलेर नष्ट भएको छ।

आगो निभाउने क्रममा वर्कसपमा काम गर्ने भारत घर भएका १५ वर्षीय गौरी शंकर घाइते भएका छन्। उनको वीरगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको पर्सा प्रहरीले जनाएको छ।

बैशाख ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्