महिला मृत्‍यु प्रकरण

मोरङको पथरीबजार तनावग्रस्त, स्थानीयद्वारा पूर्व–पश्चिम राजमार्ग ठप्प

मोरङ-मोरङको पथरी शनिश्चरेमा गत शनिबार मृत अवस्थामा भेटिएकी रिना बस्नेतको रहस्यमय मृत्यु प्रकरणलाई प्रहरी प्रशासनले सुल्झाउन नसकेको भन्दै स्थानीयले प्रदर्शन गरेका छन्।

सोमबार २९ वर्षिया मृतकका आफन्त, स्थानीय तथा व्यवसायीको आन्दोलनका कारण पथरीबजार तनावग्रस्त बनेको छ। हत्या भएको तीन दिन बितिसक्दा समेत प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै प्रर्दशनकारीहरु पूर्वपश्चिम राजमार्ग अवरोध गर्दै आन्दोनलमा उत्रिएका हुन्। उनीहरुले तत्काल सत्यतथ्य पत्ता लगाई घटनामा संलग्नलाई पक्राउ गरेर कारबाही अघि बढाउन माग गरेका छन्।

आन्दोलनमा उत्रिएका स्थानीयले पूर्व-पश्चिम राजमार्ग ठप्प पारेका छन्। मध्यान्ह १२ बजेबाट राजमार्गमा टायर बालेर प्रदर्शन सुरु गरिए पनि त्यसलाई नियन्त्रणमा लिन र राजमार्ग सुचारु गर्न प्रहरीले सकिरहेको छैन।

आन्दोलनकारी र प्रहरीबीच सामान्य झडप समेत भएको छ। अवस्था थप तनावपूर्ण हुने देखिएपछि ठाउँठाउँबाट प्रहरी परिचालन गरिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए।

केसीले भने,‘आफन्त र स्थानीय बासिन्दाले हत्या भएको भनेर दावी गरिरहेका छन्। तथापी हामी अनुसन्धानमा रहेका छौँ। अन्तिम कुरा नआउन्जेल केही भनिहाल्ने अवस्था छैन। पोस्टमार्टम रिपोर्ट प्राप्त हुन साथ सबै कुरा प्रष्ट हुन्छ।’

घटनाको अनुसन्धान थालेको प्रहरीले मृतकले प्रयोग गर्ने मोबाइलको पनि अनुसन्धान सुरु गरेको छ। प्रहरीले तीन तलामाथिबाट खसेका कारण मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताउँदै आएको छ।

घटना भएकै दिन शव धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि लगिएपनि हालसम्म त्यसको रिर्पोट आइसकेको छैन। बस्नेतको मृत्युको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान जारी रहेको बताइरहँदा स्थानीयले भने बस्नेतको हत्या भएको बताउँदै आएका छन्।’

मृतक बस्नेतका श्रीमान् रोजगारीका क्रममा विदेशमा छन्। पथरी शनिश्चरेमै कस्मेटिक पसल सञ्चालन गर्दै आएकी बस्नेत १४ वर्षीय छोरासँगै डेरामा बस्थिन्। गत शुक्रबार साँझ छिमेकीको नानीको जन्मदिन मनाउन गएपछि छोरासँगै उनी पथरीमा आयोजित सांगीतिक कार्यक्रम हेर्न पुगेको बताइएको छ।

सोही क्रममा राति फर्किएपछि कोठामा मदिरा सेवन गरेको प्रहरीको भनाइ छ। प्रहरीले उनको कोठाबाट वियरका बोतलसमेत फेला पारेको थियो।

बैशाख ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू