आफ्नो  सन्तानसँग देवी मेचे। तस्बिर:उमाकान्त खनाल/देश सञ्‍चार
देवी मेचे अबदेखि आफ्नै घरमा

‘पहिला कोही थिएन, अहिले अभिभावक पाएकी छु’

धुलावारी– मेचीनगर नगरपालिका–१० की देवी मेचे सोमबारदेखि आफ्नै घरमा सरेकी छन्। सहयोगीहरुबाट संकलित रकमबाट उनका लागि देवी मेचे सहयोग समितिले निर्माण गरेको घर एक कार्यक्रमकाबीच सोमबार बिहान नेपाली कांग्रेसका प्रवक्ता  विश्वप्रकाश शर्माले हस्तान्तरण गरेका हुन्।

आर्थिक अवस्था कमजोर भएको परिवारमा जन्मिएकी उनले न त स्कुलको अनुभव गर्न पाइन् न आमाबुवाको संरक्षण नै। ९ बर्षको हुँदा आमा लक्ष्मी मेचेले यो संसारबाट सदाको लागि बिदा लिइन् त्यसपछि उनी बेसाहरा जस्तै बनेकी थिइन्।

मेचीनगर— ७ जोरसिमलमा जन्मिएकी देवी मेचेले बुवा अञ्जीत मेचेलाई देख्न समेत पाइनन्। आर्थिक अवस्था कमजोर भएकै कारण कोइलाखानीमा कमाउन गएका बुवा अञ्जीत मेचे हालसम्म फर्केर नआएको उनले बताइन्।

देवी मेचेलाई हस्तान्तरण गरिएको घर। तस्बिर:उमाकान्त खनाल/देश सञ्‍चार

आमाको निधनपछि उनलाई मामा बिष्णु मेचेले संरक्षण दिएका थिए। उनी करीव ४ बर्ष मामा घरमा बसिन् त्यसपछि पुनः आफ्नै दाजु भाउजुकोमा पुगिन्। दाजु भाउजुको संरक्षणमा बसेपनि व्यापारी धन गिरीको घरमा काम गर्न थालिन्। कामगर्ने क्रममा लुगा धोएर सुकाउन खोज्दा उनको जिवनको सबै खुसी खोसियो।

लुगा धोएर सुकाउने क्रममा बिजुलीको तारमा लुगाले छोएपछि उनलाई करेन्टले सडकमा पछारेको थियो। त्यसपछि उनी शारीरिक रुपमा अशक्त मात्र बनिनन्, उनी बेसहारा समेत बनिन्।

स्थानीय कृष्ण घिमिरेसंग विवाह भएपनि दोस्रो सन्तान भए लगत्तै उनको मृत्यु भएको थियो।

जब उनको काहालीलाग्दो अवस्था नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले थाहा पाए, उनले छोराको जन्मदिनका अवसर पारेर मेचेको घर बनाउन ७ धुर जग्गा किनिदिए।

विजय डालमिया, पत्रकार मुक्ति पौडेल लगायतले देबी मेचेलाई सहयोग गर्न विभिन्न संघ संस्था र सहयोगी हातहरुसँग निरन्तर छलफल गरेर विजय डालमियाको संयोजकत्वमा सहयोग समिति गठन गरेर उनको खुशीको लागि घर निर्माण अभियान सुरु गरिएको थियो।

घर हस्तान्तरण कार्यक्रममा बोल्दै कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्मा। तस्बिर:उमाकान्त खनाल/देश सञ्‍चार

सहयोगी हातहरुबाट आर्थिक संकलन गरेर करिब १० लाखको लागतमा सुन्दर घर निर्माण गरेको छ। देबी मेचेको भविष्यप्रति चिन्तित सबैले सहयोग पुर्‍याएको कारण २ कोठा र एउटा किचन र ट्वाईलेट बाथरुमसहितको घर निर्माण गर्न सफल भएको र जग्गादाता एवम् नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माबाट सोमबार घर हस्तान्तरण गरिएको हो।

घर निर्माण भएसँगै देवी भावुक बनिन्। भनिन् —‘अब मैले अभिभावक पाएको छु। अब दुःखका दिन आउँदैनन् होला, छोरीहरुलाई समेत ईष्ट होराईजन मावि धुलावारीले निःशुल्क पढाई दिने विद्यालयका प्रिन्सिपल सञ्जीव राईले बचन दिएको उनले बताइन्।