लेनदेन विवादमा आफ्नै साथीको हत्या प्रयास

सांकेतिक तस्बिर

बुटवल-लेनदेनको विषयलाई लिएर एक युवाले आफ्नै साथीको हत्या प्रयास गरेका छन्।

अर्घाखाँची छत्रदेव गाउँपालिका ४ केरुङ्गा घर भएका कैलाश भुसाललाई सोही ठाउँकै सुवास भुसालले खुकुरी प्रहार गरी हत्या प्रयास गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए।

एउटै मोटरसाईकलमा अर्घाखाँचीबाट रुपन्देहीको बुटवल आउँदै गरेका उनीहरुबीच रुपन्देही र पाल्पाको सिमाना बल्ढेङगढीमा विवाद भएको थियो । सोहीक्रममा सुवासले कैलाशलाई खुकुरी प्रहार गरेका थिए।

खुकुरी प्रहारबाट कैलाशको बाँया हात र गर्धनमा गम्भीर चोट लागेको छ भने उनी बेहोस भएका छन्। खुकुरी प्रहारका कारण हात चुड्ने अवस्थामा रहेको र उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अप्रेशन थालिएको छ।

दाजुभाई नाता पर्ने सुवासले खुकुरी प्रहारपछि घाइते भएका कैलाशलाई एम्बुलेन्समा हालेर अस्पताल पुर्‍याएका थिए। रुपन्देहीको तिलोत्तमामा बिजुली पसल सञ्चालन गर्दै आएका सुवासलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

सुवासलाई उदृत गर्दै प्रहरीले बताएअनुसार कैलाशलाई सुवासले ८ लाख रुपैयाँ दिनुपर्ने र सोही कारणले हत्या प्रयास भएको हो।

बैशाख ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्