प्रदेश-३का सञ्चार रजिष्ट्रार सापकोटाद्वारा पदभार ग्रहण

काठमाडौं- प्रदेश-३ सरकारका सञ्चार रजिष्ट्रार रेवती सापकोटाले सोमबारदेखि औपचारिक रुपमा पदभाग ग्रहण गरेका छन्।

सोमबार हेटौडास्थित आफ्नो कार्यकक्षमा रजिष्ट्रार सापकोटाले पदभार ग्रहण गरेका हुन। उनलाई आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कटेल लगायत कर्मचारीले स्वागत गरेका थिए।

प्रदेश सरकार मन्त्रिपरिषदको ०७५ चैत २७ गतेको निर्णय र आन्तरिक मामिला तथा कानून मन्त्रालयको ०७६ बैशाख ५ गतेको नियुक्तिका आधारमा बैशाख ९ गतेदेखि प्रदेश ३ को सञ्चार रजिष्टारको जिम्मेवारी सम्हालेका हुन।

पदभारपछि रजिस्ट्रार सापकटाले भनेका छन्, ‘मलाई यो जिम्मेवारी सुम्पने प्रदेश सरकार र आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रति आभार व्यक्त गर्दछु । मलाई यो जिम्मेवारीका लागि उपयुक्त ठहर्याउनु हुने आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कटेल र अन्य महानुभावहरु प्रति पनि म आभारी छु। संविधान, प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन ०७५ र अन्य प्रचलित कानुनको अधिनमा रहि र अग्रज तथा अनुजहरु सल्लाह र सुझावका आधारमा अगाडि बढने प्रतिबद्धता व्यक्त गर्दछु।’

मन्त्रिपरिषदको बुधवार विहान बसेको बैठकले सापकोटालाई राजपत्रांकित प्रथम श्रेणीको सुबिधा पाउने गरी रजिष्टार नियुक्त गरेको थियो। बिगत दुई दशकदेखि सक्रिय पत्रकारिता गरिरहेका सिन्धुपाल्चोक कुबिण्डे निवासी सापकोटा हाल अंग्रेजी दैनिक दि हिमालयन टाइम्समा कार्यरत थिए।

संघीय सरकारको सूचना तथा प्रसारण बिभागले गर्ने काम अब प्रदेशमा सञ्चार रजिष्टारले गर्नेछन्। सञ्चार रजिष्टारले एफएम रडियो, टेलिभिजन र पत्रपत्रिका सन्चालनको अनुमतिपत्र प्रदान गर्ने, नवीकरण र नियमन गर्ने तथा पत्रपत्रिका, अनलाइन सञ्चार माध्यम लगायत सबै सञ्चार माध्यमको अभिलेख राख्ने काम गर्छ।

त्यस्तै सञ्चार का माध्यमलाई दिइने सुविधाका सम्बन्धमा प्रदेश सरकारलाई सिफारिस गर्ने दायित्व पनि रजिष्टारकै हुनेछ। सञ्चार रजिष्टारले प्रदेशका पत्रकारहरुको लागि आवश्यक काम समेत गर्नेछ।

बैशाख ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्