राष्ट्रपतिकाे चीन भ्रमणबारे परराष्ट्रमन्त्रीले गराए जानकारी

काठमाडौं- राष्ट्रपति विद्या भण्डारी आगामी बुधबार चीनको राजकीय भ्रमणमा जाने भएकी छिन्।परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीको चीनको राजकीय भ्रमणबारे विस्तृत जानकारी दिए।

चीनको बेईजिङमा आयोजना हुने बेल्ट एण्ड रोड (बीआरआई) को दोस्रो सम्मेलनमा भाग लिन राष्ट्रपति भण्डारी बुधबार चीनको राजकीय भ्रमणमा जान लागेकी हुन।

राष्ट्रपति भण्डारीको चीनको राजकीय भ्रमणका क्रममा २०१६ मा दुई मुलुकबीच गरिएको पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने कार्यसूचि तय गरिएको पनि परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए।

त्यसैगरी केरुङ–काठमाडौं रेलमार्ग निर्माणको काम सुरु यसै वर्षबाट सुरु गर्ने गरी सहमति गर्ने, जनशक्ति निर्माणका लागि आवश्यक प्राविधिक विश्वविद्यालय स्थापनाका लागि पनि चीनसँग समझदारी गर्ने तयारी पनि गरिएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए।

कार्यक्रममा मन्त्री ज्ञवालीले आगामी मे महिना भित्र तातोपानी नाका खुल्ने पनि औंपचारिक जानकारी दिए। चीन सरकारले आगामी मे महिना भित्र तातोपानी नाका खुलाउने गरी त्यहाँको विकास निर्माणको कामलाई अघि बढाएको मन्त्री ज्ञवालीको भनाई छ।

परराष्ट्र मन्त्रालयले आर्थिक विकास साझेदारी अघि बढाउन चीनसँग उच्चस्तरीय भ्रमण तय गर्दै आएको छ। राष्ट्रपति भण्डारीको बुधबारबाट हुने राजकीय भ्रमणमा पनि दुई मुलुकबीचको आर्थिक साझेदारीको विकासलाई जोड दिने परराष्ट्र मन्त्रालयको तयारी छ।

बैशाख ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्