बुद्ध एयरले जहाजका कारण नेपालगञ्ज-दिल्ली अनुमति पाएन

नेपालगञ्ज – केही महिना अघि नेपालगञ्ज–दिल्ली हवाई उडानको समाचारले नेपालगञ्ज खुब तातियो। एकाध महिनामै त्यो तातो सेलायो।

नेपालगञ्ज विमानस्थलको स्तर उन्नतिका लागि बनाइएको ‘मास्टर प्लान’ सार्वजनिक गरिदा नेपालगञ्जका मेयर धवलशमशेर राणाले नेपालगञ्ज–दिल्ली उडानको कुरा निकाले। बुद्ध एयरले नेपालगञ्ज–दिल्ली उडानको तयारी गरिरहेको भनिरहदा भारतले बुद्ध एयरको जहाजका कारण उडान अनुमति नै नदिएको खुलासा भएको छ।

भारतले बुद्ध एयरलाई किन नेपालगञ्ज–दिल्ली उडानको अनुमति दिएन ? नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम भन्छन्, बुद्धसँग एटीआर ७२/५०० जहाज छन्। त्यसले उडान र अवतरणमा बढी समय लिने भएकाले भारतले अनुमति नदिएको बुझिएको छ। बुद्ध एयरसँग सीआरजेट ७०० विमान भइदिएको भए भारतले ‘स्लट’ दिन सक्थ्यो।’

सीआरजेट विमान श्री एयरलाइन्ससँग छ। श्री एयरलाइन्सले नेपाल-भारत उडानका लागि नागरिक उड्डयन प्राधिकरणसँग दुई वर्षदेखि अनुमति मागिरहेको छ। प्राधिकरणले श्रीलाई अनुमति दिइरहेको छैन। विमानकै कारण बुद्धलाई भारतले अनुमति नदिएको हो भने श्रीसँग त्यो जहाज छन्। उसलाई प्राधिकरणले किन दुई वर्षदेखि अनुमति नदिएर झुलाइरहेको हो? नेपालगञ्जका मेयर राणाले प्राधिकरणका महानिर्देशक गौतमलाई प्रश्न गरे। प्राधिकरणले श्रीलाई चार्टरको अनुमति दिएपनि सेडुलको अनुमति दिएको छैन।महानिर्देशक गौतमले नेपालगञ्ज–दिल्ली उडानका लागि रुटको समस्या नरहेको बताए। उनका अनुसार, भारतले महेन्द्रनगरबाट १६ देखि २४ हजार फिट उचाई दिन तयार रहेको छ। बुद्धले भारतबाट स्लट नपाउदा नेपालगञ्ज–दिल्ली उडान हुन सकेको छैन। महानिर्देशक गौतमले बुद्धले अनुमति पाएमा छिटो भन्दा छिटो नेपालगञ्ज विमानस्थलको स्तर उन्नति गर्ने आश्वासन दिए।

नेपालगञ्ज विमानस्थललाई २०४० सम्ममा अन्तर्राष्ट्रिय मापदण्डको बनाउन ‘मास्टर प्लान’ बनाइएको छ। अहिले विमानस्थल १ सय ६६ विगामा छ। त्यसमा सय विगाह जमिन थप्ने, तत्काल नै दुई सय मिटर रन वे थप्ने र भविष्यमा यसलाई दुई हजार ६ सय मिटर बनाउने, विमानस्थललाई पूर्वतिर बिस्तार गर्ने, डुडुवा खोललाई डाइभर्सन गर्नेलगायतको मास्टर प्लान बनाइएको छ। त्यसका लागि १२ अर्ब ५० करोड लाग्ने अनुमान गरिएको छ।

विमानस्थललाई पूर्वतिर बिस्तार गर्ने हो भने अहिले नै जग्गा खाली गराएर मुअब्जा दिनु पर्ने मेयर राणाले प्रस्ताव गरे। उनले २० औं वर्षअघिका व्यक्तिले अहिलेसम्म मुअब्जा पाउन नसकेको भन्दै छिटो भन्दा छिटो मुअब्जा दिन महानिर्देशक गौतमसँग आग्रह गरे। गौतमले यस विषयमा काठमाडौं फर्केपछि कुरा गर्ने अश्वासन दिए।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलले विमानस्थललाई बिस्तार गर्नै पर्ने भएकाले अहिले नै मुअब्जा दिएर जग्गा खाली गराउदा राम्रो हुने सुझाव दिए। नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० का वडाध्यक्ष कृष्ण कार्कीले विमानस्थलसँग रोडको पश्चिममा रहेको ४६ विगाह जमिनले गर्दा शहरीकरण हुन नसकेकाले उचित व्यवस्थापन गर्न आग्रह गरे।

 

बैशाख ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्