श्रीलंकाका चर्च तथा होटलमा आक्रमण

‘आक्रमणको पूर्व चेतावनी थियो, तर प्रधानमन्त्रीसम्म जानकारी नै पुगेन’

आक्रमणको चेतावनी पहिले नै प्राप्त हुँदा पनि सुरक्षा व्यवस्था चुस्त नपारिएका कारण ठूलो मानवीय क्षति हुने गरि आक्रमण भएको भन्दै श्रीलंकामा विवाद चुलिएको छ ।

श्रीलंकको राजधानी कोलम्बोसहितका क्षेत्रमा रहेका चर्च तथा सुविधा सम्पन्न होटलहरुमा आइतबार शृङ्खलाबद्ध रुपमा भएका आत्मघाती बम आक्रमणमा कम्तिमा २९० जनाको ज्यान गएको छ ।

घटनामा ५०० जना भन्दा बढि घाइते भएका छन् । आक्रमणपछि देशभरको सुरक्षा व्यवस्था कडा पारिएको छ भने सरकारले देशभर कर्फ्यु लगाएको छ । ज्यान गुमाउनेमा ३६ जना विदेशी नागरिक छन् ।

सरकारी अधिकारीलाई आक्रमणको आरोप लागेको समूहले पहिले नै चेतावनी दिएको भए पनि सुरक्षा व्यवस्था कडा नपारेको तथा बेवास्ता गरेका कारण गम्भीर घटना भएको भन्दै विवाद भएको हो ।

राष्ट्रपति मैत्रिपाला सिरिसेनाका सल्लाहकार शिराल लकथिलानकाले यो विषयमा अनुसन्धान हुने बताएको बिबिसीले उल्लेख गरेको छ ।

श्रीलंकाका वरिष्ठ मन्त्री रजित सेनारत्नेले सोमबार कोलम्बोमा पत्रकार सम्मेलन गरेर अन्तर्राष्ट्रिय गुप्तर निकायले सम्भावित आक्रमणबारे चेतावनी दिएको भए पनि त्यो जानकारी प्रधानमन्त्री रनिल विक्रमसिंघेसम्म नपुगेको आरोप लगाएका थिए ।

आक्रमण अन्तर्राष्ट्रिय संगठनमा भएको उनको आरोप छ । अन्तर्राष्ट्रिय नेटवर्कको सहयोगमै आक्रमण भएको सरकारी अधिकारीको भनाई छ ।

आक्रमणमा स्थानीय समूह नेशनल तौहीद जमातको संलग्नता रहेको सरकारी आरोप छ । तर अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएका छैनन् । प्रहरीले अहिलेसम्म २४ जनालाई पक्राउ गरेको छ ।

आक्रमणपछि सरकारले फेसबुकसहितका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ । यस्तै म्यासेन्जर तथा ह्वाट्सएपसहितका म्यासेजिङ्ग साइटमा पनि प्रतिबन्ध लागेको छ ।

२२ मिलियन जनसंख्या रहेको श्रीलंकामा ७० प्रतिशत भन्दा बढि बुद्धिस्ट छन् । १२.६ प्रतिशत हिन्दु तथा ९.७ प्रतिशत मुस्लिम र ७.६ प्रतिशत जनसंख्या इसाइ धर्म मान्ने छन् श्रीलंकामा सन् २०१२ को जनगणना अनुसार ।

बैशाख १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्