साखुँमा यसरी मनाइयो बज्रयोगिनी माइको मुख्य जात्रा (फोटो फिचर)

सुनको जलप लगाइएको बज्रयोगिनी माइको प्रतिमा ।

काठमाडौँ – ऐतिहासिक शहर साँखुमा मनाइने बज्रयोगिनी माइको मुख्य जात्रा सोमबार बनाइएको छ । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन सुरु भएर वैशाख कृष्ण अष्टमीसम्म आठ दिन चल्ने जात्राको पाँचाैँ दिनमा (सोमबार) मुख्य जात्रा मनाइएको हो ।

पाँच थकाली गुर्जुसहित बज्रयोगिनी देवीलाई दाम, सुपारी र स्वयम्भू चैत्य चढाएर आठ दिनसम्म साँखु बजार घुमाएर तान्त्रिकदेवीको रुपमा रहेकी बज्रयोगिनीको पूजा अर्चाना गरिन्छ । जात्रामा बज्रयोगिनी माइको मन्दिरबाट सुनको जलप लगाएको प्रतिमूर्ति, सिंहिनी, व्याधिनी र स्वयम्भूको गरि चारवटा मूर्ति तल साँखु बजारमा झार्ने प्रचलन छ।

साँखुका संस्कृतिविद् प्रकाशमान श्रेष्ठका अनुसार यो जात्रा तीन हजार तीन सय वर्षदेखि मनाइँदै आइएको छ । नायखीं बाजा बजाएर नगर परिक्रममा गरेर झ्याली पिट्दै साँखुका ऐतिहासिक आठवटा गाउँको कल्याण होस्, खेतीपाती राम्रो होस् तथा महानगरवासीमा सुखशान्ति मिलोस् भन्दै जात्रा चलाइएको शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ बताउँछन् ।

जात्रा सुरु गर्न नायखीं बाजाएपछि साँखु नगरभित्रका बासिन्दाले छालाका जुत्ता लगाउन, छाता ओढ्न, पुरानो घर भत्काउन, नयाँ बनाउन, ऋण असुल्न, हात्ती घोडा चढ्न नपाउने परम्परा छ ।

जात्रा अवधिभर साँखु नगरवासीहरु सबै समान होउन भन्ने उद्देश्य जुत्ता लगाउन, छाता, घोडा ओड्न नपाउने परम्परा सुरु गरिएको श्रेष्ठ बताउँछन् । त्यस्तै जात्रा अवधिभर निर्माण कार्य गर्दा दुर्घटना भएर मानिसको मृत्यु सक्ने भएकाले घर बनाउन र भत्काउन नपाइने चलन चलाइएको हो ।

बज्रयोगिनी माई बस्तीमा सवारी गराउँदा बालाजुको बाइसधारामा पनि मेला लाग्ने परम्परा छ । चार मूर्ति बजारमा झारेपछि ऐतिहासिक साँखु नगरका लप्सेफेदी, पालुबारी, गागल, इन्द्रेयणी र चाँगुलगायत सात गाउँमा चार दिनसम्म खेतीपातीका काम नगर्ने चलन छ ।

जात्रा प्रत्येक वर्ष चार टोल सुनटोल, बज्रयोगिनी, पुकुलाछी र चलाखुका स्थानीयवासीले पालैपालो सञ्चालन गर्छन् । यस वर्षको जात्रा चलाउने जिम्मा सुनटोलवासीको परेको स्थानीय एलपी श्रेष्ठले जानकरी दिए ।

 

बैशाख १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू