रीना बस्नेत मृत्यु प्रकरणः कथित प्रेमी पक्राउ, प्रदर्शन जारी

मोरङ– पथरीशनिश्चरे नगरपालिकामा गत शनिबार २९ वर्षीया रीना बस्नेतको मृत्यु को सन्दर्भमा जिल्ला प्रहरी कार्यालय मोरङको अनुसन्धान चलिरहेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी मनोज केसीले सो घटना प्रायोजित रुपमा हत्या वा मृत्यु के हो त्यसको अनुसन्धान जारी रहेको जनाएका छन्।

प्रहरीले अहिले नै घटनाबारे प्रष्ट खुलाएको छैन। घटना भएको तेश्रो दिन सोमबार पथरीबजारमा स्थानीयले विरोध गरेसँगै प्रहरीले सोधपुछका लागि एक व्यक्तिलाई पक्राउ गरेको थियो।

एसपी केसीले भने, ‘हाल मृतक बस्नेतसँग निकट भएर गफ गर्ने एक व्यक्तिसँग सोधपुछ गरिरहेका छौँ। सोही क्रममा सोमबार हामीले स्थानीय कोमल नेपाललाई पक्राउ गरेका छौँ।’

घटनापूर्व नेपालसँग मृतक बस्नेतको पटक/पटक फोनमा कुराकानी भएको र आउजाउ हुने गरेको कारण प्रहरीले नेपाललाई पक्राउ गरेको जनाएको छ। ‘प्रहरीले ती व्यक्तिसँग सोधपुछ र अनुसन्धान गरिरहेको छ’, एसपी केसीले भने।

तथापी पोष्टमार्टमका लागि धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पोष्टमार्टमको रिपोर्ट नआइन्जेल यसै भन्न नसकिने एसपी केसीले बताए। उनले भने, ‘पोष्टमार्टमको रिपोर्ट आइपुगेको छैन। जसका कारण दोषी वा घटनामा संलग्न को हो भन्ने खुल्न सकेको छैन।’  शुक्रबार हत्या भएकै दिन मृतक बस्नेतको शव धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि पुर्‍याएको थियो। जसको रिपोर्ट आइसकेको छैन।

यता हत्या भएको चार बितिसक्दा समेत प्रहरी प्रशासनले सत्यतथ्य सार्वजनिक गर्न नसकेको भन्दै स्थानीयले विरोध जारी राखेका छन्। सो क्रममा मंगलबार बिहानैबाट पथरीशनिश्चरे क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गमा स्थानीयले यातायात ठप्प पारेका छन्।

हाल घटनाको छानविनकाे माग गर्दै उद्योग वाणिज्य संघ पथरीकी पूर्व उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गरिएको छ। समितिले पथरीशनिश्चरे नगरपालिकास्थित मेयर र उपमेयरको कार्यकक्षमा समेत तालाबन्दी गरेको छ।

घटनाको विषयमा मुख्यबजारस्थित केही पसलको सिसिटीभी फुटेजमा भने, रातीको समय एक व्यक्तिले बोरामा केही सामान घटना भएको स्थलसम्म पुर्‍याएको दृष्य भेटिएको समितिका एक सदस्यले बताएका छन्। जसको पुष्टि हुन बाँकी नै रहेको छ। मृतक रीना बस्नेतका श्रीमान् रोजगारीका क्रममा विदेशमा रहेका छन्।

पथरीशनिश्चरेमै कस्मेटिक पसल सञ्चालन गर्दै आएकी बस्नेत १४ वर्षीय छोरासँगै डेरामा बस्थिन्। गत शुक्रबार साँझ छिमेकीको नानीको जन्मदिन मनाउन गएपछि छोरासँगै उनी पथरीमा आयोजित सांगीतिक कार्यक्रम हेर्न पुगेको बताइएको छ। सोही क्रममा राति फर्किएपछि कोठामा मदिरा सेवन गरेको प्रहरीको भनाइ छ। प्रहरीले उनको कोठाबाट वियरका बोतलसमेत फेला पारेको थियो।

बैशाख १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्