आठौँ राष्ट्रिय खेलकुद

प्रदेश–५ लाई पराजित गर्दै नेपाल आर्मी पुरुष फुटबलकाे फाइनलमा

नेपालगञ्ज– आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लव फाइनलमा प्रवेश गरेको छ। प्रदेश– ५ लाई ट्राइबेकरमा ३–१ गोलले पराजित गर्दै आर्मी फाइनलमा पुगेको हो।

स्ट्राइकरसहित ६ जना नेपाली राष्ट्रिय फुटबल टीमका खेलाडी रहेको आर्मीलाई सहज जित भने मिलेन। ५ नम्बर प्रदेशका दिपेन्द्रसिंह ठकुरीको आत्मघाती गोलबाट आर्मीले अग्रता लिएको थियो। २० मिनेटमा आर्मीका भरत खवासलाई रोक्ने क्रममा ठकुरीले आत्मघाती गोल गरेका थिए। आर्मीले ३१ मिनेटमा दीपकुमार लामाको गोलबाट अग्रता फराकिलो बनाएको थियो।

दुई गोलले अगाडि भएपछि ‘डिफेन्स’ खेलेको आर्मीलाई ५ नम्बर प्रदेशले दबाबमा राखेको थियो। आर्मीले आक्रमक खेल्न छोड्ने बित्तिकै ५ नम्बर प्रदेशका खेलाडीले एकोहोरो दबाब बढाएका थिए। त्यसक्रममा ३३ औँ मिनेटमा ५ नम्बर प्रदेशले पेनाल्टी पायो। त्यसलाई विनोद केसीले सदुपयोग गरे। ३५ मिनेटमा फेरि ५ नम्बर प्रदेशका विवेक पुनलाई डिएरिया भित्र आर्मीले फल गर्‍यो। दोस्रो पटक पाएको पेनाल्टीलाई पनि विनोद केसीले गोलमा परिणत गरे। निर्धारित समयमा खेल बराबरी भयो।

खेलको निर्णय ट्राइबेकरबाट लिइयो। ट्राइबेकरमा ५ नम्बर प्रदेशका खेलाडीमा अनुभवको कमी देखियो। आर्मीका पाँचमध्ये तीन जनाले गोल गरे। नवयुग श्रेष्ठ, सन्तोष तामाङ र विवेक बस्नेतले गोल गरेका थिए। दीपक गुरुङ र जितेन्द्र कार्कीले गोल गर्न सकेनन्।

५ नम्बर प्रदेशबाट कृष्ण रानाभाटले मात्रै गोल गरे। दिपेन्द्रसिंह ठकुरी, चेतन थारु र विवेक पुनले गोल गर्न सकेनन्। ५ नम्बर प्रदेशका किपर प्रितम खड्काले आर्मीका दीपकले हानेको बल बचाएपछि ५ नम्बर प्रदेशलाई अग्रता लिने मौका थियो। त्यसलाई दिपेन्द्रले खेर फाले। त्यसपछि कप्तान चेतनले नै गोल गर्न नसकेपछि आर्मीले ‘लिड’ गर्‍यो र खेल जित्यो।

आर्मीबाट नेपाली राष्ट्रिय टीमका स्ट्राइकर नवयुग श्रेष्ठ, भरत खवास, किपर विकेस कुथु, सन्तोष तामाङ, टंक बस्नेत, सुमन अर्याल, यु–२३ का सेसान्क लिम्बु र विकास खवासमात्रै होइन, राष्ट्रिय जर्सी लगाइसकेका टेकबहादुर बुढाथोकी र जितेन्द्र कार्की मैदानमा उत्रिएका थिए। लगातार खेल र गर्मीले गर्दा आर्मीका नवयुव, विमल पाण्डे, युद्ध शाही, सुशील श्रीवास्तव र टंकबहादुर बुढाथोकी बिरामी छन्। दोस्रो हाफमा खेल लड्बडाएपछि र ५ नम्बर प्रदेशले दबाब दिएपछि आर्मीका प्रशिक्षक नविन न्यौपानेले नवयुगलाई मैदानमा उतारेका थिए।

आर्मीका प्रशिक्षक न्यौपानेले पहिलो हाफमा धेरै राम्रो खेलेपनि दोस्रो हाफमा ‘इजी’ खेल्दा गोल खाएको बताए। ‘हामीले गोल गर्ने चान्स धेरै पाएको हो। त्यसलाई सदुपयोग गर्न नसक्दा खेलको निर्णय ट्राइबेकरबाट लिनु पर्‍यो’, ‘प्रशिक्षक न्यौपानेले भने, लगातार खेल र गर्मीका कारण धेरै खेलाडीहरु बिरामी भएकाले स्वभाविक खेल हुन सकेको छैन।’

समूह ‘ख’ मा रहेको आर्मी उपविजेता हुँदै सेफिफाइनलमा पुगेको थियो। उसले लिगचरणमा सुदूरपश्चिम प्रदेशसँग बराबरी खेलेको थियो भने नेपाल प्रहरीसँग १–० गोलले पराजित भएको थियो।

लिगचरणमा एउटा पनि खेल नहारी समूह ‘क’ को विजेता हुँदै सेमिफाइनलमा पुगेको ५ नम्बर प्रदेश जितको नजिक पुगेर पनि निरास भएको छ। प्रशिक्षक सानु तामाङले खेलाडीमा अनुभवको कमीले गर्दा लिड गर्ने अवसर पाउँदा पनि ट्राइबेकरमा गोल गर्न नसक्दा पराजित भएको बताए। ‘निर्धारित समयमा आर्मीलाई बराबरीमा रोकेर हाम्रो खेलाडीले धेरै राम्रो खेले। यसबाट म सन्तुष्ट छु, प्रशिक्षक तामाङले भने, जीतको नजिक पुगेर पनि हार्दा दुःख लागेको छ।’

नेपालगञ्ज रंगशालालाई आधुनिक बनाइएपछि भएको पहिलो फुटबल खेलमा धेरै खेलाडी चिप्लिएका थिए। नेपालमै पहिलो पटक लगाइएको बर्मुडा घाँसमा खेलाडीहरु चिप्लिएका थिए। ‘यस्तो राम्रो मैदानमा फुटबल खेलेको अनुभव नै थिएन। पहिलो पटक खेल्दा खेलाडीहरु धेरै चिप्लिए’, ५ नम्बर प्रदेशका प्रशिक्षक तामाङले भने।

मंगबार साँझ अर्को सेमिफाइनल नेपाल प्रहरी र एपीएफका बीच हुनेछ।

बैशाख १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्