सम्पादकीय

श्रीलंकामा कायरहरुको ताण्डव

आतंकवादको कायर र निर्लज्ज कार्यले बीचबीचमा कलंकका छाप छोड्दै गएको छ। सभ्य र सुरक्षित समाज र मुलुकहरुलाई निशाना बनाएर असुरक्षित बनाउन त्यस्ता समूहहरु केही हदसम्म सफल पनि भएका छन्, क्षणिक या अस्थायी रुपमा।

गत महिना शान्त र सुरक्षित अनि सामुदायिक सद्भावका लागि विश्वमै चिनिएको मुलुक न्यूजिल्याण्डमा दुईवटा मस्जिदहरुमा प्रार्थनारत मुसलमानहरु माथि गोराहरुको श्रेष्ठतामा विश्वास गर्ने एक व्यक्तिले हमला गरे। करिब ५० को निधन भयो।

वैशाख ८ गते ‘इस्टर सन्डे’ लाई अति पवित्र र महान दिन मान्ने इशाई धर्मावलम्बीहरु माथि आक्रमण भयो, उनीहरु श्रीलंकाका तीन ‘चर्च’मा प्रार्थना गरिरहेको बेला। उल्लास, उमंग र आस्थाको त्यो दिन कालो नरसंहारमा परिणत भयो। चर्चसँगै त्यहाँका तीन ठूला अन्तर्राष्ट्रिय स्तरका होटलहरु पनि आक्रमणको निशाना बने र अहिलेसम्म ३ सयको मृत्यु र करिब ५ सय घाइते भएका छन्।

विश्वका यी दुई ध्रुवमा भएका घटनामा के हो समानता। दुवै घटनामा धर्म विशेषसँग जोडिएकाहरुलाई निशाना बनाइएको छ। अर्थात उनीहरुले या आतंकवादीहरुले धर्म विशेषलाई शत्रुका रुपमा चित्रित गरेर आफू कुनै धर्मको ‘रक्षक’ भएको अस्वीकार्य दम्भ र सन्देश दिन खोजेका छन्।

घटना लगत्तै न्यूजिल्याण्ड सरकार र खासगरी प्रधामन्त्रीले जसरी परिस्थितिको सामना गरे र आतंकित पीडितहरुमा सुरक्षाको मनोविज्ञान सञ्चार गरे, त्यो साँच्चि नै प्रभावकारी र फलदायी बन्न पुग्यो।

लामो द्वन्द्व र पृथकतावादी आन्दोलनको शिकार बनेको श्रीलंका विगत १० वर्षदेखि शान्त देखिए पनि ‘इस्टर सन्डे’ को घटनाले त्यहाँ आतंकवाद अर्कै रुपमा भइरहेको प्रमाणित भएको छ।

अहिलेसम्मको छानबिन र केही गिरफ्तारीले खासै प्रचारमा नआएको ‘नेशनल तौहिद जमान’ यो घटनामा जिम्मेवार रहेको देखिएको छ। तर सरकार उनीहरुको बाह्य सम्पर्क र आर्थिक तथा अन्य स्रोतबारे पनि छानबिन गरिरहेको छ। विष्फोटमा आत्मघातीहरुको संलग्नताले यो शुद्ध रुपमा आन्तरिक आधारमा मात्र सिमित नभएको आशंकाहरु बढी भरपर्दो रुपमा आएका छन्।

श्रीलंकाबाट विगत केही वर्षमा ३३ जना मुस्लिम बालकहरुले इस्लामिक आतंकवादी संस्थामा प्रवेश लिएको अड्कलबाजी उच्चतम सरकारी तहबाट पनि आएको छ।

यी घटनाहरुले ‘धर्मान्तर’ प्रतिशोध आतंकवादीहरुका आगामी वर्षका अस्त्र हुने खतरनाक संकेतसँगै विश्व समुदाय र सरकार बढी सचेत अनि आतंकवाद विरुद्ध प्रतिवद्ध हुनु पर्ने चुनौति थपेको छ। आतंकवादलाई धर्म या कुनै आस्थासँग जोड्नु साँच्चै नै अपराध हुनेछ।

श्रीलंकामा भएको नरसंहारको निशाना त्यहाँका चर्चहरुसँगै आस्थाको अधिकार या स्वतन्त्रता तथा मानव जीवनको सुरक्षाप्रतिको आक्रमण हो। समग्रमा उनीहरु मानव अधिकारका अवधारणा र सह–अस्तित्वको सभ्यता र सबै धर्मका शत्रु हुन्।

बैशाख १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्