लुम्बिनी विश्‍वशान्ति शहरबारे मुख्यमन्त्री र परिकल्पनाकार क्वाकबीच छलफल

लुम्बिनी विश्व शान्ति शहरका परिकल्पनाकार तथा योजनाकार प्राध्यापक डा. क्वाक योङ हुनसँग छलफल गर्दै प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल। तस्बिर: देश सञ्चार।

बुटवल– प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी विश्व शान्ति शहरका परिकल्पनाकार तथा योजनाकार प्राध्यापक डा. क्वाक योङ हुनसँग लुम्बिनीको बृहत्तर गुरुयोजनाका बारेमा छलफल गरेका छन्।

भेटमा प्रा. डा. क्वाकले लुम्बिनीलाई विश्वकै आर्कषक शान्ति शहर बनाउन सकिने योजना कार्यान्वयनमा अग्रसर हुन मुख्यमन्त्रीलाई अनुरोध गरे। क्वाकले अघि सारेको लुम्बिनी विकासको योजना अहिलेको लुम्बिनी विकास कोषले काम गरिरहेको क्षेत्र भन्दा बाहिरको हो।

बौद्ध दर्शनमा आधारित रहेर निर्माण गर्ने भनिएको शान्ति शहर बौद्ध धर्मावलम्बीका लागि मात्रै नभएर सबैका लागि आर्कषक बनाउने र लुम्बिनीको महत्व बढाउने खालको रहेको डा. क्वाकको भनाई छ। भेटमा मुख्यमन्त्रीले लुम्बिनी विकास कोष क्षेत्र संघीय सरकारसँग रहेको र त्यसभन्दा बाहिरको क्षेत्र प्रदेशलाई जिम्मा दिन माग गरेको बताएका थिए।

संघीय सरकारले जमीन एकीकृत गरी अघि बढ्न प्रदेश सरकारलाई अधिकार दिए प्रक्रियामा अघि बढ्न सकिने उनले बताए। उनले लुम्बिनीको विकासका लागि डा.क्वाकको चासोको प्रशंसा गर्दै भेटेर कुरा गर्न पाउँदा खुशी लागेको बताएका थिए।

यस्तो छ क्वाकको सपनाको लुम्बिनी शान्तिशहर

लुम्बिनीलाई विश्व शान्ति शहरको रुपमा विकास गर्न कोरियन प्रोफेसर डा. क्वाक योङ हुनले तयार पारेको गुरुयोजना कमलको फूलको आकारमा छ।

अत्याधुनिक शहरको परिकल्पना गरिएको यो गुरुयोजनाले लुम्बिनीलाई शान्ति र आध्यात्मिक मात्रै होइन, अत्याधुनिक शहरकै रुपमा विकास गर्ने सपना देखेको छ।

सन् १९७८ मा जापनिज वास्तुकलाविद् केन्जो टाङ्गेले बनाएको लुम्बिनी गुरुयोजना बाहिर २४ वर्गमाइलको क्षेत्रफलमा पर्ने गरी कोरियन प्रोफेसर क्वाकले शान्ति शहरको गुरुयोजना कोरेका हुन्। उनको गुरुयोजनाले लुम्बिनीको पाँच वर्गमाइल क्षेत्रमा शान्ति शहर बनाउने र बाँकी १९ वर्गमाइल क्षेत्रलाई कृषि पर्यटन क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य राखेको छ। पाँच वर्गमाइल क्षेत्र भित्र लुम्बिनी वरिपरिका गाउँ (साविकका ११ गाविस) समेटिनेछन्।

क्वाकको गुरुयोजनाले लुम्बिनीमा एकैपटक २ लाख पर्यटक अटाउन सक्ने गरी प्रत्येक घरमा होमस्टेको अवधारणा अघि सारेको छ। उनको गुरुयोजनाले यसको कार्यान्वयनमा लाग्ने खर्चको अनुमान समेत तयार गरेको छ। उनले ३ अर्ब अमेरिकी डलरमा यो शान्ति शहर सम्पन्न गर्न सकिने अनुमान गरेका छन्।

केन्जो टाङगेको गुरुयोजनालाई कुनै असर नपर्ने गरी बनेको गुरुयोजनाले स्थानीय बस्ती, जंगल, स्कुल, मठ, मन्दिर, मस्जिद तथा सडकहरुलाई जस्ताको तस्तै राखेर शान्ति शहरको रुपमा विकास गर्ने लक्ष्य राखेको छ।

क्वाकले गुरुयोजना कार्यान्वयनमा समस्या पर्ने भन्दै लुम्बिनी क्षेत्रमा अग्ला घर निर्माण नगर्न,उद्योग कलकारखानाहरुलाई व्यवस्थित गर्न, ठूला तारे होटलहरु बनाउने अनुमति नदिन सरकारसँग आग्रह गर्दै आएका छन्।  कमलको फुलको आकारमा तयार भएको क्वाकको गुरुयोजनाले २४ वर्गमाइल क्षेत्रफललाई चार भागमा बाँडेको छ।

हालको पवित्र जोनलाई बुद्ध जोन, हालको गुरुयोजना क्षेत्रलाई धर्म जोन, त्यसबाहिर पाँच वर्गमाइल क्षेत्रलाई संघ जोन र बाँकी १९ वर्गमाइल क्षेत्रलाई उपासका जोनको रुपमा परिभाषित गरिएको छ। संघ जोनलाई कमलको फुलको पत्र जस्ता ८ वटा पत्रमा बाँडिएको छ।

ती आठवटै पत्रमा बनेका शहरहरुमा माछा, मासु, मदिरा तथा पेट्रोलियम सवारीहरु निषेध गर्ने योजना क्वाकको छ। शहर बाहिर उपासका जोनमा कृषि उत्पादनका लागि व्यवसायिक फर्महरु सञ्चालन गरेर कृषि पर्यटनको अवधारणा समेत अघि सारिएको छ।

शान्ति शहरमा एउटै आकारका घर, फराकिला सडक, १० मिनेटभित्र पुग्न सकिने स्कुल तथा स्वास्थ्य चौकीहरु, सौर्य ऊर्जा, पानी, विद्युत लगायतका सबै सुविधा सहित शहरलाई प्रदुषणरहित बनाउने उपायहरु उल्लेख गरिएको छ।

गरिबीसगै शान्ति नआउने भन्दै क्वाकले आफ्नो गुरुयोजना कार्यान्वयन भए लुम्बिनीका प्रत्येक व्यक्तिले दैनिक ३० डलर आम्दानी गर्न सक्ने दाबी समेत गरेका छन्। सन् १९९९ देखि २००० को डिसेम्बर सम्म निरन्तर लुम्बिनीको अध्ययन गरेका क्वाकले तत्कालीन समयमै लुम्बिनीमा शान्ति शहरको अवधारणा सहित सुझाव दिएका थिए। उनले लुम्बिनीमा शान्ति शहर बनाउन आफ्ना निकै नजिकका मित्र संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव वान की मुन समक्ष प्रस्ताव राखेका थिए।

मुनले पनि लुम्बिनीको विकासमा चासो देखाएपछि क्वाकले कोरियन प्रोजेक्ट कोइका मार्फत शान्ति शहरको गुरुयोजना कोर्न थालेका थिए।
पछि तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रिय समितिको अध्यक्ष बन्न मुनलाई आग्रह गर्दा महासचिव मुनले ग्रेटर लुम्बिनी र शान्ति शहर निर्माण गर्ने सर्तमा अध्यक्षता स्वीकार गरेका थिए। तर त्यो पूरा हुन सकेन।

क्वाकले संसारका थुप्रै मुलुकहरुको गुरुयोजना बनाइसकेका छन्। उनले लुम्बिनी शान्ति शहरको प्रोजेक्ट आफ्नो अन्तिम प्रोजेक्ट हुने बताउँदै आएका छन्। सरकारले २०६८ साल माघ ६ गते शान्ति शहरकोे गुरुयोजना निर्माणका लागि कोइकासँग १८ करोड रुपियांको सम्झौतामा हस्ताक्षर गरेको थियो।

बैशाख १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्