रीना बस्नेत मृत्यु प्रकरण

तीन दिनभित्र सत्यतथ्य सार्वजनिक गर्ने शर्तमा आन्दोलन स्थगित

मोरङ-मोरङको पथरीशनिश्चरे नगरपालिकामा महिला मृत्यु प्रकरणको सत्यतथ्य कुरा तीन दिनभित्र सार्वजनिक गर्ने शर्तमा तत्कालका लागि आन्दोलन स्थगित भएको छ।

गएको शनिबार बिहान पथरी शनिश्चरे–१ मा बसोबास गर्दै आएकी २९ वर्षिया रीना बस्नेतको मृत्यु भएको थियो। त्यसयता घटनाको विषयमा सत्यतथ्य सार्वजनिक गर्नुपर्ने भन्दै स्थानीयले विरोध प्रदर्शन गर्दै आएका थिए। सोही क्रममा मंगलबार आक्रोशित प्रदर्शनकारीको समूहले घटना भएको क्षेत्रस्थित पूर्वपश्चिम राजमार्गमा यातायात ठप्प पारेका थिए।

त्यसैगरि इलाका प्रहरी कार्यालय पथरी घेराउ गर्न पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको थियो। सो क्रममा स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले कम्तीमा २० राउण्ड आश्रु ग्यास प्रहार गरेको थियो। प्रहरीसंगको दोहरो झडपमा पाँचजना स्थानीय घाइते भएकाछन्।

झडपका क्रममा टाउकोमा चोट लागी घाईते भएका गोपाल विक र सुदीप राईलाई उपचारका लागि विराटनगर लगिएको र मन्जु पौडेल, जीतबहादुर लावती र ज्ञानेन्द्र विष्टको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

नगरपालिकामा तालाबन्दी र घेराउपछि इलाका प्रहरी कार्यालय अघि मृतक बस्नेतको हत्यारा सार्वजनिक गर्न माग गर्दै नारावाजी गर्ने क्रममा प्रहरीले अश्रु ग्याँस प्रहार गरेको थियो। सोमबारदेखि सुरु भएको आन्दोलन आज भने थप अराजक बनेको थियो। स्थानीय बासिन्दाले नगरपालिकाको गेट तोडफोड गरेका छन्।

घटनापछि मृतकका आफन्त र उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गर्दै आन्दोलित बनेका हुन्।

बैशाख १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्