८८ औँ मिनेटमा एरिक्सनको गोल, टोटनह्यामको सम्भावना बलियो

टोटनह्यामको शीर्ष चारमा रहँदै आउँदो सिजनको च्याम्पियन्स लिगका लागि स्थान पक्का गर्ने सम्भावना बलियो बनेको छ ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा ब्राइटनमाथि १–० को जित निकाल्दै टोटनह्यामले शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको हो ।
घरेलु मैदानमा भएको खेलमा अन्तिम समयसम्म गोलरहित रहेको टोटनह्यामका लागि ८८ औँ मिनेटमा क्रिष्टियन एरिक्सनले विजयी गोल गरेका हुन् । एरिक्सनले गरेको गोल नै टोटनह्यामको जित र शीर्ष चारको सम्भावनालाई थप बलियो बनाउने माध्यम बन्यो ।
जितपछि तेस्रो स्थानको टोटनह्यामको ३५ खेलबाट ७० अंक भएको छ । चौथो स्थानको चेल्सीको ३५ खेलबाट ६७ तथा पाँचौँ स्थानको आर्सनलको ३४ खेलबाट ६६ अंक छ । ३५ खेलबाट ३४ अंकसहित ब्राइटन १७ औँ स्थानमा छ ।