श्रीलंका आक्रमणमा ‘आइएस’ को संलग्नता

श्रीलंकाको राजधानी कोलम्बोसहितका क्षेत्रमा रहेका चर्च तथा सुविधा सम्पन्न होटलमा भएको शृङ्खलाबद्ध बम आक्रमणमा इस्लामिक बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) को संलग्नता रहेको हुन सक्ने बताइएको छ ।

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले आइतबारको आक्रमण विदेशी बिद्रोही समूहको सहयोग बिना सम्भव नरहेको र यसका लागि आइएसले सहयोग गरेको हुन सक्ने बताएको समाचार संस्था रोयटर्सले जनाएको छ । आइतबार भएको आक्रमणमा ज्यान गुमाउनेको संख्या ३२१ पुगेको छ । घटनामा ५०० जना भन्दा बढि घाइते भएका छन् ।

आइएसले आक्रमणमा आफ्नो संलग्नता रहेको दाबी गरेको छ तर उसले त्यसको प्रमाण भने दिएको छैन । आक्रमणमा स्थानीय समूह नेशनल तौहीद जमातको संलग्नता रहेको आशंका छ तर उसलाई आइएसले सहयोग गरेको हुन सक्ने प्रधानमन्त्रीको भनाई छ ।

आक्रमणपछि श्रीलंकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले देशको सुरक्षा व्यवस्था पूर्ण रुपले पुनर्संरचना गरिने बताएका छन् ।

मंगलबार टेलिभिजन मार्फत सम्बोधन गरेका राष्ट्रपतिले सेना प्रमुख २४ घण्टा भित्र परिवर्तन गर्ने बताएका छन् । आक्रमणमा संलग्न भएको आरोपमा अहिलेसम्म ४० जनाभन्दा बढि पक्राउ परेका छन् ।

बैशाख ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्