आठौँ राष्ट्रिय खेलकुदकाे पुरुष फुटबलमा एपीएफलाई कास्य

नेपालगञ्ज– आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा सशस्त्र  प्रहरीको एपीएफ क्लबले कास्य पदक जितेको छ।

५ नम्बर प्रदेशलाई ७–१ गोलले पराजित गर्दै एपीएफले कास्य पदक जितेको हो। एपीएफको जितमा आशिष लामाले ह्याट्रिक गरे। लामाले ५०, ५८ र ८३ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका हुन्। यस्तै प्रविण स्याङतानले दुई गोल गरे। १२ र ८५ मिनेटमा प्रविणले गोल गरेका थिए। फराकिलो जित निकाल्ने क्रममा प्रदीप लामाले ४३ र रमेश डंगोलले ४५ मिनेटमा गोल गरेका थिए।

५ नम्बर प्रदेशको तर्फबाट एक मात्र गोल पेनाल्टीमा ८ मिनेटमा विनोद केसीले गरेका थिए। एपीएफले डीएरियामा फल गरेपछि ५ नम्बर प्रदेशले पेनाल्टी पाएको थियो। विनोदले आफैले हानेको पेनाल्टीमा किपरले फर्काएको बललाई जाली चुमाएका थिए।

एपीएफले लिग चरणमा ५ नम्बर प्रदेशसँग पराजित भएको बदला लिएको छ। समूह ‘क’मा रहेका यी दुई टोली लिगमा भिड्दा ५ नम्बरले बाजी मारेको थियो। ५ नम्बर प्रदेशले एपीएफलाई ३–२ गोलले पराजित गरेको थियो।

५ नम्बर प्रदेशका खेलाडीले बुधबार स्वभाविक खेल प्रर्दशन गर्न सकेनन्। शुरुदेखि नै एपीएफले दबाबमा राखेको थियो। खेलको शुरुवातदेखि नै एपीएफले गोलका अवसर सिर्जना गरेको थियो। एपीएफले धेरै राम्रा अवसरहरु गुमाएको थियो।

मध्यान्तरअघि तीन गोल गरेको एपीएफले त्यसपछि चार गोल थप्यो। एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले टीमले आज धेरै राम्रो खेलेको बताए। ५ नम्बर प्रदेशका प्रशिक्षक सानु तामाङले शुरुदेखि नै तालमेल डगमगाउँदा धेरै गोल खान पुगेको बताए।

बैशाख ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू