श्रीलंका बम आक्रमण काण्ड

आक्रमणकारीले ‘बेलायत र अस्ट्रेलिया’ अध्ययन गरेका थिए

श्रीलंकामा गएको आइतबार भएको आक्रमणमा ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । इस्टरको दिन पारेर आइतबार श्रीलंकाको राजधानी कोलम्बो तथा त्यस आसपासका चर्च तथा सुविधा सम्पन्न होटलमा भएको शृङ्खलाबद्ध बम आक्रमणमा पाँच सय जना भन्दा बढि घाइते भएका छन् ।

आक्रमणमा संलग्न भएका मध्ये एकजनाले बेलायतमा अध्ययन गरेको खुलेको छ । एक आक्रमणकारीले बेलायतमा अध्ययन गरेको जानकारी बारे अरु केही खुलाइएको छैन । श्रीलंकाका रक्षा मन्त्रीका अनुसार ती आक्रमणकारीले अस्ट्रेलियामा एक कोर्षको अध्ययन पूरा गरेपछि बेलायतमा अध्ययन गरेको बताएका छन् ।

शृङ्खलाबद्ध बम आक्रमणमा इस्लामिक बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) को संलग्नता रहेको हुन सक्ने श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले बताएका छन् । आइतबारको आक्रमण विदेशी बिद्रोही समूहको सहयोग बिना सम्भव नरहेको र यसका लागि आइएसले सहयोग गरेको हुन सक्ने बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

आइएसले आक्रमणमा आफ्नो संलग्नता रहेको दाबी गरेको छ तर उसले त्यसको प्रमाण भने दिएको छैन । आक्रमणमा स्थानीय समूह नेशनल तौहीद जमातको संलग्नता रहेको आशंका छ तर उसलाई आइएसले सहयोग गरेको हुन सक्ने प्रधानमन्त्रीको भनाई छ । आक्रमणमा संलग्न भएको आरोपमा अहिलेसम्म ४० जनाभन्दा बढि पक्राउ परेका छन् ।

बैशाख ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्