म्यान युनाइटेडका खेलाडीलाई घाइते हुन तयार भनेपछि जंगिए म्यान सिटीका प्रशिक्षक

लन्डन- इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत बुधबार म्यानचेस्टरका दुई क्लब म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड भिड्दैछन्। यो खेल जिते म्यान सिटी शीर्षस्थानमा उक्लने छ भने म्यान युनाइटेडले युरोपियन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायम राख्ने छ।

घरेलु मैदानमा उत्रने म्यान युनाइटेड शीर्ष चारभित्र उक्लन संघर्षरत छ। तर उसले प्रिमियर लिगका पछिल्ला पाँच खेलमा तीन हार ब्यहोरेको छ। उसले सबै प्रतियोगितामा गरि पछिल्ला ८ खेलमध्ये ६ वटामा पराजय ब्यहोरेको छ।

यता म्यान सिटी उच्च लयमा छ। उसले पछिल्ला १८ खेलमा १७ जित र एक हारको नतिजा निकालेको छ। युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल दोस्रो लेगमा करिब तीन साता अघि टोट्टनहामसँग १-० गोलले पराजित हुनु म्यान सिटीका लागि दुर्भाग्यपुर्ण बनेको थियो।

दोस्रो लेग जितेपनि म्यान सिटी अवे गोलमा पराजित भएर प्रतियोगिताबाट बाहिरिनु पर्‍यो। म्यान युनाइटेड पनि च्याम्पियन्स लिगमा क्वाटरफाइनलबाटै बाहिरिएको टोली हो। उसलाई बार्सिलोनाले हराएको थियो।

म्यानचेस्टरका यी दुई क्लब समग्रमा एक सय ७८ औँ पटक भिड्न लागेका हुन्। यी खेलमा म्यान युनाइटेडले ७३ जित, ५२ हार र ५२ बराबरीको नतिजा निकालेको छ।

घरेलु लिगमा म्यान सिटी ३४ खेलबाट ८६ अंक जोडेर दोस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको लिभरपुलको ३५ खेलबाट ८७ अंक छ। म्यान युनाइटेड भने ३४ खेलबाट ६४ अंक जोड्दै छैटौँ स्थानमा छ। समान ३५ खेल खेलेकामध्ये टोट्टनहामको ७० र चेल्सीको ६७ अंक छ। आर्सनल ३४ खेलबाट ६६ अंक जोडेर पाँचौँ स्थानमा छ।

शीर्ष चार टोली युरोपियन च्याम्पियन्स लिगमा छनोट हुने ब्यवस्था छ। प्रिमियर लिगको यो सिजन म्यान सिटीको मैदानमा भएको खेलमा म्यान युनाइटेड ३-१ गोलले पराजित भएको थियो। गत सिजन प्रिमियर लिगका आपसमा भएका भिडन्तमा दुवै टोलीले एक एक जित निकालेका थिए।

प्रिमियर लिगमा यो सिजन म्यान युनाइटेडले ६३ गोल गरेको छ भने ४८ गोल ब्यहोरेको छ। म्यान सिटीले ८७ गोल गरेको छ भने केवल २२ गोल मात्र सामना गरेको छ। सर्वाधिक गोलकर्ताको सूचीमा म्यान सिटीका सर्जियो एगुएरो १९ गोल र ८ असिस्टसहित शीर्षस्थानमा छन्। म्यान सिटीकै अर्का स्ट्राइकर रहिम स्टर्लिङको १७ गोल र ९ असिस्ट छ।

म्यान युनाइटेडका लागि सर्वाधिक गोल गरेका पल पोग्बाको नाममा १३ गोल र ९ असिस्ट छ। म्यान युनाइटेडकै रोमेलु लुकाकुले पनि १२ गोल गरेका छन्।

खेलअघि म्यान युनाइटेडका प्रशिक्षक गन्नर सोल्स्कयारले आफ्ना खेलाडीलाई म्यान सिटीका खेलाडीले घाइते बनाएर छाड्ने दावी गरेपछि प्रशिक्षक पेप गार्डियोला जंगिएका छन्। सोल्स्कयारले विपक्षी टोली फल गर्न तयारी गरिरहेको प्रतिक्रिया दिएपछि  म्यान सिटीका प्रशिक्षक गार्डियोलाले त्यो सुनेर  आफु अचम्मित भएको बताएका छन्।

सोल्स्कयारले भनेका थिए- यो खेलमा फलहरु प्रशस्त हुनेछन्। उनिहरु (म्यान सिटी)ले तपाई(म्यान युनाइटेड)को कुर्कुचा र गोलिगाँठामा हिर्काउनेछन् अनि प्रहार पनि गर्नेछन्।

गार्डियोलाको प्रतिक्रिया छ- उहाँ (सोल्स्कयार)ले त्यो भन्नुभयो ? ६५/७० प्रतिशत बल पोसेसन गरेर पनि हामी किन त्यो गर्छौँ?मलाई यो मन परेन। हामी त्यसका लागि जसरी बनेका हैनौँ।

बैशाख ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्