कुखुरा मरेर खोर रित्तियो, बीमाबापतको रकम एक वर्षपछि..

बीमा रकमकाे चेक बुझ्दै कुखुरापालक किसान। तस्बिर: देश सञ्चार।

दाङ-कुनै समयमा एक हजार कुखुरा पालिएको खोर यतिबेला रित्तो छ। कुखुरालाई दाना-पानी खुवाउँने भाँडा एक छेउमा राखिएको छ।

कुखुरा मरेर रित्तिएको खोरमा अहिले केही बाख्रा मात्रै छन। एक बर्षअघि एक हजार कुखुरा मरेका राप्ती गाउँपालिका वडा नम्बर ८ निवासी बिष्णु बोहराले भनिन्, ‘दुई लाख रुपैयाँ ऋण लिएर गरेको व्यवसाय कुखुरा मरेपछि उँभो लाग्‍न सकेन। कुखुरा हाल्नै सकेको छैन।’

युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट सहुलियत व्याजदरमा ऋण काडेर व्यवसाय गरेकी बोहराले सहुलियत व्याज तिर्ने रकमसम्म आम्दानी गर्न सकिनन्।

भूगोल बचत तथा ऋण सहकारी संस्था लमहीबाट युवा स्वरोजगार कोषको रकममार्फत व्यवसाय सुरु गरेकी बोहोरालाई बिमावापतको ४४ हजार एक सय ९४ रुपैयाँ प्रदान गरिएको छ। एक बर्षपछि बिमा वाफतको रकम प्राप्त भएको हो।

लगानी समेत नउठ्ने गरी कुखुरा मरेपछि बिष्णुले अहिलेसम्म खोरमा कुखुरा हालेकी छैनन्। युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट सहुलियतमा ऋण लगेर आम्दानी गर्ने सोच बोकेकी विष्णुले एक बर्षपछि बल्ल बीमा वाफतको रकम पाएकी छन्। ‘गम्बारो र गर्मिका कारण कुखुरा मरे’ उनले भनिन, ‘बिमा वाफतको रकमले सानो भए पनि व्यवसाय गर्छु।’

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकम प्राप्त गरेका किसानले गर्ने व्यवसायको बिमा हुन्छ। कोषको रकम परिचालन गर्नुअघि अनिवार्य बिमा गर्नुपर्ने व्यवस्था भएपछी किसानलाई राहत मिलेको छ।

‘लगानी सबै लागि सकेको थियो। एक रुपैयाँ नभएको बेलामा बीमा रकमले सहयोग पु‍र्‍यायो’, बिष्णुले भनिन्, ‘बीमा रकम भुक्तानी प्रक्रिया सहज भयो भने झनै सजिलो हुने थियो।’

भूगोल सहकारी मार्फत युवा स्वरोजगार कोषको ५० लाख रुपैयाँ लगानी भइसकेको छ। हालसम्म २५ जनालाई रकम उपलब्ध गराइएको छ। युवा किसानले बाख्रापालन, कुखुरापालन, बंगुरपालन, गाईपालन, केरा खेती, तरकारी खेती र व्यवसाय सञ्चालनको लागि २ लाखको दरले सहुलियत ऋण लगेको सहकारी संस्थाका अध्यक्ष गंगाराम भट्टराईले बताए।

‘युवा स्वरोजगार कोषको रकमले स्वदेशमा रोजगारी सृजना गर्न सहयोग पर्‍याएको छ’, उनले भने,‘व्यवसाय गर्दा हुने हानी नोक्सानीलाई कमगर्न बिमा कार्यक्रमले थप सहयोग गरेको छ।’

सहकारी संस्थाका ऋण समितिका संयोजक केशवराज पोखरेलका अनुसार वास्तविक किसानको पहिचान गरी युवाहरूलाई सहुलियत ऋण उपलब्ध गराइएको बताए।

बैशाख ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्