आईपिएलमा वार्नरको लय : १० खेल, १ सतक , ७ अर्धसतक

डेभिड वार्नर

नयाँ दिल्ली : इन्डियन प्रिमियर लिग-आईपीएलको यो सिजन सनराइजर्स हैदरावादले पहिलो चरणमा चार खेल खेल्न बाँकी उसको प्ले अफ पुग्ने सम्भावना अझै बलियो छैन। तर हैदरावादका ओपनर ब्याट्सम्यान डेभिड वार्नरले भने तहल्का मच्चाईरहेका छन्।

प्रतियोगितामा १० खेल खेलेका वार्नरले एक सतक र सात अर्धसतकको मदतमा पाँच सय ७४ रन जोडेका छन्। यसक्रममा उनले १९ छक्का र ५० चौका प्रहार गरेका छन्। प्रतियोगितामा उनको औसत स्ट्राइक रेट १४६.०५ रहेको छ। सर्वाधिक रन जोड्ने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा रहेका हैदरावादकै जोनी बेयरस्टभन्दा उनी एक सय २९ रनले अगाडि छन्।

बेयरस्टले १० खेलमा दुई अर्धसतक र एक सतकसहित चार सय ४५ रन जोडेका छन्। उनले १८ छक्का र ४८ चौका प्रहार गरेका छन्। बेयरस्ट र वार्नर हैदरावादका ओपनर ब्याट्सम्यान हुन्। बेयरस्टको औसत स्ट्राइक रेट एक सय ५७ दशमलब २४ रहेको छ।  क्रिस गेल ९ खेलमा ४ अर्धसतकसहित चार सय २१ रन जोडेर तेस्रो स्थानमा छन्।

प्रतियोगितामा हैदरावाद १० खेलबाट १० अंक जोडेर चौथो स्थानमा छ। पाँचौँ स्थानमा रहेको किङ्स इलेभेन पन्जाबको पनि १० खेलबाट १० अंक रहेको छ। १० खेलबाट १२ अंक भएको मुम्बई इन्डियन्स तेस्रोमा छ। शीर्ष चार टोली प्ले अफमा पुग्नेछन्।

बलिङतर्फ राबडा उस्तै 

दिल्ली क्यापिटल्सका कागिसो राबडा ११ खेलबाट २३ विकेट लिएर शीर्षस्थानमा छन् सर्वाधिक विकेट लिने बलरको सूचीमा। उनले प्रतियोगितामा ४३ ओभर बलिङ गर्दै तीन सय ३७ रन खर्चिएका छन्।

उनको बलिङ इकोनोमी ७.८३ रहेको छ। दुई पटक ४/४ विकेट लिएका छन्। सर्वाधिक विकेट लिने बलरको सूचीमा दोस्रोमा रहेका चेन्नई सुपर किङ्सका इमरान ताहिरले ११ खेलमा १६ विकेट हात पारेका छन्।

४२ ओभर बलिङ गर्दै दुई सय ६२ रन खर्चिएका ताहिरको बलिङ इकोनोमी ६.२३ रहेको छ। अंक तालिकामा चेन्नई शीर्षस्थान र दिल्ली दोस्रो स्थानमा रहेको छ।

बैशाख ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्