नारायणी अस्पतालमा अख्तियारको छापा

वीरगञ्ज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वीरगञ्जको नारायणी अस्पतालमा छापा मारेको छ।

पछिल्लो समय अस्पतालमा अनियमितता मौलाउँदै गएको समाचार विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएपछि अख्यितारको हेटौँडा क्षेत्रीय कार्यालयबाट आएको टोलीले अस्पतालमा छापा मारेको हो।

देवकुमार राईको नेतृत्वमा आएको अख्तियारको टोलीले अस्पतालमा छापा मारेर अस्पतालका केही कागजपत्रहरु नियन्त्रणमा लिएको छ। अख्तियारको टोलीले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एनामुल हकसँग अस्पतालमा भएको अनियमितताबारे सोधपुछ गरेको छ। बुधबार बिहान १० बजे आएको अख्यिारको टोलीले अस्पताल प्रशासनसँग पनि सोधपुछ गरेकाे छ।

नारायणी अस्पतालले आर्थिक वर्ष २०७५/७६ मा ६५ रुपैयाँमा ठेक्का सकार गरेको औषधी सप्लायर्सबाट औषधी खरिद नगरी अन्यत्रैबाट ९ सय रुपैयाँमा खरिद गरिरहेको, मेडिकल सुपरिटेन्डेन्ट डा. हकले अदक्ष प्राविधिकलाई अस्पतालमा मेशिन चलाउन दिएको, यस्तै अस्पतालमा प्रयोग गरिने हाइड्रोजन परअक्साइड करिब १३ गुणा बढी मुल्यमा खरिद गर्दै आएको लगायतका समाचारहरु सार्वजनिक भएका थिए।

यस्तै अस्पतालका सुपरिटेन्डेन्ट डा. एनामुल हकमाथि सामान खरिद प्रकृयामा भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ।

बैशाख ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्