फोटो फिचर

राजधानीका प्रहरीको कष्ट : टेन्टबाटै सेवा, टेन्टमै बास

राजधानीका प्रहरीको कष्ट : टेन्टबाटै सेवा, टेन्टमै बास

काठमाडौँ- हनुमान ढोकामा टाँसिएर बसेका काठमाडौँ प्रहरी परिसर र महानगरीय प्रहरी अपराध महाशाखा २०७२ को विनाशकारी भूकम्पपछि ‘बेघर’ भए।

राजधानी र उपत्यकाको शान्ति सुरक्षा र अपराध अनुसन्धानको जिम्मा पाएका यी दुवै निकाय सर्वसाधारण जसरी खुला ठाउँ खोज्दै हिँड्ने अवस्था थिएन। अपराध महाशाखाले गहन प्रकृतिका अपराधको अनुसन्धान गर्ने र त्यसको मुद्धा परिसरले चलाउने भएकाले दुवै निकाय छुट्टिएर बस्ने अवस्था पनि रहेन। कार्यालय खोज्दै जाँदा  टेकुमा नेशनल साल्ट ट्रेडिङको भवन भेटियो।

नेशनल साल्ट ट्रेडिङको भोगाधिकारमा रहेको  ४२ रोपनीमा फैलिएको यस क्षेत्रमा बैंक्वेट, गोदाम र एउटा भवन थियो। टेकु-कालिमाटी सडकखन्डसँगै जोडिएको भवनमा दुवै कार्यालय अँट्न सक्ने अवस्था थिएन।

महाशाखाले बैंक्वेटकै एक भाग कब्जा गरेर टेन्टबाट सेवा सुरु गर्‍यो। महाशाखा प्रमुखबाहेक अन्य सबैको कार्यकक्ष टेन्टमै बनाइयो।  दिनभर टेन्टमा सेवा दिने प्रहरी कर्मचारीको ब्यारेक पनि टेन्टमै थियो। सुत्नका लागि बनाईएको टेन्टको साँधमै ढल फुटेर दुर्गन्ध फैलिरहन्थ्यो।

उता परिसर रहेको भवनमा पनि अधिकांश सेवाहरु टेन्टबाटै दिइन्थ्यो। तल्लो दर्जाका अधिकांश कर्मचारीहरु नजिकै लाइन राखिएका टेन्टमै सुत्थे।

उक्त विनाशकारी भुकम्प गएको तीन वर्ष पूरा भएर बिहीबार चार वर्ष लाग्दै छ। तर काठमाडौँ परिसर र महाशाखाको त्यो कथा आज पनि उस्तै छ। दुवै निकाय ‘बेघर’ छन्। टेन्टबाटै सेवा चलिरहेको छ।

ब्यारेक ‘टेन्ट’मै छ। जाडो लागेपछि र पानी पर्न थालेपछि टेन्टबाट सेवा दिनुपर्दा र सुत्नुपर्दाका दुखका कथाहरु हरेक वर्ष आईरहन्छन्। नेशनल ट्रेडिङले भवन छाड्न पटकपटक गरेका पत्राचारका समाचारप्रति पनि प्रहरी नेतृत्व र गृहमन्त्रालयको ‘चासो’ देखिएन।

नेशनल साल्ट ट्रेडिङले भोगाधिकार रहेको उक्त क्षेत्र अहिले नेपाल आयल निगमलाई बेचिसकेको छ। आयल निगमले पनि दुवै निकायलाई त्यहाँबाट सर्न अनुरोध गरिरहेको छ।

परिसर र महाशाखा दुवैमा आउने हरेक नेतृत्वको जवाफ हुन्छ- ‘अब चाँडै यहाँबाट सर्छौँ होला। हाम्रो संगठन र गृह मन्त्रालय गम्भीर भएर लागेको छ।’

भूकम्पपछि महाशाखाको नेतृत्व सम्हाल्न पुगेका सर्वेन्द्र खनालले अहिले प्रहरी संगठनको नेतृत्व गरिरहेका छन्। उनी आईजीपी भएको पनि एक वर्षभन्दा बढि समय भइसकेको छ। तर यी दुवै निकायको कार्यालय अब कहाँ हुन्छ भन्ने समेत निश्चित हुन सकेको छैन।

एक पूर्व डीआईजी परिसर र महाशाखाको यो हालले  संगठन नेतृत्व निर्लज्ज देखिएको बताउँछन्। ‘राजधानीको प्रहरी भूकम्प गएको चार वर्षसम्म टेन्टबाट पुनर्स्थापन गर्न नसक्नु संगठन नेतृत्वलाई लाज लाग्नुपर्ने विषय हो। यो या त्यो बहानामा टार्न खोज्नु भनेको आफ्नै कमजोरी मात्र देखिने हो । बरु राजधानीकै वृतहरु राम्रै भवनमा सरिसकेका छन्  ‘, उनी भन्छन्।

भद्रकालीस्थित खाद्य संस्थानको जग्गामा यसअघि दुवै कार्यालय सर्ने तयारी भएपनि सरकारले बजेट निकास नगरेपछि रोकिएको थियो। करिव दुई अर्ब रुपैयाँमा खरिद गर्ने तयारीमा रहेको उक्त जग्गा सरकार परिवर्तनसँगै रकम निकासा रोकिएपछि तत्कालको सम्भावना टरेको थियो। त्यस जग्गामा चिनियाँ नागरिकले खेति गरिरहेका छन्।

जग्गा सम्झौता नविकरण भइसकेकाले त्यस जग्गा अब लिन पनि त्यति सजिलो छैन।  काठमाडौँ परिसर प्रमुख एसएसपी बसन्त लामा राजधानीमा सार्वजनिक जग्गा नरहेको र गृहमन्त्रालयको मातहतमा पनि खाली जग्गा नरहेकाले अन्य मन्त्रालयको भोगाधिकार रहेका ठाउँ हेर्नुको विकल्प नरहेको बताउँछन्।

‘संगठन र गृहमन्त्रालयले विभिन्न मन्त्रालयसँग समन्वय गरिरहेको छ भन्ने सुनेका छौँ। अब चाँडै टुंगो लाग्ला’, एसएसपी लामा भन्छन्।

तस्बिरहरु: प्रभात खनाल/देश सञ्चार

बैशाख १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्