जो जहाँ थिए, त्यहीँबाट भूकम्पको सम्झना

शल्यक्रिया गर्दै गरेका डाक्टर, डाँडा उक्लदै गरेकी युवतिले भुँइचालो आएपछि के गरे?

२०७२ साल कालो वर्षको रुपमा परिचित छ। नयाँ वर्षको सुरुवातमै ७ दशमलव ८ म्याग्निच्यूडको भूकम्पले हल्लायो । ८ हजार ७ सय ९० जनाले ज्यान गुमाए।

देशको पहिचान बोकेका ७ सय भन्दा बढि सम्पदाहरु बिग्रिए । ३२ जिल्लामा देखिने गरि प्रभाव पर्‍यो । भूकम्पको ४ वर्षपछि देश बल्ल बल्ल बिउझन लागेको छ। मानिसहरु पहिलाकै व्यवहारमा फर्केका छन्। भूकम्प गएकाे चार वर्षपछि केही नागरिकले देश सञ्चारलाई भूकम्प आउँदा आफू जहाँ थिए, त्यहीबाट आफ्नो अनुभूति सुनाएका छन् ।

विज्ञापन

डा. बिजेन्द्रध्वज जोशी (जनरल सर्जन, अल्का अस्पताल)


डक्टरी पेशामा रहेको १८ वर्ष भयो । अल्का अस्पतालमा विगत १३ वर्षदेखि छु। म २०७२ सालको वैशाख १२ गते एक बुढिआमाको गोडाको अप्रेशन गरिरहेको थिएँ। आमा हिँड्न सक्ने अवस्थामा हुनुहुन्थेन। झन् अप्रेशनको लागि खुट्टा लाटो बनाइएको थियो।

अप्रेशन गर्दागर्दै बेस्सरी हल्लायो। सामान यता उता भए। आफै लड्छु जस्तो भयो। अप्रेशन मध्य तिर पुगेको थियो। के गरौँ कसो गरौँ, सोच्न आएन। भागेर बाहिर जाने इच्छा पनि लागेन। जे सुकैहोस् पहिला बरामीलाई जोगाउ भन्ने ठाने। त्यसपछि मैले उहाँको शल्यक्रिया हुँदै गरेको खुट्टा च्याप्प समातेँ। लड्नुहोला भनेर उहाँको खुट्टामा टाउको अड्याएर राखेँ। जब सम्म भुँईचालो आइरह्यो, मैले यस्तै गरेँ।

ठूलो भूकम्प रोकिएपछि हतार हतार बाँही काम सकाएँ। ड्रेसिङ गरेँ, टाँका लगाएँ अनि उहाँलाई बोकेर बाहिर ल्याएँ। त्यसपछि उहाँको छोरी खोजेँ। उहाँको छोरी त्यहाँ हुनुहुन्थेन। मलाई सबैभन्दा ठूलो समस्या भनेको त्यही भयो। परकम्प आइरहेको थियो। लगभग १० मिनेटपछि उहाँको छोरी भेटिनुभयो र उहाँको जिम्मा लगाएँ।

फलोअपमा आउँदा आमाले भन्नुभयो, ‘तपाईँले त मलाई छोरी भन्दा पनि माया गर्नु हुँदो रहेछ।’ मैले यो शब्द कहिले पनि भुल्न सकिन। भुँईचालोको बेलामा मैले पहिलोपल्ट शल्यक्रिया गरेको हुँ। १८ वर्षको मेरो अनुभवमा यो अविश्मरणीय रह्यो।

शैली बस्नेत (सगरमाथा आरोही)


शनिबार प्राय म नागर्जुनको डाँडामा उक्लिरहेको हुन्छु। त्यो दिन म मेरो श्रीमानसहित ६ जना थियौँ। हामी जामाचो पुगेर फर्केका थियौँ। हामी भएको ठाउँबाट टुप्पामा पुग्न फटाफट हिँड्ने मान्छेलाई आधा घण्टा नत्र ४५ मिनेट लाग्छ।

बाटोमा हिँड्दा हिँड्दै हल्लायो। हामीले आफ्नो वरपरको रुख समात्यौँ। म सँग भएको सुरज भाइले पनि मैले समातेको रुख समाते। मैले टाइलर (श्रीमान) लाई भने, ‘दिस इज द बिग वान’ ।

भुँईचालो गएको बेलामा रुखको नजिक बस्नुहुन्न भनिन्छ। हाँगा झर्ने, रुख नै ढल्न सक्छ भनिन्छ तर हामी जंगलको बिचमा थियौ। त्यसैले हामी चनाखो भएर बस्यौ। यहाँबाट केही तल खुल्ला चौर छ, त्यो सुरक्षित हुन्छ भन्ने थाहा छ त्यहाँ पुग्न कति समय लाग्छ भन्ने आइडिया नै भएन।

डरलाग्दो कुरा के भयो भने यहाँ टुप्पोमा भएको मन्दिर नजिकैको पाटि भत्किएको रहेछ। जंगलमा इको आउने, एकदमै ठूलो आवाज आयो हामीले पहिरो गयो भन्ठान्यौँ। हामीलाई यो डाँडा नै खस्न लाग्यो जस्तो भयो। अब प्रलय नै जान्छ जस्तो भयो । हल्लिन छोडेपछि एकछिन बस्यौँ अनि तलको खाली चौरमा बस्न गयौँ। बाटोमा पूरै धाँजा फाटेको थियो।

जब खुल्ला चौरमा पुग्यौँ, शहर पूरै धुलाम्मे थियो। हामीसँग एक विदेशी साथी पनि थिए। माथि उक्लदा हामीले त्यहाँबाट धरहरा देखाएका थियौँ तर फर्कदा धरहरा थिएन।

माथि छँदा त्यस्तो पीर लागेको थिएन, जब तल आयौ, बालाजु पूरै कोलाहालमय थियो। सबै बाटो बाटोमा उभिएका थिए। हामी डराई डराई आफ्नो घर गयाैँ। धन्न परिवार सबै सुरक्षित रहेछन्।

सुरेशबाबु हाडा (कुल्फी संसार, भक्तपुर दरबार क्षेत्र)


दरबार स्क्वायरको छेवैमा हामीले पसल चलाएको ठ्याक्कै ३१ वर्ष भयो। मेरो घर यँही पछाडि छ। मेरो दाइले यो पसल सुरु गर्नुभएको हो। त्यो दिन म पसलमा सामानहरु मिलाउँदै थिए, सुरु भुँईहाल्यो। मैले सानो सानो भूकम्पमात्र चाल पाएको यो त रोकिँदै रोकिएन।

पसलको देब्रेपट्टि अहिले टहरा भएको ठाउँमा अग्ला पर्खाल थिए। यो अग्ला पर्खाल झ्याम्म भत्किएर हाम्रो पसलसम्म आइपुग्यो। पर्खालसँगै ग्यारेज पनि थिए। त्यो पनि भत्कियो। हामी मान्छे पनि पुरिएको थाहा पायौँ।

दरबार स्क्वायरमा भएको वत्सला देवी दुर्गा मन्दिर भत्किएको रहेछ। यस्तै अरु मन्दिर भत्किएका थिए। खुल्ला ठाउँ भनेर हामी त्यतै गएका थियौ। धुलै धुलो उडेको देखियो।

सुरुमा मलाई बाहिर जान डर लाग्यो। पसल बन्द गर्न सकिएन। बत्ति पनि गयो। भूकम्प पनि आएको आयै भइरह्यो। हाम्रो फ्रिजमा भएको कुल्फी आइसक्रिमहरु हामीले बाडिदियौँ।

भूकम्पले भक्तपुरको जीवन दुई वर्षसम्म धेरै दुःख भयो। हुन त धेरै ठाउँ बनिसके तर पनि उपत्यका सुरक्षित चाहिँ लागेको छैन।

तुलसी शोभा (स्थानीय व्यापारी, काष्ठमण्डप)


म ५१ वर्षकी भए। थाहा पाएदेखि नै यहाँ आएर पूजा सामान बेच्ने गरेको हुँ। भुँईचालो आएको दिन पनि म यहि थिए। सामान बेचेर बसेकी थिएँ। ढ्वाक्क गर्‍यो, मलाई रिंगटा लागेको जस्तो भयो। कहाँ जाउँ जस्तो हुँदै थियो अगाडिको काष्ठमण्डप झ्याम्मै ढल्यो।
त्यहाँ रक्तदान भइरहेको थियो।

मन्दिर ढलेर मान्छेलाई किच्यो। म अत्तालिए, रुन पनि आएन बोल्न आवाज पनि आएन।

केही दिन बन्द भयो। अनि फेरी म काममा फर्किए। तर यो मन्दिर बनेको छैन। बन्ने तयारी त भएको छ। आशा गरौ चाँडै बन्ला।

कृष्णप्रसाद गौतम (फलफूल व्यापारी, सुन्धारा)


मेरो घर रामेछाप, म यो ठाउँमा फलफूलको पसल खोलेर बसेको १६ वर्ष भयो। भुँईचालो जाँदा खाना खाएर म अनि मेरो बुढी बसिरहेका थियौ। खाना खाएपछिको समय ग्राहक थिएनन्।

थरर हल्लियो। के हल्लियो भनेर हेर्दा हेर्दै झन हल्लायो। मान्छेहरु भागभाग गर्न थाले। पसलको दायाँपट्टि जाउँ भने धरहरा बायाँ गुठिको पुरानो घर। यता जान नि सकिन उता पनि सकिन। यतै बसे।

त्यसपछि धरहरा ढल्यो, दक्षिणपट्टि ढल्ला जस्तो गरेको थियो तर पश्चिमपट्टि लड्यो। मैले दुईजना, केटा केटीलाई टाउकोमा चोट लागेको देखे। मान्छे पुरिए पनि भन्थे, कोलाहाल भयो। मैले चिनेको पञ्जाबी ढावाको मालिक पनि परेछन्।

त्यसपछि मानिसहरु आउने जाने भईरह्यो। थर्किरह्यो। अगाडिका मोटरसाइलहरु सबै लडे। मैले अब बाचिन्न भन्ने सोचे। माथि गेस्ट हाउसकी एक महिला रुँदै आइन् र हामीसँगै बसिन्। हामीसँग पानी थियो, त्यो सबैलाई दिए।

२०४५ सालमा भक्तपुरमा घर अलि अलि बिग्रेका थिए, तर यो ठूलो थियो। धेरै नाश गर्‍यो। आशा गरौँ फेरि धरहरा उठ्छ होला।

बैशाख १२, २०७६ मा प्रकाशित