विप्लव समूहलाई मुलधारको राजनीतिमा ल्याउँछाैँ : गृहमन्त्री

मोरङ– सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई मुलधारको राजनीतिमा ल्याउने तयारी भइरहेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन्।

विराटनगरमा बिहीबार आयोजित प्रदेश एकस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री थापाले सीके राउतको समूह राजनीतिक मुलधारमा आइसकेको हुनाले विप्लव समूहलाई पनि मुलधारको राजनीतिमा ल्याइने स्पष्ट पारे। सोही अनुरुप सरकार विप्लवलाई मुलधारमा ल्याउने तयारीमा रहेको उनको भनाइ छ।

वार्ताबाट समस्याको हल हुने बताएका मन्त्री थापाले विप्लवको विषयमा पनि संवाद र वार्ता नै मुख्य कडी हुने स्पष्ट पारे। जसका लागि सरकार खुला रहेको उनले दोहाेर्‍याएका थिए।

सरकारले पछिल्लो समय हिंसात्मक घटना नियन्त्रणका क्रममा सफलता हासिल गरेको बताएका गृहमन्त्री थापाले सरकारले अब सामाजिक अपराध नियन्त्रणमा पनि विशेष अभियान चलाउने जानकारी दिए।

बैठकमा गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्रका महानिरीक्षक शैलेन्द्र खनाल, प्रदेश–१ का १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख लगायतका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको छ।

बैशाख १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्