धरहरा सम्बत ००५ क्यालेण्डर सार्वजनिक

‘निर्धारित मितिमै धरहरा बनाउँछौ’

काठमाडौं-साहित्यकार तथा ‘म बनाउँछु मेरो धरहरा’ का अभियन्ता ध्रुब गजुरेलले भूकम्पले भत्काएको धरहराको पुनर्निमार्ण निर्धारित समयमै बनाउने बताएका छन्।

बिहीवार रिपोर्टर्स क्लब नेपालमा धरहरा पुनः निर्माणको कार्य प्रगति तथा धरहरा सम्बत ००५ को बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै साहित्यकार तथा ‘म बनाउँछु मेरो धरहरा’ का अभियन्ता ध्रुब गजुरेलले भने, ‘धरहरा पुनः निर्माणको लागि भएका प्रयासहरु सकारात्मक छन्। त्‍यसकारण निर्धारित समयमै धरहराको पुनर्निमार्ण गर्छौ।’

उनले साहित्य लेखनको माध्ययमबाट धरहरा निर्माणको लागि करोडौ रकम संकलन गरि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको माध्ययमबाट सरकारलाई बुझाइसकेको उनले दावी गरे।

उनले भने, ‘संसारमा ९ रेक्टर स्केलभन्दा माथिका धेरै पराकम्पबाट नागरिकले ठूलो जनधनको क्षति व्यहोरिसकेको छ। नेपालले पनि ७ रेक्टर स्केलका पराकम्पहरुले ठूलै क्षति गरायो। त्यो इतिहासले  हामीलाई पाठ सिकाएको छ। अब हामी चाडै पुनर्निर्माणमा जुट्छौ।’

उनले प्रकाशनमा ल्याएका पुस्तक ‘ईतिहाँसमा २०७२’ र ‘ऋतु’ बाट संकलन भएको सम्पूर्ण रकमपनि धरहरा निर्माणमा लगाईने विश्वास दिलाए। धरहरा निर्माणकै लागि आफुहरुले ‘हनुमानको नेपाल यात्रा’ र धरहरा बनाउने देउसी कार्यक्रमको भिडियोबाट पनि केही रकम संकलन गरेको उनको भनाई थियो।

२०७२ सालमा देशले थुप्रै संघर्ष गरेका कारणपनि त्यस वर्षदेखि धरहरा सम्बतको सुरुवात भएको उनले जनाए। संबिधान जारी हुँदा भोगेको संकट, भारतीय अघोषित नाकाबन्दी, तराई आन्दोलन र महाभूकम्पको पीडाले धरहरा सम्बतको शुरुवात भएको उनको भनाई थियो।

त्यस्तै, कार्यक्रममा बोल्दै सत्तारुढ दल नेकपाका नेता एवम् प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले विनाशनै विकासको जननी भएका कारण अब बन्ने धरहरा नमुनाकै रुपमा निर्माण गरिनुपर्ने धारणा राखेका छन्।

देशमा निर्माणाधिन आयोजनाहरुको निर्माण कार्यमा ढिलासुस्ती देखिँदै आएपनि धरहरा निर्माणको लक्ष्य सरकारले समयमै सक्नुपर्ने उनको धारणा छ । विनाशले ल्याएको विकासमा आफूहरु सबैले सहयोग गर्नुपर्ने उनको धारणा थियो। उनले भने,‘इच्छाशक्ति भए ध्रुबजीले जस्तै करोडौ रकम उठाउन सफल हुन सकिनेछ।’

साहित्य र लगनशीलताबाट करोडौं रकम सहयोग उठाउनु कुनै चानचुने कुरा नभएको उनले स्पष्ट पारे। चीनले १९ दिनमा ६४ तले भवन निर्माण सम्पन्न गरेर देखाएको सन्दर्भ निकाल्दै आफुहरुलेपनि चीनको विकासबाट पाठ सिक्न आवश्यक रहेको सांसद मानन्धरको भनाई छ।

सरकारले ठेकेदारलाई जिम्मेवारी दिईसकेको कारण पनि अब पुनः निर्माण कार्य समयमै सम्पन्न हुनुपर्ने उनले बताए।त्यस्तै कार्यक्रममा बोल्दै डा. नारायणहरि गजुरेलले २०७२ सालको बिनासकारी भूकम्पको समयमा नेपालीहरु पीडामा रहेको बेला ध्रुब गजुरेलले शोकलाई शक्तिमा बदल्ने प्रणस्वरुप धरहरा निर्माणको अभियानमा लाग्नुले आज धरहरा निर्माण कार्य अघि बढेको स्पष्ट पारे।

नयाँ सम्बतको घोषणा र साहित्यको माध्ययमबाट धरहरा सम्बतलाई निरन्तरता दिइराख्न आवश्यक रहेको पनि उनले जानकारी गराए। साहस बोकेर सम्पदाको निर्माणमा लागेको भन्दै उनले बिहीबार सार्वजनिक गरिएको ‘धरहरा सम्बत भित्ते पात्रो’ ले ०७२ सालमा घटेका घट्नाहरुको बारेमा जानकारी दिन खोजेको स्पष्ट पारे।

त्यस्तै कार्यक्रममा बोल्दै धरहरा निर्माण कार्यमा लागेका रमन कन्ट्रक्सनका प्रोप्राईटर रमन महतोले निर्माणाधिन धरहराको कार्य प्रगति र आगामी ओजनाको बारेमा जानकारी गराएका छन्।

आफू सरकारको ‘मेरो धरहरा, म बनाउँछु’ भन्ने अभियानमा लागेको बताउदै उनले सरकारसंगको आधिकारिक सम्झौतापश्चात् धरहरा निर्माण कार्यको प्रगति रहेको विश्वास दिलाए।

प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुसंगको छलफल सम्पन्न भईसकेको र वरिपरिको सडकको बारेमा पनि छलफलकै माध्यमबाट समस्याको सामाधान निस्किसकेको उनले सुनाए । महतोले आगामी दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने आफुहरुको लक्ष्य रहेको र निर्धारित मितिमै लक्ष्य पूरा हुने विश्वास दिलाए।

करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको योजनाअनुरुप अबको दुई तीन महिनाभित्र हाल रहँदै आएको गौशारा हुलाकको कार्यालयपनि स्थानान्तरण भईसक्ने भएका कारण आफुहरुलाई थप मार्गप्रशस्त हुने उनको भनाई छ।

प्रस्तावित २२ तले भवनको फाउन्डेसनको कार्य सम्पन्न भईसकेको पनि उनले जानकारी गराए। अबको धरहरा जनसंख्याको बृद्धिलाई मध्येनजर गरेर निर्माण गरिने भएका कारणपनि यसमा अत्याधुनिक सुविधामा जोड दिइने उनको भनाई छ।

कुल तीन अर्ब ४५ करोडको लागतमा निर्माण हुने आयोजनालाई अबको दुई वर्षमा सम्पन्न गरिसक्ने आफ्नो लक्ष्य रहेको उनले जानकारी गराए । करिव दुई हजार वर्षसम्म टिक्न सक्ने उक्त टावरले ९ रेक्टर सम्मको भुकम्पको कम्पन सहन सक्ने उनको दाबी रहेको छ।

त्यस्तै कार्यक्रममा बोल्दै कालिकाशरण माबिका प्राध्यानाध्यापक गोपालप्रसाद गजुरेलले कृतिको माध्ययमले नेपालका सम्पदाको पुनः सिर्जनामा सबैको सहयोग पाएकोमा आफुलाई खुशि लागेको धारणा राखे।

देशले दुःख र पीडा बोकिरहेको समयमा यस्तो सोच र साहसको कदर सबै नेपालीमा रहे बिकासको कार्यमा नयाँ आयाम थपिने उनको भनाइ छ।  नेपालको इतिहास बोकेको धरहरा सबैको साझा सम्पत्ति रहेको बताउदै उनले पहिला ९ तले बन्ने भनेको धरहरा अहिले आएर २२ तले बनाउने अभियानमा पनि आफुहरुको ठूलो प्रयास रहेको उनको भनाई छ।

धरहरा सम्बतको अवसरमा निकालिएको क्यालेन्डरलाई सबै नेपालीसमक्ष पुर्याई सम्बतको बारेमा जानकारी गराउन पनि आवश्यक रहेको उनको भनाइ रहेको छ।

बैशाख १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्