अझै पुनः निर्माण भएन आदिकवि भानुभक्तको जन्मघर

फाइल तस्बिर

दमौली– आदिकवि भानुभक्त आचार्यको माटो र ढुङ्गाले बनेको २ सय वर्षभन्दा पुरानो घरको गारो चारैतिर भत्केर भग्नावशेष मात्र बाँकी छ।

नेपाली भाषाका धरोहर आचार्यको जन्मघर तनहुँको भानु नगरपालिका वडा नं ४ शिखरकटेरीस्थित भानुगृह पुनःनिर्माण नहुँदा बेवारिसे अवस्थामा पुगेको होे।

भानु गृह निर्माण गर्ने भनेर भाषणमा भनिए पनि निर्माणको काम सुरु हुन सकेको छैन। पश्चिमाञ्चल विकास मञ्चले भानुगृहको पुनःनिर्माणका लागि शिलान्याससमेत गरेको थियो।

वि.सं. २०७३  चैत २२ गते तत्कालीन मुख्य सचिव डा सोमलाल सुवेदी, पूर्वमुख्य सचिव लीलामणि पौडेल र मञ्चका तत्कालीन अध्यक्ष रामकाजी कोनेले ‘भानु शिखर कटेरी’ को शिलान्यास गरेका थिए।

भानृगृह करिब ६८ लाख रुपैयाँको लागतमा निर्माण हुने भनिए पनि निर्माण शुरु नभएको भानु जन्मस्थल विकास समितिका निवर्तमान कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए। उनले भने, ‘पुनःनिर्माणको शिलान्यास त भयो तर काम अगाडि बढेन।’

मञ्चसँग पटक पटक सम्पर्क गर्दा शिखर कटेरी ‘हामीले नै बनाउँछौँ’ भनेर जवाफ आउने गरेको रानाभाटले बताए। उनले भने, ‘तीन पटकसम्म त घरको नक्शा परिवर्तन भैसक्यो तर काम किन सुरु भएन बुझ्न सकेका छैनौँ।’

मञ्चका संस्थापक अध्यक्ष कोनेले खानेपानीको अभाव, बाटाको समस्या र समन्वय अभावका कारण भानुगृहको काम अगाडि बढ्न नसकेको बताए।

स्थानीय तहले खानेपानी, बाटो र सुरक्षाको राम्रो प्रबन्ध गराए भने भवन निर्माण तत्कालै सुरु गर्ने योजना रहेको उनले बताए। ‘शिखर कटेरीसम्म पुग्ने बाटो ग्राभेल मात्रै गर्न सकियो भने पनि काम गर्न सहज हुन्थ्यो’, उनले भने, ‘जङ्गलको बीचमा भएको कारण असुरक्षाको खतरासमेत उत्तिकै छ।’

उनका अनुसार अनुसार निर्माण व्यवसायीले सुरक्षाको कारण देखाउँदै काम गर्न मानिरहेका छैनन्। उनले भने, ‘जङ्गलै जङ्गलको बीचमा भएकोले सामग्रीहरु हराउने डरसमेत उत्तिकै रहेको छ। त्यहीमाथि भवनको समेत सुरक्षा हुन्न कि भन्ने लागेको छ।’

कोनेले स्थानीय तहले समेत राम्रो समन्वय नगरिदिएको गुनासो गरे। उनले बाटो र सुरक्षाको प्रबन्धका लागि स्थानीय तहलाई समेत पटक–पटक आग्रह गरिए पनि कुनै सम्बोधन नभएको बताए। नेपाली साहित्यका धरोहर आदिकविको योगदानलाई सरकारले समेत चिन्न नसकेको उनको गुनासो छ।

मञ्चका संस्थापक पूर्वमहासचिव तथा भानुघर निर्माणका लागि मञ्चका समन्वयकर्ता धर्मराज बराल भवन बनाउन पाँच–सात लाख जुटिसकेको जानकारी दिँदै चालु आवमा पनि काम नभएमा आगामी आवमा आफूले समन्वय गरेर भवन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँका उपाध्यक्ष सङ्गम सापकोटाले भानुको घर पुनःनिर्माण नहुनु साहित्य क्षेत्रलाई बेवास्ता गर्नुसरह भएको बताए। उनले भने, ‘भारतको दार्जिलिङमा भानुभक्तको ठूलो सम्मान छ तर आफ्नै देशभित्र उहाँको सम्मान हुन सकेन।’

बैशाख १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू