छोरा पर्खिएकी मञ्‍जुको ४ वर्ष

नओभाएको आँखा, नमरेको आश

अन्तिमपल्ट फोनमा बोल्दा छोरा सबिनले भनेका थिए, ‘टावर ढलेको छ ममी, मेरो मोबाइल बिग्रेको छ।’ आमा मञ्जुलाई मिति कन्ठै छ, २०७२ साल वैशाख ७। ठीक ५ दिन पछाडि भूकम्प आयो, त्यसको ३ दिनपछि नचिताएको खबर। ‘रसुवाको हिमपहिरोमा १० जना सेना हराएका छन्, सबिन खड्का पनि त्यही समूहमा परे।’

२०७२ साल वैशाख १२ गते ७ दशमलव ८ म्याग्निच्यूटको भूकम्पले ३२ जिल्ला हल्लायो। ८ लाख निजी घर भत्किए। सूर्यबिनायक नगरपालिका ४, दधिकोटका देवराज र मञ्जु खड्काको घर भत्कियो। सेनाहरु आएर घर पन्छाइदिए, आफ्नो छोरा पनि अन्त सहयोग गर्दै होलान् भनेर मञ्जुले ठानिन्। उनलाई सेनाको काम नौलो होइन। छोरा भन्दा अगाडि उनका श्रीमान् देवराजले पनि सेनाकै सेवा गरेका थिए।

तर,

खबर सुनेपछि बाबा अत्तालिए, आमा निशब्द। बक्के फुटोस् पनि कसरी, आफ्नै एउटैमात्र सहारा नरहेको कुरा स्वीकार्न सहज हुँदैन।

त्यसपछि सबै रित्तो। आँखा साउनको मूल जस्तो। चार वर्ष बित्यो, आँखा ओभाएकै छैनन्।

देवराज र मञ्जुको एकमात्र सन्तान हुन् सबिन। सबिनले पढाइपछाडि बाबाकै पेशा पच्छ्याएका थिए। भर्खरै सहसेनानि भएका सबिन रसुवामा ड्युटीमा खटिएका थिए। नयाँ ठाउँमा जिम्मेवारी सम्हाल्न शिवरात्रीमा उनी घरबाट निस्केका थिए। त्यसपछि उनी फिरेनन्।

सबिनलाई खोज्न धेरै पहल भयो। बाबा देवराज पाँचपल्ट रसुवा गए, आमा मञ्जुले पनि छोरा हराएको ठाउँ हेलिकप्टरबाट हेरिन्। हिउँपहिरो आएर गाउँ नै पुरेको ठाउँमा जान सक्ने त कुरा नै थिएन।

नेपाली सेनाले उनीहरुलाई धेरै सहयोग गर्‍यो। शिवराज गेलाल रसुवामा सिडियो थिए, सभासद् जनार्दन शर्मा अनि तत्कालीन त्यहाँको डिसपीले पनि सबिन खड्काको खोजीमा हरप्रयास गरे। तर नतिजा शून्य!

सबिन खड्का नभेटिएपछि उनले सेवा गरेबापत सेनाले दिने सहूलियत सेवाहरु सरकार अनि सेनाको तर्फबाट पाइसकेका छन्। समय बित्दै जाँदा सबिनको खोजी पनि सुस्ताएको छ।

चार वर्षपछि आमा मञ्‍जु

छालामा लागेको घाउ समय बित्दै जाँदा पुरिन्छन्, कुनैमा खाटा बस्छन्, कुनैमा बस्दैनन्। तर मनमा लागेको घाउ जति समय बित्छ, त्यति गहिरिएर जान्छ। मन्जुको मनमा यस्तै घाउ लागेको छ।

कहिलेकाहिँ जिन्दगी ओरालो लागेको मृगझैँ हुन्छ, जसलाई बाछाले पनि खेद्छ। मञ्जु आफूलाई दाँज्दै छिन्। उनलाई दुखमाथि दुख थपिँदै छ।

  • एउटमात्र सहारा चार वर्षदेखि बेखबर छ,
  • भुइँचालोले घर भत्कायो,
  • श्रीमानको केही समयपछि दुर्घटनामा पर्नु,
  • श्रीमानलाई मुटु, कलेजो अनि रक्तचापको समस्या देखा पर्नु
  • पीडा भुलाउन श्रीमानले लिएको मदिराको सहारा।

जीवन दुखान्त कथा जस्तै भइरहेको छ। उनले अर्को सन्तान जन्माइनन्, अब अरु कसैले सबिनको ठाउँ लिन पनि सक्दैन।

घर बनाउने सपना

मञ्जुले केही काम आँट्न लाग्यो कि सपनामा छोरा देख्छिन्, ‘मलाई हामी यहीँ घर बनाउनुपर्छ आमा, यहि ठाउँ राम्रो छ भन्छ।’ आँखाबाट बगेको आँसु पुछ्दै मञ्जुले भनिन्, ‘घर बनाउन आँटेको हो, तर बाटोले समस्या पारेको छ।’

देवराज र मञ्जुको घरसम्म मोटरबाटो पुगेको छैन। गाडी गुड्ने बाटोबाट १ सय ५० मिटर भित्र अलिकति उकालोमा छ उनको घर। ‘वडा कार्यालयमा निवेदन पनि दिएको हो तर काम भएको छैन,’ देवराज भन्छन्, ‘घरसम्म बाटो आए आफ्नै घरमा बस्न पाइन्थ्यो।’

उनीहरु अहिले भाडामा बसेका छन्। देवराज एक वर्ष अगाडि दुर्घटनामा परेका थिए, उनको गोडा बेला बेलामा सुन्निरहन्छ।

बलियो आत्मविश्वास

मञ्जुको आत्मविश्वास एक रति पनि डगमगाएको छैन। भगवान प्रतिको विश्वास पनि घटेको छैन। छोरा हराएपछिको दुई वर्ष अनन्तलिंगेश्वर महादेव स्थान र डोलेश्वर महादेवस्थानमा अखण्डदीप बालिन्।

छोरा हराएकै वर्ष मञ्जुले ज्योतिषलाई देखाउँदा ‘तिम्रो छोरा फर्कन ५ वर्ष लाग्छ, छोराको होस छैन’ भनेका थिए। उनले एक ठाउँमा मात्र हैन, धेरै ठाउँमा यस्तै उत्तर पाइन्।

गएको पुसमा देवराज छाउनी अस्पतालमा भर्ना भएका थिए, त्यही कुरुवा बसेकै एक महिलाको चिनजानका ज्योतिषले ‘संवत फेरिएपछि आउँछन्, हराएको ठाउँभन्दा पूर्वपट्टि छन्, होस् गुमेको छ कसैको सहारामा छन्’ भनेपछि उनको आत्मविश्वासले ढाडस पाएको छ।

हुन त समाजमा यस्ता धेरै कथाहरु छन्। केही वास्तविक, केही काल्पनिक। यसको उदाहरण द्वन्द्वकाल हो। जुनबेला ‘मरे’ भनेर सद्गद गरेका मान्छे फिरेका छन्। जो जिउँदो भएको विश्वास गरिएको छ, उनीहरु अहिलेसम्म फर्केका छैनन्।

मङ्सिरमा भएको किम्फ फिल्म फेस्टिबलमा विद्या चापागाइँ र कमल कुमारले बनाएको ‘मरिसकेको मान्छे’ ले उत्कृष्ट डकुमेन्ट्रीको अवार्ड जित्यो। यसमा वैदेशिक रोजगारीमा गएका दुई युवा दुर्घटनामा पर्छन्, एकको मृत्यु हुन्छ, अर्को कोमा पुग्छन्। लाश घरमा पठाउँदा गलत ठेगानामा पुग्छ। छोरा जिउँदो छ घर फर्कन्छ भन्ने आशा पालेर बसेकी आमाको आँखाले छोरा देख्न पाउँदैन। तर उता श्रीमानको सद्गद् गरेकी श्रीमतीलाई ६ महिनापछि ‘श्रीमान जिउँदो छ’ भन्ने खबर आउँछ।

यो खबर दुई पक्षलाई फरक फरक अनूभूति दिने खालको खबर हो। कहिँ मुटुको टुक्रा चुडिन्छ, कहिँ खुसीको बहार।

मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘जोखना’ पनि यसको उदाहरण हो। वियस राईले लेखेको कथा ‘जोखना’ लाई किरण चाम्लिङले निर्देशन गरेका हुन्। द्वन्द्वकालको घटनालाई पृष्ठभूमिमा राखिएको छ। हराएका श्रीमानलाई पर्खेर बसेकी महिलालाई समाजले श्रीमान् मरेको विश्वास कसरी दिलाउँछ, हाम्रा रिति परम्पराले कसरी भ्रम फैलाइरहेका छन् सावित हुन्छन्। कथामा अन्तत ज्योतिषले गरेको भविष्यवाणी झुट हुन्छ। जसको आश मारेर किरिया कर्म सकिन्छ, त्यो मान्छे फेरि फर्कन्छ।

 मञ्जुको लागि जोखनाको कथा आशा र निराशा दुवैको स्रोत हो। अहिलेसम्म ज्योतिषको बोलिमा विश्वास राखेकी मञ्जुले के प्राप्त गर्छिन् थाहा छैन।

ज्योतिषले भने अनुसार छोरा चीनतर्फ छ, उसको फोटो प्रचार गर्न पाए कसैले चिन्थे की खबर गर्थे कि मनमा आउँछ। ‘म सामाजिक सञ्जाल चलाउन जान्दिन।’ मञ्जु भन्छिन्, ‘फेसबुकमा फोटो हालेर सूचना दिन पाए केही खबर पत्ता लाग्थ्यो कि।’

हामी मानिस कथा सुन्दै हुर्कन्छौ, बिस्तारै हामी हाम्रो कथा अरुलाई सुनाउँछौ। यसका अनेक माध्यम छन्। चलचित्र, डकुमेन्ट्री कहिले प्रेरणाका स्रोत हुन्छन् त कहिलेकाँही हामी आफै त्यही कथाको पात्र हुन्छौ।

मञ्जुले चलचित्र हेर्छिन्, हेर्दिनन् थाहा छैन तर उनको आत्मविश्वासको कथा भने तत्काललाई सन् १९२८ अमेरिकी नागरिक क्रिस्टिन कोलिन्सको संघर्षसँग मिलेको छ। उनको छोरा ‘वाल्टर कोलिन्स’ घरबाट हराउछन्। त्यही छोरालाई खोज्न लागि परेकी कोलिन्सको सहयोगमा बालबालिकालाई अपहरण गर्ने गिरोह पत्ता लाग्छ। उनको जीवनमा आधरित चलचित्र ‘च्यालेञ्जिङ’ सन् २००८ मा बनेको थियो।

यो चलचित्रको अन्त्यमा क्रिस्टिनको छोरासँगै हराएका एक बालक फेला पर्छन्, उनले कोलिन्सलाई भेटेका पनि हुन्छन्। यो घटनापछि क्रिस्टिनको एक अधिकृतसँग संवाद छ,

‘छोराको खोजी गर्दा अहिलेसम्म नभेटिएको चिज अहिले मैले पाए।’

‘त्यो के हो?’

‘होप’

बैशाख १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्